एआई च्याटबट च्याट जीपीटीका निर्माता साम अल्टम्यानलाई आफैंले स्थापना गरेको ओपन एआई कम्पनीले बर्खास्त गरेपछि विभिन्न खालका अफवाहहरु फैलिए । तर, माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले सबै अफवाहहरुमा पूर्ण विराम लगाइदिएका छन् ।
बर्खास्तगीमा परेका साम अल्टम्यानलाई माइक्रोसफ्ट कम्पनीमा भित्राइएको घोषणा नाडेलाले गरेका छन्।
सोमबार दिउँसो एक्समा एक पोस्ट गर्दै नाडेलाले ओपन एआईको नयाँ सीईओ Emmett Shear हुने जानकारी गराउँदै उक्त कम्पनीबाट निकालिएका साम अल्टम्यान र ग्रेग ब्रोकम्यानले माइक्रोसफ्टको नयाँ अत्याधुनिक एआई अनुसन्धान टिमको नेतृत्व सम्हाल्ने बताएका छन् । साथै यस दिशामा उनीहरुलाई छिटै नै श्रोतसाधन उपलब्ध गराइने पनि नाडेलाले जनाएका छन् ।
स्मरण रहोस् गत हप्ता ओपन एआई कम्पनीको सीईओ पदबाट हटाइएका साम अल्टम्यानको समर्थनमा कम्पनीका कर्मचारी देखि विभिन्न लगानीकर्ताहरु समेत उत्रिएका थिए ।
समाचार अनुसार ओपन एआईका लगानीकर्ताहरुले साम अल्टम्यानलाई नै पुनः कम्पनीको नेतृत्वमा ल्याउनुपर्ने माग गरिरहेका थिए । त्यस्तो माग गर्नेमा कम्पनीको सबैभनदा ठूलो लगानीकर्ताको रुपमा रहेको थ्राइनभ ग्लोबल पनि छ ।
त्यस्तै सीईओ अल्टम्यानको बर्खास्तगीसँगै कम्पनीका केही कर्मचारीहरुले समेत व्यवस्थापनविरुद्ध मोर्चाबन्दी सुरु गरेका थिए ।
कम्पनीका ७ सय ७० कर्मचारीमध्ये ७ सय ४३ जनाले एक पत्र लेख्दै अल्टम्यानको पुनर्वहाली गर्न र उनलाई बर्खास्त गर्ने बोर्डका अधिकारीहरुको राजीनामाको माग गरेका छन् ।
त्यस्तै अल्टम्यानलाई हटाइएको विरोधमा कर्मचारीहरुले सामूहिक राजीनामा दिने पनि बताएका थिए । त्यसमा ओपन एआइका सह संस्थाका सहसंस्थापक ग्रेग ब्रोकम्यान पनि थिए ।
टेस्ला तथा एक्सका मालिक एलन मस्कले समेत यो विषयमा आफ्नो धारणा राख्न भ्याए । उनले साम अल्टम्यानलाई ओपन एआईले बर्खास्त गर्नुको कारण सार्वजनिक गर्नुपर्ने बताएका थिए ।
अल्टम्यानलाई हटाएसँगै मिरा मुरातीलाई कम्पनीको अन्तरिम सीईओ बनाएको ओपन एआईमा हाल पूर्णकालीन सिइओमा नियुक्त हुने एम्मेट शियर ट्वीचको संस्थापक हुनुका साथै सीईओ भैसकेका व्यक्ति हुन् । ट्वीचलाई सन् २०१४ मा माइक्रोसफ्टले अधिग्रहण गरेको थियो ।
सन् २०१४ देखि २०१९ सम्म उनी साम अल्टम्यानले स्थापना गरेको एक स्टार्टअपमा काम गरे । जहाँ उनले पार्ट टाइम सल्लाहाकारको काम गर्दथे ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4