+
+

पर्यटन बोर्डले भूगोलसम्बन्धी सम्मेलन गरेकोमा कर्मचारी संगठनको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १७:३३

२९ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धनको काम अलपत्र पारी सीईओ धनञ्जय रेग्मीले भूगोलविद् तथा वैज्ञानिकहरुको सम्मेलन आयोजना गरेकोप्रति बोर्डका कर्मचारीहरुले गम्भीर आपत्ति जनाएका छन् ।

सोमबार नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै सीईओको व्यक्तिगत स्वार्थको सम्मेलन आयोजना गर्न बोर्डको बजेटसमेत दुरुपयोग गर्ने कामको भत्र्सना गरेको हो ।

बोर्डका सीईओ रेग्मीले ६० लाख सरकारी बजेट रकम पनि खर्च गर्ने गरी पोखरामा गत १९–२१ असोजमा आफ्नो निजी कम्पनीको भूगोलसम्बन्धी सम्मेलन आयोजना गरेका थिए । पर्यटन बोर्डलाई ‘होस्ट’ बनाएर उनले बोर्डको स्रोत तथा साधनको दुरुपयोगसमेत गरी भूगोलसम्बन्धी सेकेन्ड इन्टरनेसनल सस्टेनेबल माउन्टेन डेभलपमेन्ट कन्फरेन्स आयोजना गरेका हुन् ।

‘पर्यटन क्षेत्रको प्रवर्द्धन र नेपालको पर्यटनको बजारीकरणको विशेष महत्व बोकेका कार्यक्रममा नेपालको सहभागिता सुनिश्चित गर्नुको साटो पर्यटन व्यवसायीको सहभागिता नै हुन नसक्ने, नेपाल भ्रमणको प्याकेज सोकेसिङको अवसर नै नदिएको भुगोलविद् तथा वैज्ञानिक सम्मेलन आयोजनामा जोड दिने बोर्ड व्यवस्थापन नेतृत्वको कार्य भर्त्सनालायक छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिले पर्यटन प्रवर्द्धनको कार्यक्रम सञ्चालनलाई आवश्यक कार्यविधि र निर्णय गर्न भनेको भए पनि बोर्डको व्यवस्थापनबाट भूगोलविद्को सम्मेलन आयोजना गर्ने कार्यविधि मात्रै पटकपटक स्वीकृतिका लागि पेश भएको कर्मचारी संगठनले बताएको छ । बोर्डको स्रोतसमेत दुरुपयोग गरेर उद्देश्यबाट विमुख गरी आफ्नो स्वार्थपूर्ति गर्ने काममा लाग्ने, लाग्न अभिप्रेरित गर्नेहरुका विरुद्ध उभिने प्रतिबद्धता समेत कर्मचारी संगठनले गरेको छ ।

यस वर्ष बोर्डको असक्षमताका कारण वल्र्ड ट्राभल मार्टमा नेपालको सहभागिता हुन नसकेको भन्दै विगत ४० वर्षदेखिको उपस्थिति यस वर्ष टुट्नु दुःखद् रहेको समेत कर्मचारीको भनाई छ । विगतमा कम कर्मचारी हुँदा र अफ्ठ्यारो परिस्थितिमा समेत यस्ता अवसर नमुगेको भन्दै कर्मचारीले बोर्डको यस्तो कदमबारे उच्च सरकारी नेतृत्वले समेत सुनुवाइ गर्न नसकेको भन्दै दुःख व्यक्त गरेको छ ।

सीईओ रेग्मीले बाहिर देखाउँदा विश्वविद्यालय र संस्थाहरुलाई आयोजकका रुपमा राखेर सो सम्मेलनको खास आयोजक उनको निजी कम्पनी हिमालयन रिसर्च एक्सपिडिसन रहेको थियो । सो सम्मेलनको आयोजक समितिमा डा. रेग्मी बोर्डको सीईओको रुपमा होइन, हिमालयन रिसर्च एक्सपिडिसनका प्रतिनिधिका रुपमा आफ्नो नाम राखेका थिए ।

यो सम्मेलनमा पर्यटनसँग होइन, भूगोलसँग सम्बन्धित प्राध्यापक तथा अनुसन्धानकर्ताहरु सहभागी भएका थिए । सम्मेलनमा पर्यटनसँग सम्बन्धित एक/दुई बाहेक कुनै पनि गतिविधि भएनन् । सम्मेलनमा जिओडाइभर्सिटी एन्ड कनेक्टिभिटी इन माउन्टेन रिभर्स, वाटर रिसोर्सेस एन्ड माउन्टेन सस्टेनेबिलिटी, हाइड्रोलोजी एन्ड वाटर रिसोर्सेस म्यानेजमेन्ट, प्रोमोटिङ सस्टेनेबल माउन्टेन डेभलपमेन्ट एमिड्स्ट क्लाइमेट चेन्ज एन्ड हाइड्रोलोजिकल च्यालेञ्जेज, माउन्टेट हाजार्ड रिस्क एन्ड एडप्टेसन्सलगायतका सेसनहरू राखिएका थिए ।

सीईओ रेग्मीले यसअघि पनि बोर्डकै खर्चमा गत वर्षको डिसेम्बरमा चन्द्रागिरि हिल्समा फर्स्ट इन्टरनेसनल सस्टेनेबल माउन्टेन डेभलपमेन्ट कन्फरेन्स गरेका थिए । असम्बन्धित विषयमा बोर्डले सम्मेलन आयोजना गरेको भन्दै १० महिनासम्म त्यही कार्यक्रमको २० लाख रकम भुक्तानी हुन सकेको छैन । तर, यसपटक भने रेग्मीले सम्मेलन आयोजना गर्नका लागि ६० लाख रुपैयाँ बजेट नै पारित गराएका छन् । तर, त्यो बजेट खर्च गर्न कार्यविधि पारित हुनुपर्नेमा त्यो पारित नै नगराई सम्मेलन आयोजना भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?