१ मंसिर, काठमाडौं । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएई विरुद्ध बिहीबार राति पराजित हुँदा दुई हाफमा दुई फरक खेल खेल्यो ।
दुबईको अल माक्तोन स्टेडियममा भएको खेलमा नेपाल विश्वकप खेलिसकेको टिम यूएईसँग ४-० ले पराजित भयो । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको समूह चरणमा पुगेको नेपालको यो पहिलो खेल हो ।
यो हारलाई धेरैले लज्जास्पद पनि भनेका छन् । तर नेपाली फुटबल अहिले जुन अवस्थामा छ त्यो हेर्दा भने नेपाली टिमको प्रदर्शनलाई सन्तोषजनक मान्नुपर्छ भन्नेहरु पनि छन् । फिफा वरियतामा नेपाल भन्दा युएई एक सय चार स्थान माथि छ । युएई ६९औं र नेपाल १७३औं स्थानमा छन् ।
राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक तथा पुरुष राष्ट्रिय टिमका पूर्व मिडफिल्डर अनन्त थापा यूएईसँग नेपालको खेल दुई हाफमा फरक फरक भएको बताउँछन् ।
सन् १९९० मै विश्वकप खेलेको यूएई विरुद्ध नेपालले पहिलो हाफमै चार गोल खाएको थियो ।
‘पहिलो हाफमै चार गोल खानु दुर्भाग्य नै भयो, यूएई उच्च स्तरको टिम नै हो । तर हाम्रो खेलाडीहरु पहिलो हाफमा सम्हालिन सकेनन्,’ थापाले अनलाइखबरसँग भने, ‘दोस्रो हाफमा नेपालले फाइटिङ स्पिरिट देखायो र सम्हालियो । जसले गर्दा थप गोल भएन । नत्र पहिलो हाफ जस्तै भएको भए ८ गोल पनि हुन सक्थो कि के थाहा ।’
यूएईसँगको खेलपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बलियो टिमसँग खेल्नुअघि धेरै तयारी र मैत्रीपूर्ण खेलहरु आवश्यक पर्ने बताए । उनले भने, ‘यूएई जस्तो बलियो टिमसँग खेल्नुअघि धेरै रम्रो तयारी चाहिन्छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु हुनु पर्छ ।’
शारीरिक रुपमा पनि नेपाल पछि परेको एनेसले बताए ।
खेलको नतिजा जस्तो आए पनि नेपाली फुटबलको वर्तमान अवस्थाबाट भने अनन्त थापा सन्तुष्ट देखिएनन् । उनले आफ्नो पालामा पनि नेपाल ठूलो टिमसँग यस्तै ४-५ गोल खाने गरेको र अहिले पनि उस्तै अवस्था रहेको बताए ।
‘मुख्य कुरा के हो भने नेपाली फुटबलमा के सुधार भयो भन्ने प्रश्न हो । भारतले हिजै विश्वकप छनोटमा कुवेतलाई हरायो । उनीहरुले सुधार गरिरहेका छन् । आईएसएल हुँदा त्यसले सहयोग भइरहेको छ’, थापाले भने, ‘तर हाम्रो चाहीँ राम्रो खेल्यो, जुझारु प्रदर्शन गर्यो भन्ने बस्ने बाहेक अरु केही भएन ।’ यसले गर्दा नेपाली फुटबलको स्तर उस्तै रहेको थापाले बताए ।

अहिलेको नेपाली टिममा नयाँ खेलाडीहरु धेरै छन् । खेलाडीहरु आउने जाने भइरहेका छन् । यूएई विरुद्ध नेपालका लागि तीन नयाँ खेलाडीले डेब्यू गरे ।
यूएई विरुद्धको खेलअघि २३ सदस्यीय नेपाली टोलीमा डेब्यू गर्न बाँकी ८ खेलाडी थिए । जसमा तीन नयाँ अनुहार समेत थिए ।
नयाँ तीनमध्ये डिफेण्डरत्रय छिरिङ लामा, योगेश गुरुङ तथा अन्जन राईले डेब्यू गरे । छिरिङले पहिलो रोजाईँमा खेल्दा योगेश र अन्जनले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यू गरेका थिए ।
अहिलेको राष्ट्रिय टिममा कप्तान किरणकुमार लिम्बु, डिफेण्डर रोहित चन्द र फरवार्ड अन्जन विष्ट मात्रै अनुभवी खेलाडीको रुपमा छन् । अन्य खेलाडीसँग लामो समय खेलेको अनुभव छैन ।
अझ कतिपय खेलाडी त ए डिभजन लिगमा समेत धेरै नखेलेका छन् । जसले गर्दा मैदानमा खेलाडीमा अनुभवको कमी समेत देखिएको प्रशिक्षक थापा बताउँछन् ।
‘तीन खेलाडीले डेब्यु गरे । अहिले धेरैलाई राष्ट्रिय टिममा को को खेलाडी छन् पनि थाहा छैन । कतिपयले एक सिजन पूरा लिग समेत खेल्न पाएका छैनन् । जसले गर्दा बलियो राष्ट्रिय टिम नै बन्न सकेन’, थापा भन्छन् ।
उनले ५-७ वर्ष खेलेका खेलाडी भएमा राष्ट्रिय टिम बलियो बन्ने बताए । ‘राष्ट्रिय टिममै खेलाडीहरु आउने जाने भइरहेछ । राष्ट्रिय टिममा ५-७ वर्ष खेले पो टिम राम्रो हुन्छ । कन्सिस्टेन्सी नै भएन । जसले गर्दा ठूलो खतरा भइरहेको छ । यो किसिमले फुटबल माथि जान गाह्रो छ ।’
एक्सपेरिमेन्टको बाध्यता
पछिल्लो समय खेलाडीहरु विदेश पलायन हुने क्रम जारी हुँदा अहिले राष्ट्रिय टिममा नयाँ खेलाडी आउने क्रम बढिरहेको छ । जसले गर्दा पनि धेरैलाई खेलाडी चिन्नमै समस्या छ ।
त्यसैले पनि धेरै खेलाडीलाई डेब्यू गराउनु परेको थापा बताउँछन् । ‘अहिले ११ जना को खेलाउने भनेर नै ढुक्क हुने स्थिति छैन । कोचलाई पनि स्क्वाड बनाउन गाह्रो नै होला’, थापाले भने, ‘मैले भन्दै आएको छु कि हाम्रो सोलिड स्क्वाड भएन ।’

थापाले खेलाडीहरु आउने जाने भइरहँदा कोचलाई पनि आफ्नो रणनीति बनाउन गाह्रो हुने बताए । ‘कोचमा कुनै समस्या होइन । एउटा टिम बनायो खेलायो खेलाडी बाहिर हिँडिँदिन्छ । यसले गर्दा एक्सपेरिमेन्ट मात्र भइराखेको छ,’ उनले थपे, ‘जसले गर्दा कोचलाई पनि आफ्नो रणनीति बनाउन गाह्रो छ । त्यसैको असर मैदानमा पनि देखिहाल्छ ।’
अहिले हरेक खेलमा नेपाली टिममा नयाँ खेलाडीको आगमन भइरहेको छ । जसले गर्दा प्रत्येक खेलमा नयाँ खेलाडीले डेब्यु गर्ने लगभग पक्का नै हुनछ ।
यमन विरुद्ध जित्नुपर्छ
नेपालले समूहको दोस्रो खेल मंसिर ५ गते यमनसँग घरेलु मैदान दशरथ रंगशालमा खेल्दैछ ।
नेपाल र यमन यसअघि खेले पनि नेपालले यमनलाई हराउन सकेको छैन ।
यो समूहमा रहेका चार मध्ये नेपाल र यमनको वरीयता करिब उस्तै रहेको र नेपालले हराउन सक्ने टिम यमन नै रहेको प्रशिक्षक थापा बताउँछन् ।
‘यमनसँग खेल्दा हामीलाई घरेलु मैदान र दर्शकको साथ हुन्छ । जसले गर्दा हामीलाई फाइदा हुन्छ । त्यसैले यस खेलमा नितान्त जित आवश्यक छ,’ थापाले भने, ‘यमनलाई जितेमा आउने खेलमा मनोबल पनि उच्च हुन्छ र राम्रो गर्ने अवसर पनि बढ्छ ।’
नेपालले यसअघि एएफसी एसियन कप २०१९ को छनोटमा यमनसँग दुई खेल खेलेको थियो ।
२०१७ मा भएको होम म्याचमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो भने २०१८ मा यमनमा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।
                        
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4