लोनमा ब्राइटन जाने भए अन्सु फाती
१४ भदौ, काठमाडौं । बार्सिलोनाका फवार्ड अन्सु फाती लोनमा इंग्लिस क्लब ब्राइटन जाने भएका छन् ।
२०१९/२०२० को सिजनमा सिनियर टिममा डेब्यू गरेका फातीले बार्सिलोनामा शानदार सुरुवात गरेका थिए । लिओनल मेस्सीले क्लब छाडेपछि फातीलाई १० नम्बरको जर्सी दिइएको थियो ।
पछिल्लो समय कम अवसर पाउन थालेपछि उनका बुबाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । यदि खेल्ने समय कम पाउने हो भने क्लब छाड्नुपर्ने उनको तर्क थियो ।
तर फातीले बार्सिलोनामै बस्न चाहे । बार्सिलोनाले पनि २०२० मै फातीका लागि आएको १५० मिलियन डलरको अफर अस्वीकार गरेको थियो । गत वर्ष फातीले २०२७ जुनसम्मका लागि नयाँ सम्झौता गरे र उनको रिलिज क्लज १ बिलियन डलर पुर्याइयो । तर अहिले अवस्था फेरिएको छ ।
बार्सिलोनामा उनले खेल्ने अवसर कम पाएका छन् । यो सिजनको तीनवटै खेलमा उनी प्लेइङ ११ मा परेनन् । सबै खेलमा सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका उनले जम्मा ४७ मिनेट खेल्न पाए ।
राफिन्हा निलम्बनमा रहेको दुई खेलमा पनि बार्सिलोनाका प्रशिक्षक जाभीले फातीलाई प्लेइङ ११ मा राखेनन् । उनको सट्टा १६ वर्षका लमिन यमाललाई खेलाएका छन् ।
त्यही कारण उनी बार्सिलोना छाडेर इंग्लिस क्लब ब्राइटन जाने भएका हुन् ।
लिभरपुल, टोटनह्याम लगायतका क्लबले पनि उनलाई भित्र्याउन चाहेको थियो । तर टिममा महत्वपूर्ण भूमिका पाउने आशमा उनले ब्राइटन रोजेका हुन् । उनले २०२४ को जुनसम्म ब्राइटनका लागि खेल्नेछन् । तर ब्राइटनले उनलाई किन्न पाउने छैन र फाती जुन २०२४ मा बार्सिलोना फर्किनुपर्नेछ ।
प्रतिक्रिया 4