+

महत्वाकांक्षी योजनामा अघि बढिरहेको झापा एफसी

२०८० पुष  २ गते ७:५० २०८० पुष २ गते ७:५०
महत्वाकांक्षी योजनामा अघि बढिरहेको झापा एफसी

२ पुस, काठमाडौं । पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) खेलिरहेको झापा ६ खेलबाट ७ अंक बटुलेर पाँचौं स्थानमा छ ।

पहिलो स्थानको धनगढी एफसी र सातौं स्थानको एफसी चितवनसँग खेल्न बाँकी रहेको झापा शीर्ष ४ मा रहँदै प्ले अफ खेल्ने होडमा छ ।

एनएसएलमा यसै वर्षदेखि सहभागी भए पनि झापा नेपाली फुटबलमा नयाँ टिम होइन । सन् २०११ मा नै निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो । क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ, सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

शहीद स्मारक ए डिभिजन लिग खेल्ने उद्देश्यसहित स्थापना भएको झापा एफसीले पछिल्लो पटक भएका दुई वटा सी डिभिजन क्वालिफायर्स खेलेको थियो । तर त्यसमा सफल भएन ।

झापा एफसीका अध्यक्ष अर्पणविक्रम खड्का भन्छन्, ‘फुटबलमै दत्तचित्त भएर लाग्ने भएपछि किन एनएसएलमा प्रयास नगर्ने त भनेर हामी यसमा जोडिएका हौं ।’

२०७८ मा एनएसएलको पहिलो संस्करण आयोजना हुँदा कोरोना महामारीको समय थियो । त्यसबेला ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । यसपटक झापा, स्पोर्टिङ इलाम र वीरगञ्ज युनाइटेड गरी तीन नयाँ टोली थपिएका छन् भने पहिलो सिजनमा सहभागी विराटनगरले खेलेको छैन।

विदेशी खेलाडीमा चुके

झापाले सुरुमै राष्ट्रिय टिमका स्टार अञ्जन विष्टलाई मार्की प्लेअर चयन गरेको थियो । अहिले अञ्जन नै टिमको कप्तान छन् ।

प्रशिक्षकमा स्पेनका ओरिएल मोहेडानो सेगुरा छन् । विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना छन् । यस्तै सर्बिया र उज्वेकिस्तानका खेलाडी पनि छन् ।

अञ्जनलाई नेपालमा मार्कीले पाएको मध्ये सम्भवत धेरै रकम दिएको बताए पनि अर्पणले रकम भने खुलाएनन् ।

अर्पणले यसपटक विदेशी खेलाडीमा केही चुकेको स्वीकार गरे । ‘त्यसमा पनि फिनिसिङ र मिडफिल्ड पार्ट नै हो’, उनले भने । झापा मात्रै एउटा त्यस्तो टोली हो जसले अफ्रिकन खेलाडी राखेको छैन ।

यसपटक एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान थियो । त्यमसा आइकोनिक प्लेअर राखेमा ५ विदेशी मात्रै राख्न पाउने थियो । झापाले स्पेनिस कोचलाई अनुबन्ध गर्नुअघि नै नेपाली मूलका अमेरिकी खेलाडी धिरज तथाली मगर, सर्वियन गोलकिपर स्टेफन क्युपिक र उज्वेकिस्तान समान्दार ओचिलोभसँग सम्झौता गरिसकेको छ ।

त्यसपछि प्रशिक्षककै सल्लाहमा दुई स्पेनी खेलाडी फर्नान्डो टोरेस र जर्ज सान्चेजलाई अनुबन्ध गरेको हो । ‘हामीले कोच आउनुअघि नै केही खेलाडी अनुबन्ध गरिसकेका थियौँ । उहाँकै सिफारिसमा दुई स्पेनकै खेलाडी ल्यायौँ । त्यसैले अन्य  खेलाडीहरु चाहेर पनि अटाउन सकेनन्’  अध्यक्ष  खड्काले भने ।

अर्पणले २०१० डिसेम्बरमा प्रक्रिया अगाडि बढाएका उनले २०११ जनवरी २ क्लब दर्ता गरे । उनी झापा एफसीलाई नेपालकै पहिलो प्राइभेट लगानीको क्लब भनेर दाबी गर्छन् । क्लब प्राइभेट भए पनि झापामा हुने सामाजिक र सामुदायिक कामहरुमा यो क्लब वर्षैभर सक्रिय सहभागी हुने गरेको छ

झापाले अमेरिका, अष्ट्रेलिया, मलेसिया, कतार लगायत विभिन्न देशका क्लबहरुसँग पनि साझेदारी गरेको छ । त्यहाँ सम्भावना बोकेका नेपाली खेलाडीहरुलाई टिममा सहभागी गराउने प्रयास गरिने अर्पणले बताए ।

‘यो पार्टनरसिपको मुख्य उद्देश्य भनेको उनीहरुसँग पनि खेलाडी हुन सक्छ । ती खेलाडीलाई हामीले डि क्याटेगोरीमा रुकी प्लेअरको रुपमा अवसर दिनेछौं,’ उनले भने । अहिले झापाबाट खेलिरहेका धिरज अमेरिकामा डल्लास गोर्खाजबाट खेल्छन् ।

झापा एफसीको लक्ष्य

पहिलो पटक एनएसएल खेलिरहेको झापाले लक्ष्य त उपाधि जित्ने नै बनाएको थियो । तर सुरुवातमा राम्रो प्रदर्शन गर्न नसकेको खड्काले स्वीकार गरे । ‘हामीले उपाधि जित्ने नै लक्ष्य राखेका थियौँ । तर सुरुवातमा राम्रो प्रदर्शन भने हुन सकेन । तैपनि बाँकी खेलमा राम्रो गर्ने लक्ष्य छ’ उनले भने ।

एनएसएलमा २ गोल मात्र गर्न सकेको झापाले गोल पनि २ मात्र खाएको छ । सर्बियाली गोलकिपरले ३ खेलमा त क्लिनसिट राखेका थिए ।

झापाले देशभित्रको प्रतियोगिता मात्र नभई एसियाली स्तरका फुटबल प्रतियोगितामा पनि सहभागी हुने योजना बनाएको छ । ‘अहिलेका लागि हाम्रो अल्पकालीन टार्गेट साउथ एसियामा टप क्लब बन्ने हो’, अर्पणले भने ।

भारतमा पनि अहिले इन्डियन सुपर लिग (आईएसएल) भइरहेको छ । त्यसैको शैलीमा नेपालमा एनएसएल भइरहेको छ । भारतमा आइ लिग र आईएसएल दुबै प्रतियोगिता सहज रुपमा सञ्चालन भए पनि नेपालमा शहीद स्मारक ए डिभिजन लिग र एनएसएलबीच तिक्तता रहेको अर्पण बताउँछन् ।

झापाले महिला फुटबल टिम, उमेर समूहका टिम र फुटबल एकेडेमी पनि सञ्चालन गर्ने उद्देश्य राखेको छ । निकट भविष्यमा आफ्नै रंगशाला बनाउने पनि अर्पणले बताए ।

‘हामीले ५-६ विघा जग्गा लिएर स्टेडियम प्लान गर्दैछौँ । जसरी भएपनि फुटबललाई हराभरा बनाउने लक्ष्य छ’,  उनले भने, ‘नेपालमा फुटबल विकासको लागि ग्रासरुटबाट धेरै परिवर्तन गर्न जरुरी छ ।’ ए डिभिजनको विकेन्द्रिकरण गर्ने, क्बलहरुको एकेडेमी बनाउने, होम एण्ड अवे खेल खेलाउने गरी सोच्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।

यसरी जन्मियो झापा एफसी

अर्पण खड्का ।

कतारमा बसेर फूलको व्यावसाय गर्दै आएका अर्पणबिक्रम खड्काको मनपर्ने खेल को फुटबल । उनले केही साथीहरुसँग मिलेर झापा एफसीमा लगानी गरेका छन् । झापा एफसीमा अहिले ७ जनाको सञ्चालक समिति छ । त्यसमा फुटबलमै केही गर्नुपर्छ भनेर लागेका अपर्णजस्तै युवाहरु छन् ।

अर्पणलाई युवा उमेर फुटबल खेल्ने खुबै शोख थियो । स्कुल पढ्दा खेल्थे तर ठूलै खेलाडी बन्ने सपना पूरा भएन । प्रवेश कटुवालसँगै उनले यू-१६ का लागि ट्रायल समेत दिएका थिए । तर अन्तिम ४० मा नपरेपछि उनको करिअर अर्कैतिर मोडियो । आफू खेलाडी बन्न नसकेकामा उनी धेरै चिन्तित थिए ।

खेलाडी बन्न नसके पनि फुटबलबाट अलग हुन उनको मनले पनि मानेन । युवा उमेरमै वैदेशिक रोजगारीको लागि कतार पुगेका अर्पणले फुटबललाई माया मार्न सकेनन् ।

कतार जाँदा उनी २१ वर्षका मात्र थिए । त्यहाँ नेपाली समुदाय बीच हुने फुटबल प्रतियोगिताहरुमा सहभागी हुन थाले । काम सकेर बेलुका खेल्न जान्थे । केही प्रतियोगिता जिते । त्यहीँ हुँदैमा सल्लाह भयो क्लब दर्ता गर्ने ।

‘हामीले साथीहरुसँग सल्लाह गरेर एउटा क्लब दर्ता गर्ने योजना बनायौं । त्यही बेला नेपालमा फुटबलमै लागेका केही साथीहरुसँग चिनजान भयो र हामी अघि बढ्यौं’, अर्पणले सुरुवाती क्षण स्मरण गरे ।

नेपालमा इतिहास बोकेका पुराना क्लब आफ्नै समुदायमा मात्र सीमित छन् । उनीहरुले पुटबलको संरचनामा काम नगरेको पाएर अर्पणलाई एउटा सञ्चालक समिति नै क्लब चलाउनुपर्छ भन्ने लाग्यो । त्यसपछि सन् २०१० नोभेम्बरमा उनी नेपाल कतारबाट नेपाल आए । क्लब चलाउन आफ्नै मैदान र एकेडेमी चाहिने उनको बुझाइ छ ।

अर्पण विदेशी फुटबल पनि फलो गर्छन् । जहाँ धेरै जसो क्लबहरु शहरको नामबाटै चर्चित छन् । म्यानचेष्टर, मड्रिड,  मिलान यस्तै । अर्पणले पनि किन शहरको नामबाट क्लबको नाम नराख्ने भन्ने सोचेर झापा एफसी राखे ।

‘संसारमा प्रख्यात क्लबहरुले त्यो शहरको पनि रिप्रिजेन्ट गर्छ । त्यसैले नाम सुन्दै मान्छेहरुलाई यो यहाँको क्लब हो भन्ने थाहा हुनुपर्छ भने झापाको नाम राख्यौँ’, उनले भने ।

त्यहाँको समुदायलाई पनि जोड्ने र झापावासीहरुको आफ्नै क्लब हो भन्ने बनाउनका लागि उक्त नाम राखेको उनले बताए ।

अर्पणले २०१० डिसेम्बरमा प्रक्रिया अगाडि बढाएका उनले २०११ जनवरी २ क्लब दर्ता गरे । उनी झापा एफसीलाई नेपालकै पहिलो प्राइभेट लगानीको क्लब भनेर दाबी गर्छन् । क्लब प्राइभेट भए पनि झापामा हुने सामाजिक र सामुदायिक कामहरुमा यो क्लब वर्षैभर सक्रिय सहभागी हुने गरेको छ ।

अर्पणले सुरु गरेपछि फुटबलमा लगाव भएका व्यक्तिहरु यसमा जोडिँदै गए । ‘अहिले हामी ७ जनाको समूह छ । सबैको कनेक्सन भनेकै फुटबल हो । हामी सुरुमा जम्मा भएर क्लब खोलेको होइन कि झापा एफसी बनेपछि सबै जोडिँदै जानुभएको हो ।’

झापा एफसी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय