१३ माघ, काठमाडौं । तीन वर्षअघि २८ भदौ २०७७ को साँझ नेपाली क्रिकेटका बाँया हाते तीव्र गतिका बलर ललित भण्डारी गृहजिल्ला कञ्जनपुरमा मोटरसाइकल दुर्घटनामा परे । झलारी बजारमा उनी सवार मोटरसाइकललाई मिनीट्रकले ठक्कर दिएको थियो ।
उनलाई उपचारका लागि रातरात बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । उनी होसमा थिएनन् । अर्को दिन कोहलपुरमा उनको होस आयो र थप उपचारका लागि हेलिकप्टरमा काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको थियो । उनको दाँया हात, खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
त्यो समय उनले पुनः क्रिकेट खेल्छन् भनेर सोच्नुभन्दा पनि उनी निको हुनु ठूलो कुरा थियो । वास्तवमा समयमा उपचार पाउँदा उनले मृत्युलाई जितेका थिए ।

तीन वर्षपछि शुक्रबार ललितले त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध खेल्ने मौका पाए । नेपाल पुलिस क्लबले नियमित तीव्र गतिका बलर रासिद खानलाई विश्राम दिँदै ललितलाई मौका दिएको थियो ।
टियू एन्डबाट आएका उनले आफूले गरेको सुरुवाती तीन बलमा लगातार चौका खर्चिएका थिए । कर्णालीका कप्तान रवीन्द्रजंग शाहीले उक्त तीन चौका पछि पाँचौं बलमा डिप मिडविकेटमा छक्का हानेका थिए । अन्तिम बल लेग वाइको रुपमा ४ रन गएपछि ललितले समग्रमा पहिलो ओभरमा २२ रन खर्चिए ।
तर त्यसपछि उनले राम्रो पुनरागमन गरे । शुक्रबारको खेलमा ५ ओभर बलिङ गर्दा उनले १ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिएका थिए । कर्णालीका युनिस सिंह र दिनेश अधिकारी ललितको बलमा आउट भए । दुर्घटनापछि उनले भैरहवामा प्रो क्लबमा एक खेल मात्रै खेलेका थिए । तर राष्ट्रियस्तरका कुनैपनि प्रतियोगिता खेलेका थिएनन् ।
शुक्रबारको खेलपछि उनले सुरुवातमा केही गाह्रो भएको बताए । ‘पहिलो ओभर त्यति राम्रो भएन, त्यसपछि मलाई सन्तुष्ट भएजस्तो अनुभव भयो । पहिलो ओभर बाहेक अन्य राम्रो भयो । पहिलो ओभर धेरै वर्षपछि खेलेर पनि होला रिदम नै नमिलेको अनुभव भएको थियो’, मैदान पुनरागमनबारे ललितले भने ।

एक समय नेपाली क्रिकेटमा बाँया हातेसँगै उनी स्वीङका लागि चर्चित बलर थिए । मैदान फर्केपछि आफूले स्वीङमा नै आफ्नो खुबी देखाउन खोजेको उनी बताउँछन् । ‘स्वीङ त पाएको थिएँ तर भने जस्तो ठाउँमा खसेको थिएन । त्यही भएर रन खर्चिन पुगेँ’, शुक्रबार आफ्नो पहिलो ओभरबारे ललितले भने ।
दुर्घटनाबाट निको भएपछि ललितले सन् २०२१ को एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्समा केही अभ्यास गरेका थिए । तर पूर्ण रुपमा फिट नभएपछि टोलीमा पर्न सकेनन् ।
पछिल्लो समय भने नेपाल पुलिस क्लबले उनलाई टिममा राखेर अभ्यास गराउँदै आएको थियो । ‘म टोलीमा हुन्थेँ, तर बाहिर स्पिनर सहयोगी पिच हुँदा मैले खासै मौका पाएको थिइनँ’ उनले भने ।
आफ्नो क्रिकेटमा पुनरागमनका लागि ललितले पुलिसका प्रशिक्षक मञ्जित श्रेष्ठ, चित्र विष्ट, एनालिष्ट विजयकुमार धिताल र खेलाडीहरुलाई धन्यवाद दिए । ‘उहाँहरुको सपोर्टले तयारी र आफ्नो आत्मविश्वास बढाउन पाएँ’, उनले भने ।
आफू उपचारपछि पुरै निको भएको तर खेलमा पहिलेजस्तो निखार आउन केही समय लाग्ने उनी बताउँछन् । ‘फिटनेसमा काम गर्नुछ, पहिलाजस्तो बलिङ रिदममा आउन समय लाग्छ होला । चाँडै नै त्यो लय आउँछ होला । मौका पाउँदा त्यसलाई सदुपयोग गर्न खोज्नेछु’, ललितले भने ।
कञ्चनपुरमा भएको त्यो दुर्घटनालाई ललित आफ्नो करिअरको एकदमै नराम्रो क्षण मान्छन् । ‘त्यो कुरा म याद नै गर्न चाहन्न, टोलीले मलाई आत्मविश्वास बढाइराखेको छ, पहिलाजस्तै छस्, फिटनेसमा काम गर्यो भने लय समाउँछस् भन्छन्’, उनले भने, ‘डिस्चार्ज भएदेखि त्यो कुरा मैले सोच्न नै छाडिसकेँ ।’
पछिल्लो एक वर्षमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार प्रदर्शन गर्यो । त्यो समय आफू खेल्न पाएको भए हुन्थ्यो जस्तो लाग्ने ललित बताउँछन् ।
ललित घाइते भएपछि नेपाली टोलीमा बायाँ हाते तीव्र गतिको बलरको अभाव भयो । गत वर्ष आईसीसी विश्वकप लिग–२ को समयमा नेपालले प्रतिश जिसीलाई टोलीमा राखेको थियो । पछिल्लो एक वर्षदेखि प्रतिश टोलीमा छन् । घरेलु क्रिकेटमा रिजन ढकाल, कमल खत्री र दुर्गेश गुप्ताले पनि भविष्यमा त्यो सम्भावना देखाएका छन् ।
उनलाई टोलीमा फर्किन अहिलेको अवस्थामा निकै कठिन देखिन्छ । अहिले आफूसँग भएको क्षमतालाई उनी १० प्रतिशत मात्र मान्छन् । ‘आजको बलिङले म पर्दिन । नेपालको टोलीमा फर्किने हो भने अझै ९० प्रतिशत म तयार हुनुपर्छ । मैले त्यसमा काम गरेको छु’, ललितले आफ्नो पुनरागमन गरे ।
                        
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4