 
																			२८ भदौ, काठमाडौं । एक सातायता इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या ह्वात्तै बढ्दै गएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा देशभरबाट संकलन भएका १४० वटा नमुना परीक्षण हुँदा ३५ जनालाई इन्फ्लुएन्जाको संक्रमण पुष्टि भएको छ ।
इन्फ्लुएन्जाको संक्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिन्छन् ।
‘पछिल्लो हप्तादेखि इन्फ्लुएन्जाका बिरामीको संख्या ह्वातै बढेको देखिन्छ । परीक्षण गरेकामध्ये ७ प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा पुष्टि हुन थालेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामीको बढ्दो छ’, प्रयोगशालाका इन्फ्लुएन्जा विभागका लोकबन्धु चौधरीले भने ।
मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको संक्रमण हो । इन्फ्लुएन्जालाई बोलिचालीको भाषामा ‘फ्लु’ भनेर बुझिन्छ । हुनत यो समयमा मौसमी ‘फ्लु’ देखिनु सामान्य हो । सामान्यतः नेपालमा मार्च (फागुन–चैत) र अगस्ट (साउन–भदौ) मा ‘फ्लु’ संक्रमण बढी देखिने गरेको छ ।
चिकित्सकका अनुसार यस समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक रुघाखोकीका बिरामी उपचारका लागि आउने क्रम बढ्दो छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको छ । दैनिक ४०/४५ जना बिरामी बहिरंग सेवामा जाँच गराउन आउनेमा २० जनामा रुघाखोकीको समस्या देखिन्छ । त्यसमध्ये अधिंकाशमा इन्फ्लूएन्जा पुष्टि हुने गरेको छ ।
फ्लु निकै संक्रामक हुने र लक्षण देखिएका सबै व्यक्ति परीक्षणका लागि नआउने भएकाले संक्रमितको संख्या अस्पतालमा देखिएको भन्दा धेरै हुनसक्ने डा. पुन बताउँछन् । यो समय मौसमी बिरामी देखिनु सामान्य भए पनि संख्या धेरै हुनु असामान्य भएको उनको भनाइ छ ।
इन्फ्लुएन्जा ‘ए’ बढी घातक
भाइरसको एउटा प्रकारलाई ‘इन्फ्लुएन्जा’ भनिन्छ । मौसम परिवर्तनमा हुने समयमा लाग्ने रुघाखोकी नै ‘इन्फ्लुएन्जा’ अर्थात मौसमी फ्लु हो । चिकित्सकका अनुसार इन्फ्लुएन्जा ए बी, सी र डी गरी चार प्रकारका हुन्छन् ।
नेपालमा भने इन्फ्लुएन्जाका विभिन्न प्रकारमध्ये ए र बी बढी देखिने गरेको डा. पुनले जिकिर गर्छन् । उनका अनुसार अनुसार इन्फ्लुएन्जा ए, बीको तुलनामा बढी संक्रामक र स्वास्थ्यमा जटिलता ल्याउने हुन्छ ।
अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. विमल शर्मा चालिसे पनि इन्फ्लूएन्जाका बिरामी भर्ना हुने क्रम बढिरहेको बताउँछन् ।

‘ओपीडीमा आउने रुघाखोकीका बिरामी बढेसँगै इन्फ्लुएन्जाका बिरामी पनि भर्ना भएका छन् । कोरोनाको समयमा इन्फ्लुएन्जाका बिरामी देखिएका थिएनन् । तर, पछिल्ला हप्तादेखि इन्फ्लुएन्जाका बिरामी बढिरहेका छन्’, डा. चालिसेले भने ।
इन्फ्लुएन्जा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । ‘यो निकै संक्रामक हुन्छ । संक्रमित मानिसको श्वासप्रश्वासबाट सहजै फैलिन्छ । बिरामी नजिक जानु नै पहिलो जोखिम हो’, डा. चालिसे भन्छन्, ‘परिवारको एक सदस्यबाट अरुमा, स्कुल र होस्टलका विद्यार्थीमा एकअर्कोमा सर्ने जोखिम अत्यधिक हुन्छ ।’
लक्षण के हुन्छ ?
फ्लुका कारण अचानक ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, नाकबाट पानी बग्ने, हाच्छ्यिुँ आउने, शरीर दुख्ने जस्ता लक्षण देखिन्छन् ।
त्यस्तै आँखाको नानी, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी बस्ने, श्वासप्रश्वासमा समस्या देखिने, बालबालिकामा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ । फ्लू संक्रमण हुँदा सुरुमा रुघा लाग्ने तथा भाइरसको संक्रमण कडा बन्दै जाँदा श्वासप्रश्वासमा समस्या निम्तिएर मानिसको मृत्यु पनि हुन्छ । फ्लूका लक्षण सामान्यतया ७ दिनसम्म रहने र बिस्तारै हराउँदै जाने विज्ञहरु बताउँछन् ।
ज्येष्ठ नागरिक र दीर्घ रोगी बढी जोखिममा
मौसमी फ्लुले रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसलाई बढी असर गर्ने गर्छ । डा. पुनका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका, नियमित औषधि सेवन गर्ने मधुमेह, उच्च रक्तचाप वा मुटुका बिरामीलाई फ्लुको बढी असर गर्ने हुन्छ ।
चिकित्सकका अनुसार यसको सबैभन्दा बढी असर दीर्घरोगी र ज्येष्ठ नागरिकमा भएपनि हिजोआज युवा र बालबालिकामा रुघाखोकी लामो समयसम्म रहने र छाती निरन्तर घ्यारघ्यार हुने नयाँ समस्या देखिएको छ ।
‘ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा फ्लू हुँदा निमोनिया देखिने सम्भावना बढी हुन्छ । यसले उनीहरुको स्वास्थ्यमा झन् जटिलता ल्याउँछ । अहिले अस्पताल भर्ना हुनेमा धेरैजसो दीर्घरोगी छन् । त्यसैले यो समूह बढी सतर्क र सुरक्षित रहनुपर्छ’, डा. चालिसे भन्छन् ।
फ्लु लागेका मानिसहरूलाई अन्य लक्षणहरू ठीक भए पनि खोकी भने लामो समयसम्म रहिरहन सक्ने चिकित्सकहरु बताउँछन् ।
फ्लुको संक्रमण निको पार्ने विशेष औषधि छैन । फ्लु संक्रमित व्यक्तिमा संक्रमण कडा भएको अवस्थामा ‘ओसेलटेमिभिर’ नामक औषधि चलाइने डा. पुन बताउँछन् ।
अस्पताल कति बेला जाने ?
ज्वरो आएको केही दिनसम्म निको नभए वा रुघाखोकीसँगै वान्ता, झाडापखाला, खाना नरुच्ने, सास फेर्न गाह्रो हुने लक्षण देखिए तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ ।
समयमा नै उपचार नगरे इन्फ्लुएन्जाको संक्रमणका कारण निमोनिया भई बिरामीको ज्यानसमेत जानसक्ने डा. पुन बताउँछन् ।
रुघाखोकी लामो समयसम्म रहेमा स्वास्थ्य परीक्षण नगराई घरमा नबस्न उनको सुझाव छ । ‘भाइरस संक्रमण शरीरमा फैलिएर ज्यानै जाने सम्भावना हुन्छ । रुघाखोकी त हो नि भनेर हेलचेक्र्याइँ गर्ने प्रवृत्ति बढ्दो छ’, डा. पुन भन्छन्, ‘ढिलो अस्पताल आइपुग्दा कतिपय बिरामीलाई बचाउन सकिँदैन ।’

चिकित्सकका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा हराएर जाने भए पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा रुघाखोकीले पनि निमोनियाको रुप लिन सक्छ । यस्ता बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।
बर्सेनि यस्तै मौसमी रुघाखोकी तथा फ्लुले दीर्घरोगी, दम, मधुमेह, क्यान्सर र मिर्गौलाका बिरामी, गर्भवती तथा बालबालिकाको स्वास्थ्य जोखिममा परिरहेको विज्ञहरु बताउँछन् ।
‘एक सातापछि पनि रुघाखोकी ज्वरो, वान्ता हुनेजस्ता लक्षण निको नभए तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । नत्र निमोनिया हुने सम्भावना बढ्दै जान्छ । समयमै उपचार नपाउँदा बिरामीमा हुने जटिलता पनि बढ्छ’, डा. चालिसे थप्छन् ।
मौसमी रुघाखोकी लामो समयसम्म रहँदा पनि अस्पताल नगए निमोनिया हुन सक्ने त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बम बताउँछन् । ‘निमोनिया लगायतका कारण शरीरमा जटिलता देखिएर मल्टी अर्गान फेलर (धेरै अंगले एकै पटक काम नगर्ने) भएर मानिसको मृत्यु समेत हुनसक्छ’ उनी भन्छन् ।
रुघाखोकी लाग्दा झोलिलो खानेकुरा खाने र केही दिन घरमै आराम गरे ठीक हुन सक्छ । ‘घरमै आराम गर्ने र गेडागुडी र झोल पदार्थ सेवन गरेमा संक्रमणको असर बिस्तारै कम हुँदै जान्छ’, डा. पुन भन्छन् ।
कसरी जोगिने ?
मास्क लगाएर हिँड्न र भाइरल संक्रमणबाट बच्न वर्षमा एक पटक इन्फ्लुएन्जा विरुद्धको खोप लगाउन चिकित्सक सुझाव दिन्छन् । गर्भवती, दम, क्यान्सरको समस्या भएका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घरोगको समस्या भएका व्यक्तिलाई खोपले फाइदा पुर्याउँछ ।
विभिन्न किसिमका भाइरल संक्रमणबाट जोगिन इन्फ्लुएन्जाविरुद्ध खोप लगाउन उचित हुने चिकित्सकको भनाइ छ ।
इन्फ्लुएन्जा विरुद्धको खोप मुटु र श्वासप्रश्वासको समस्या भएका बालबालिकालाई अनिवार्य दिइन्छ । त्यसबाहेक अन्यलाई पनि इन्फ्लुएन्जा हुँदा रुघाखोकी र निमोनिया हुने सम्भावना रहेकाले उक्त खोप लगाउन विज्ञ सुझाव दिन्छन् ।
‘उनीहरुसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । अस्पताल, क्लिनिक र फार्मेसीमा पनि सहजै उपलब्ध हुने भएकाले ६ महिनामाथिका जोसुकैले खोप लगाउनु उचित हुन्छ,’ डा. पुन भन्छन्, ‘वर्षमा एकपटक इन्फ्लुएञ्जा विरुद्धको खोप लगाउँदा मौसमी रुघाखोकीबाट जोगिन र यदि लागिहाल्यो भने पनि धेरै जटिल असरलाई न्यूनीकरण गर्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4