+

नेपाली महिला क्रिकेटमा नसुध्रिएको ब्याटिङ

२०८० मंसिर  ३ गते १९:५६ २०८० मंसिर ३ गते १९:५६
नेपाली महिला क्रिकेटमा नसुध्रिएको ब्याटिङ

३ मंसिर, काठमाडौं । नयाँ कप्तान इन्दु बर्मा र नयाँ प्रशिक्षक मनोज कटुवालको साथमा चार देशीय शृंखला खेल्न हङकङ गएको नेपाल तेस्रो भयो ।

प्रतियोगितामा नेपालले एउटा मात्र टिम जापानलाई २ पटक हरायो । जापानसँग समूह चरणको खेल ६७ रनले जितेको नेपालले तेस्रो स्थानका लागि भएको खेल ४५ रनले जित्यो ।

नेपाल समूह चरणमा तान्जानियासँग २७ रन र घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भयो । पहिलो खेलमा नेपाल तान्जानियासँग १६.५ ओभरमा ८८ रनमा अलआउट भयो ।

दोस्रो खेलमा हङकङसँग १८ ओभरमा ५६ रनमा अलआउट भयो । पहिलो खेलमा सीताले ४३ रन र इन्दुले १५ रनको पारी खेले । दोस्रो खेलमा रुबिनाले २५ रनको पारी खेलिन् अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तेस्रो खेलमा जापानसँग नेपालले ६७ रनको जित हात पार्‍यो । जसमा रुबिनाले ३८ रनको सर्वाधिक पारी खेलिन् । त्यसबाहेक कप्तान इन्दुले २७, पूजा महतोले १३ र काजल श्रेष्ठले १५ रनको पारी खेले ।

यस खेलमा कमब्याक गरेकी रोमा थापाले तेस्रो स्थानका लागि जापानसँग भएको खेलमा २२ रन बनाइन् ।

हङकङको चार देशीय शृंखलाले ब्याटिङमा पुराना तीन खेलाडी पूर्वकप्तान रुबीना क्षेत्री, सीता राना मगर र कप्तान इन्दु बर्माबाहेक ब्याटिङमा कसैको पनि खास प्रदर्शन देखिएन । टिममा नयाँ खेलाडी धेरै भएको र नयाँ खेलाडी ब्याटिङमा चल्न नसक्दा पराजित हुनु परेको कप्तान इन्दु बर्माले बताइन् ।

तेस्रो स्थानका लागि भएको खेलमा नयाँ खेलाडी पुजा महतोले ४३ रनको पारी खेलिन् । ‘पुजा नेपालको लागि राम्रो अलराउन्डर हुन सक्छ । उनी राम्रो खेलाडी हुन्’, महिला टिमका पूर्व प्रशिक्षक सामसन जंग थापाले भने ।

‘नयाँ पुस्तालाई अफसिजनमा अभ्यास गराउनु पर्‍यो, यी ३ खेलाडीले मात्रै नेपाली महिला टिमको ब्याटिङ कति धान्नु ?,’ प्रशिक्षक थापा प्रश्न गर्छन, ‘यी खेलाडीले धेरै खेले ३/४ वर्ष खेल्छन् । त्यसपछि के गर्ने ?’

३० वर्ष टेक्नै लागेकी पूर्व कप्तान रुबिनाले आफ्नो सन्यासको समय नजिक आइपुगेको बताउने गरेकी छिन् ।

उनले युवा पुस्तालाई एक्सपोजर दिई टिमको जिम्मेवारी धान्न लायक बनाउन आग्रह गरेकी छिन् ।

सीता राना मगर पहिलो ब्याचकी खेलाडी हुन् । त्यसका साथै उनी नेपाली महिला टिमकी बलियो पिल्लर हुन् । उनले केही समयअघि सन्यास लिनलाई पनि आफ्नो स्थान परिपूर्ति गर्ने युवा खेलाडीको खाँचो रहेको बताएकी थिइन् । ‘सन्यास लिने छोड्ने भन्दा पनि हालसम्म मलाई रिप्लेस गर्ने युवा खेलाडी आएकै छैन’, केही समय अघि उनले अनलाइनखबरसँग भनेकी थिइन् ।

दीर्घकालीन योजनाको कमीले कमजोर

सअघिका ३ वटा शृंखलामा प्रशिक्षक रहेका सामसन जंग थापा र विश्वकप छनोटका लागि ब्याटिङ प्रशिक्षक बनेकी भारतकी देवीका पाल्शिकरले टिममा केही रणनीतिक परिवर्तन देखाएका थिए । त्यसका बाबजुद पनि नेपाल विश्वकपमा छनोट हुन सकेन । विश्वकप छनोटमा नेपाल सेमिफाइनलमा थाइल्याण्डसँग ४६ रनले पराजित भएको थियो ।

सन् २०१० देखि महिला टिमलाई नजिकबाट नियालिरहेका प्रशिक्षक सामसन जंग थापा महिला क्रिकेटको कल्चर विकास नभएकाले महिला क्रिकेटको पनि विकास हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘नेपाली महिला टिमलाई दिगो योजनाको जरुरत छ । त्यो भन्दा पनि महिला क्रिकेट कल्चर विकास हुुनु जरुरी छ ।’

यस पटकको सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले नयाँ प्रशिक्षक कटुवाल सहित नयाँ कप्तानको रुपमा बर्मालाई जिम्मेवारी दिएको थियो ।

महिला टिमका पूर्ण खेलाडी समेत नचिनेका प्रशिक्षक कटुवालका लागि यो सिरिज चुनौतीपूर्ण थियो । उनी आफैंले प्रतियोगिताअघि आफ्नो लागि यो प्रतियोगिता चुनौती र अवसर रहेको बताएका थिए । ‘मेरो लागि यो प्रतियोगिता अवसर र चुनौती दुवै हो ।’

महिला क्रिकेटको प्रशिक्षण नगरेका कटुवालका लागि महिला खेलाडीको क्षमता चिनेर प्रशिक्षण दिनु उनका लागि सहज थिएन ।

सुरुवाती अवस्थामा नेपाली महिला क्रिकेटले राम्रो प्रगति गरेको थियो, त्यतिबेला श्रीलंका, बंगलादेशसँग पनि प्रतिस्पर्धा गर्ने नेपाली टिम अहिले मलेसियासँग खेल्दा हम्मेहम्मेको अवस्थामा पुग्छ ।

महिला टिमका लागि घरेलु क्रिकेटमा नीति तथा प्रतियोगिताको अभाव नै हाल महिला टिम पिछडिनुको कारण रहेको प्रशिक्षक थापा बताउँछन् । थापाले भने, ‘महिला क्रिकेटलाई विकास गर्ने हो भने घरेलुमा खेल खेलाइरहनु पर्छ । खेलको अनुभव नहुँदासम्म खेलाडीलाई अन्तर्राष्ट्रियमा खेल्न गाह्रो हुन्छ ।’

महिला क्रिकेटको अवस्था नेपालमा दयनीय रहेको थापाले खुलाए । ‘अहिले राजधानीमा ११ जना खेलाडीको टिम पुर्‍याउन गाह्रो छ ।’

विभिन्न विद्यालय तथा ग्रेट हिमालयन क्रिकेट एकेडेमीका प्रशिक्षकका रुपमा कार्यरत थापा राष्ट्रिय खेलकुद परिषदका क्रिकेट प्रशिक्षक हुन् । ‘घरेलुमा रहेका २२÷२५ जना खेलाडी छनोट गरि उनीहरुबाट उत्कृष्ट रहेकालाई बन्द प्रशिक्षणमा राख्नुपर्छ ।’

खेलको अनुभव र प्रतिस्पर्धाको कमीले महिला क्रिकेट पछि परेको थापा बताउँछन् ।

अझै पनि अभिभावकीय संस्था क्यानले महिला क्रिकेटमा लगानी नगर्ने हो भने यो भन्दा पनि खराब अवस्था आउन सक्ने भय थापालाई छ । ‘अबको दिनमा पनि महिला क्रिकेटको बारेमा क्यानले दीर्घकालीन नीति नबनाउने हो भने हामी मलेसियासँग पनि छिट्टै पछि पर्छौ ।’

नेपाली महिला क्रिकेट सामसन जंग थापा
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय