२७ पुस, इलाम । प्रथम इलाम गोल्ड कपको मुख्य तयारी पूरा भएको छ । अस्थायी प्याराफिट निर्माण, सहभागी टिम व्यवस्थापन, टिकटिङ, पुरस्कार ब्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कोभिडका कारण लामो समयदेखि इलाममा आयोजना हुन नसकेको ठूलो फुटबल प्रतियोगिताको खडेरी तोड्दै इलामकै रेड हर्स फुटबल क्लबले पहिलो पटक प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
इलामस्थित ठूलो टुडिखेलमा माघ ६ गतेदेखि माघ १३ गते सम्म सञ्चालन हुने खेलमा ८ वटा टिमहरुको प्रतिष्पर्धा हुनेछ । एनएसएलमा सहभागी क्लब बुटबल लुम्बिनी एफसी बुटवल सहित भारतको एमएफसी दार्जिलिङ, न्युरोड टीम (एनआरटी), बागमती युवा क्लब सर्लाही, पाँचथर फुटबल क्लब पाँचथर, विर्तामोड युनाइटेड झापा र आयोजक रेड हर्स फुटबल क्लब इलामको रोमाञ्चक प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
आज इलामको ठूलो टुँडिखेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै प्रतियोगिताको मुख्य तयारी सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष सांगे येल्मुले जानकारी दिए । विजेताले रु ५ लाख पाँच हजार पाँचसय पाँच रुपैयाँ र उपविजेताले ३ लाख तीनहजार तीनसय तीन रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको क्वाटर फाइनल सम्मको प्रवेश शुल्क रु १००, सेमीफाइनलको रु २०० र फाइनलको रु ३०० तय गरिएको छ । प्रतियोगितामा पहिलो पटक टिकट स्क्यान गरिने प्रविधि भित्र्याइएको छ । खेल शुरु हुन केहि दिन मात्र बाँकी रहदा हालसम्म मुख्य प्रायोजकको टुंगो नलागेको आयोजक संस्थाका उपाध्यक्ष नविन तामाङले सञ्चारकर्मीहरुलाई बताए ।
मुख्य प्रायोजक नपाए खेलको आर्थिक व्यवस्थापन गर्न समस्या पर्नसक्नेतर्फ संकेत गर्दै उनले भने, ‘नगरपालिकाको नीति बमोजिम ड्रिङ्क्स हरुको तस्विर भएको ब्यानर राख्न नमिल्ने भएपछि ड्रिङ्क्स कम्पनीहरु अन्तिममा आएर ब्याक भए, बरु कोहि प्रायोजन गर्न चाहन्छ भने जानकारी गराईदिनुस् ।’
कोभिड अगाडिको समयसम्म माइभ्याली फुटबल क्लबले माइभ्याली गोल्डकपको आयोजना गर्दै आएको थियो ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4