 
																			१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रचण्ड सरकारबाट पार्टीका मन्त्रीहरु फिर्ता बोलाउने प्रस्ताव अघि सारेका छन् ।
दुई–अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिने र बाँकी दुई–अढाई वर्ष कांग्रेसले एक्लै सरकार चलाउने उनको प्रस्ताव छ ।
सत्तारुढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । त्यसअनुसार अहिले प्रचण्ड सरकारमा सबै दल सहभागी छन्, त्यसपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्नेछ ।
यसरी सरकार चलाउँदा सरकारको गुण र दोषको कसैले पनि जिम्मा नलिने अवस्था आएको भन्दै कांग्रेस महामन्त्री थापाले गठबन्धन गर्ने, तर एक्लाएक्लै सरकार चलाउने प्रस्ताव अघि सारेका हुन् ।
कांग्रेस रुपान्तरण अभियानले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले समाजवादी मोर्चालाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरे । गठबन्धनको राजनीतिबारे नयाँ ढंगले छलफल गर्नुपर्ने भन्दै उनले भने, ‘कांग्रेसको सबै मन्त्री फिर्ता बोलाऊँ । दुई अढाई वर्ष मोर्चालाई चलाउन दिऊ ।’
यो अवधिमा प्रचण्ड मात्र प्रधानमन्त्री हुने कि माधव नेपाललाई पनि बनाउने समाजवादी मोर्चाले नै निर्णय गर्ने भन्दै उनले भने, ‘हामी फ्लोरबाट समर्थन गर्ने, तलमाथि नगर्ने । जहाँ असहमति जनाउनुपर्ने हो, जनाउने, जहाँ सहमति जनाउनुपर्ने हो, सहमति जनाउने । उहाँहरुले (सरकार) चलाउनु हुन्छ ।’
महामन्त्री थापाले ‘त्यसपछिको दुई–अढाई वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ । कांग्रेसले एक्लै चलाउँछ, जस भए पनि कांग्रेसले लिन्छ, अपजस भए पनि कांग्रेसले लिन्छ ।’
यसरी सरकार नचलाउने हो भने ०८४ को चुनावमा पुग्दा पछिल्लो ४/५ वर्षमा भएका काम कारबाहीको कुनै पनि दलले जिम्मेवारी नलिने अवस्था आउने उनले बताए ।
‘यो दुई वर्ष हामीले केही भएन भन्ने भयौं, त्यसपछिको दुई वर्ष उनीहरुले केही भएन भन्ने भए’, कांग्रेस महामन्त्री थापाले भने, ‘त्यसो भए यो चार/पाँच वर्षको देशको जिम्मा चाहिँ कसले लिन्छ त ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4