 
																			इतिहासमा महेन्द्रलाई अनुदार र वीरेन्द्रलाई उदार राजाको रूपमा लिइन्छ । २०१७ सालमा बीपी कोइरालाको प्रथम जननिर्वाचित सरकारलाई अपदस्त गरी निर्दलीय पञ्चायती व्यवस्थाको सुरु गरेकोले राजा महेन्द्रको प्रजातान्त्रिक व्यवस्थाप्रति अनुदार र जनमत संग्रह गराएका एवम् बहुदलीय व्यवस्था अन्तर्गत संवैधानिक राजतन्त्रको हैसियतमा बस्न तयार भएकोले उदार र प्रगतिशील सोचका राजाको रूपमा वीरेन्द्रलाई लिइन्छ ।
यो आम बुझाइको विपरीत महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र सहित तीनै जना राजासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर पाएका पूर्व प्रशासक, मन्त्री एवम् कूटनीतिज्ञ डा. भेषबहादुर थापाले आफ्नो फरक अनुभव पुस्तक मार्फत बाहिर ल्याएका छन् ।
हरिबहादुर थापाबाट लिपिबद्ध फाइन प्रिन्टबाट प्रकाशित डा. थापाको संस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र (एकतन्त्रदेखि गणतन्त्रसम्म) मा उनले राजा महेन्द्रको शासनकालमा सिंहदरबारको काममा नारायणहिटीले कहिल्यै हस्तक्षेप नगरेको र वीरेन्द्रको शासनमा भने दरबारले छुट्टै संरचना बनाई सिंहदरबारको काममा हस्तक्षेप गरेको अनुभव उल्लेख गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा अध्ययन गरिरहेका डा. थापालाई राजा महेन्द्रले नेपाल फर्काएर २४ वर्षकै उमेरमा योजना परिषद्को सदस्यसचिव बनाएका थिए । त्यसरी प्रशासनिक करिअर सुरु गरेका उनले ४० वर्ष नकट्दै अर्थ सचिव, राष्ट्र बैंकको गभर्नर हुँदै अन्तर्राष्ट्रिय संस्थाको उच्च पद र राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारी सम्हाले ।
अमेरिका तथा भारतका लागि १४ वर्ष राजदूतको जिम्मेवारी सम्हालेका डा. थापा पछिल्लो समय नेपाल–भारत सम्बन्धमा रहेका समस्या एवम् विवाद समाधानका लागि गठित प्रबुद्ध समूहका संयोजक समेत रहेका थिए ।
डा. थापाका अनुसार प्रशासकीय पद्धतिप्रति भरोसा गरेर सिंहदरबारलाई अघि सार्ने र सिंहदरबारकै माध्यमबाट शासन गर्ने राजा महेन्द्रको भित्री योजना रहेको थियो ।
राजा वीरेन्द्रका पालामा भने ठ्याक्कै उल्टो भयो । वीरेन्द्रले राजनीतिलाई देखाउने भाँडो बनाए भने शासन व्यवस्थामा चाहिं ‘ह्वाइट हाउस’ शैली भित्र्याए (पृष्ठ नं १७६–१७८) । उनी भन्छन्, ‘राजा महेन्द्रमा जनभावना बुझ्ने शैली थियो, उनी सोध्थे– न्युरोडको पिपलबोटमा के हावा चलेको छ ?’
पुस्तकमा डा. थापाले सुरक्षा निकायको सन्दर्भमा भने राजा महेन्द्र र वीरेन्द्रमा उस्तै चासो रहेको बताएका छन् । पूर्व राजा ज्ञानेन्द्रलाई भने उनले इन्टेलिजेन्स र एसर्टिभ भनेका छन् । अर्को प्रसङ्गमा उनले भनेका छन्, ज्ञानेन्द्र व्यापार र भौतिक साधन संकलनमा व्यस्त, महत्वाकांक्षी र अरूलाई नटेर्ने स्वभावका थिए ।
ज्ञानेन्द्रको स्वभावलाई पुष्ट्याईं गर्ने एउटा घटना डा. थापाले पुस्तकमा बताएका छन् । आफू अर्थमन्त्री हुँदा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले सिपिङ कम्पनी अर्थात् पानीजहाज चलाउने कम्पनी खोल्ने योजना र प्रक्रिया अघि बढाएकोमा उक्त प्रस्ताव उद्योग मन्त्रालयबाट अर्थ मन्त्रालयमा आएको रहेछ । त्यतिखेर सरकार ग्यारेण्टी बस्नुपर्ने रकमको परिमाण ६० करोड रुपैयाँभन्दा बढी थियो, जतिबेला नेपालको वार्षिक बजेट चार अर्बभन्दा कम थियो ।
त्यो फाइल थापाले बदर गरिदिएछन् । भोलिपल्ट ज्ञानेन्द्रले निर्मलनिवास बोलाएर भनेछन्, ‘मैले नेपालको झण्डा समुद्रमा पुगोस् भनी चाहेको थिएँ । तिमीले विरोध गरेको सुनें ।’
डा. थापाले जवाफ दिएछन्, ‘म अर्थमन्त्री मात्र होइन, एउटा अर्थशास्त्री समेत भएका नाताले सरकारलाई यसमा हात नहाल्न सल्लाह दिन्छु ।’ ‘सो यु आर एगेन्स्ट इट ?’ ‘हो, सरकार ।’ त्यसपछि ज्ञानेन्द्रले भनेछन्, ‘यु मे गो !’ यसैको बदला लिन गलैंचा काण्ड भएको उनले बताएका छन् ।
पुस्तकमा डा. थापाले आफूले काम गरेका चार प्रधानमन्त्री बारे धारणा राखेका छन् । उनको नजरमा डा. तुलसी गिरि राजासँग मतभेद राख्न सक्थे भने सूर्यबहादुर थापा व्यवहारवादी थिए । कीर्तिनिधि विष्ट राष्ट्रवादी एवम् नगेन्द्रप्रसाद रिजाललाई दरबारले रुचाएको पात्र भनेका छन् ।
त्यस्तै, विश्वबन्धु थापा प्रधानमन्त्री हुन काबिल र योग्य व्यक्ति भएको उनको बुझाइ छ । सन् १९६० को व्यापार तथा पारवहन सन्धिमा नेपालको अडान कायम राख्न र नेपालको उत्तरी सीमाबाट भारतीय सुरक्षाकर्मी हटाउन प्रधानमन्त्री कीर्तिनिधि विष्टको महत्वपूर्ण भूमिका रहेको डा. थापाको अनुभव छ ।
राजासमक्ष विष्टले भनेका रहेछन्, ‘सरकार म यसको व्यवस्थापन गर्न सक्छु । विवाद र दबाब आयो भने प्रधानमन्त्रीले गलत निर्णय लिएछन् भनी मलाई भिक्टिमाइज गरे हुन्छ ।’ विष्टले राजासमक्ष भनेको कुरा आफूले त्यतिबेला सुनेको उनले बताएका छन् ।
आजभोलि ओहोदामा रहेका नेताहरूलाई कार्यकर्ता वा कसैले छाता ओढाएको तस्बिरहरू यदाकदा देख्न पाइन्छ । नेताहरूको शैली विगतमा पनि त्यस्तै रहेछ । बीपी कोइरालाको सन्दर्भमा डा. थापाले यस्तै सन्दर्भ उजागर गरेका छन् ।
२०१४ सालमा पहिलो पटक बीपीलाई भेट्दा उनको मनमा राम्रो छाप परेन । बीपी कौसीमा बसेर खाना खाइरहेका थिए र उनलाई दुइटी परिचारिकाले पङ्खा हम्किरहेका थिए । उनले भनेका छन्, ‘मेरो युवा नजरमा त्यो दृश्य जँचेन ।’
पुस्तकमा डा. थापाले राजा महेन्द्रका सकारात्मक विषयहरू उजागर गरेका छन् । उनको जीवनमा राजा महेन्द्रको महत्वपूर्ण योगदान छ । पुस्तकमा तत्कालीन राजनीतिक शक्ति–संघर्षका मिहिन विषयहरू समेटिएका छैनन् । डा.थापा टेक्नोक्र्याट भएर पनि यसो भएको हुनसक्छ तर नेपालको बाह्य सम्बन्ध विस्तार, कूटनीतिक उतारचढाव, आर्थिक परिचालन, दरबारको नीति पुस्तकले समेटेको छ ।
राजनीतिक दृष्टिकोणबाट हेर्दा भने पुस्तकले दरबारतर्फ झुकाव राखेको बुझ्न सकिन्छ । त्यसो त डा. थापाले आफ्नो दृृष्टिकोण पुस्तकको ‘उत्तराद्र्ध’ खण्डमा स्पष्ट पारेका छन्, ‘जीवनकालमा राजतन्त्र विरोधी या संवैधानिक राजतन्त्र हट्नुपर्छ भन्ने सोचाइ ममा कहिल्यै आएन । तर जसरी जनआन्दोलनको उभार आयो र राजतन्त्र गयो, त्यसमा मैले कहिल्यै प्रश्न खडा पनि गरिनँ ।’
उनको विचारमा राजा वीरेन्द्रको हत्या नभएको भए नेपालमा बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्रको जग राम्रैसँग बस्ने थियो ।
डा. थापा नेपालको आर्थिक एवम् कूटनीतिक क्षेत्रका अग्ला व्यक्ति हुन् । फाइन प्रिन्टद्वारा २०८० कात्तिकमा प्रकाशित यस संस्मरणले नेपालको आर्थिक जग बसाउन तथा कूटनीतिक क्षमता विस्तारमा अतुलनीय योगदान पु¥याएका डा. थापाको जीवन, संघर्ष, दृष्टिकोण लगायत पक्षहरूलाई उजागर गरेको छ । इतिहास, राजनीति, कूटनीति, आर्थिक मामिला, अन्तर्राष्ट्रिय सहयोग लगायत विषयमा चासो राख्ने सबैका लागि पुस्तक उपयोगी साबित हुनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4