 
																			२१ साउन, पोखरा । फिर्केखोला संरक्षणका लागि सीमांकन थालेको पोखरा महानगरले हालसम्मको सीमांकनमा ४५ भन्दा बढीले खोला मिचेर पक्की संरचना बनाएको जनाएको छ । महानगरले साउन ३ गतेदेखि अमिन बासुदेव पौडेलको नेतृत्वमा अतिक्रमणको चर्को चपेटामा परेको खोज्न सुरु गरेको थियो ।
पोखराको मध्यभाग भएर बग्ने फिर्केखोला ८ किलोमिटर लामो छ । जानकारहरुका अनुसार केही वर्षअगाडिसम्म ४० मिटरसम्म फैलिएको फिर्केखोला अतिक्रमणको चपेटामा पर्दा साँघुरिएको मात्रै छैन, कतै अस्तित्व नै देखिँदैन । केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै लायन्स क्लब र एउटा धार्मिक समितिले व्यापारिक भवन बनाएका छन् ।
अमिन पौडेलले हालसम्म करिब ७ किलोमिटर दूरी सीमांकन सकिएको जानकारी दिए । ‘अब एक–डेढ किलोमिटर दूरीमात्रै बाँकी होला । यो अवधिमा ४५ भन्दा बढीले खोलाकै आकार मिचेर पक्की घरसंरचना बनाइएको पाइयो,’ उनले भने, ‘अब बाँकी २–३ दिनमा सकिन्छ । त्यसपछि सबै थाहा हुन्छ ।’
खोला मिचेर संरचना बनाउनेमा विभिन्न ५ वटा समाजघरसमेत छन् । निरन्तर पानी परिरहेको र खोलाको आकार पनि बढेकाले सीमांकनमा ढिलाइ भइरहेको पौडेलको भनाइ छ । उनका अनुसार हालसम्म ४ सय वटा सीमाना पिल्लर गाडिएको छ ।
‘स्थानीयहरुबाट त्यस्तो अवरोध छैन । सहयोग नै पाइरहेका छौं । पहिलेपहिले पनि यसरी धेरै पटक नापेको तर, कामै नभएको भन्नुभएको छ,’ पौडेलले भने, ‘साँच्चै खोला बचाउने गरी काम गर्ने हो भने हामी सहयोग गर्न तयार छौैं भन्नुभएको छ ।’
फिर्केखोलाको अन्तिमबिन्दू गाईघाट (फेवाताल, ड्यामसाइड) देखि खोलाको वास्तविक बाटो खोज्न थालिएको थियो । खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ । उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन ।
फिर्केको वास्तविक आकार पत्ता लागिसकेपछि मापदण्ड तोकिने र असोजपछि मात्रै संरचना हटाउन सुरु गरिने मेयर आचार्यले बताएका छन् । ‘मापदण्ड लागू गर्नुभन्दा पहिले ३ महिनाको समय दिन्छौं । कतिपय ठुल्ठूला संरचना पनि बनेका छन्, तिनीहरुलाई हटाउन समय दिन्छौं,’ मेयर आचार्यले भने, ‘त्ययसपछि मापदण्डभित्र बनेका सरकारी, व्यक्तिगत सबै प्रकारका संरचना हटाउँछौं ।’
पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वमा ०७५ पुस ६ गते बसेको कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमै नआई हालको कार्यपालिकाले मापदण्ड ५ मिटर बनाउने तयारी गरेको छ ।
‘फिर्केको साविकको मापदण्ड १० मिटर छ । त्यसमा केही पुनर्विचार गर्नुपर्छ भन्नेखालका कुराहरु पनि आएका छन्,’ फिर्केखोला सीमांकन उद्घाटन गर्दै मेयर आचार्यले भनेका छन्, ‘त्यसमा अहिले विज्ञहरुको टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको अवस्था छ ।’
फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ । एसियाली विकास बैंकको पोखरामा ‘सस्टेनेबल टुरिजम्’का लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरको भनाइ छ ।
हाल फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत खोलामा मिसाउँदै आएका छन् । खोलामा फालिएको ढल तथा मलमूत्र सीधै फेवातालमा गएर सिसिँदा दुर्घन्धित बनेको छ । जिल्ला कारागार कार्यालय कास्कीलगायतका सरकारी, निजी तथा दर्जनौं व्यक्तिगत घरधनी फिर्केमा सीधै सेफ्टी ट्यांकीको ढल मिसाएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4