 
																			१२ असोज, काठमाडौं । अभिनेता अनमोल केसीले पक्राउ पर्नु दुई दिनअघि नै अदालतबाट निषेधाज्ञाको आदेश लिएको खुलेको छ ।
उच्च अदालत, पाटनले बुधबार ‘देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भएको’ भन्दै पक्राउ नगर्न आदेश दिएको खुलेको हो ।
उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलको इजलासले गरेको आदेशमा भनिएको छ, ‘…प्रचलित कानून बमोजिम फौजदारी कसूरमा अनुसन्धान गर्दा बाधा नपर्ने गरी देवानी दायित्वका विषयमा यी निवेदकलाई प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’
निवेदनमा जिल्ला प्रहरी परिसर, टेकुलाई विपक्षी बनाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले अभिनेता केसीलाई शुक्रबार अपराह्न साँगाबाट पक्राउ गरेको थियो ।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।
निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।
यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए । ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि उहाँ आउनुभएन’, एसएसपी राठौरले अनलाइनखबरसँग भने, ‘त्यसपछि पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिएका हौं ।’
केसीले फिल्म नखेल्ने भनेर लगानी धरापमा परेपछि दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको राठौरले बताए ।
प्रहरी भन्छ : फौजदारी कसुर हो, आइतबार अदालत उपस्थित गराउँछौं
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले भने अदालतले देवानी प्रकृतिको कसुरमा मात्र पक्राउ नगर्न भनेको भन्दै अनमोलविरुद्ध आइतबार अनुसन्धानका लागि म्याद लिइने बताए ।
‘अदालतले देवानी प्रकृतिको मुद्दा मात्र पक्राउ नगर्न भनेको हो, आपराधिक विश्वासघातमा परेको जाहेरीका आधारमा समातेका हौं, यो फौजदारी मुद्दा हो’, रेग्मीले भने, ‘त्यसैले यसमा पक्राउ गर्न प्रहरीलाई समस्या छैन, आइतबार अदालत हाजिर गराउँछौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4