
काठमाडौं । दीया पुनको परिचय अभिनेत्रीको रुपमा मात्र सीमित छैन । उनी नर्स र पर्वतारोही समेत हुन् । यी तीनवटा कामको सन्तुलन मिलाउन उनलाई भ्याइनभ्याइ छ ।
उनी यतिबेला माघ २६ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘दयारानी’को प्रचारमा व्यस्त छिन् । यो फिल्ममा उनले निःसन्तान गुरुङ युवतीको भूमिका निर्वाह गरेकी छन् । यो फिल्मलाई आफूले महत्वका साथ लिएको उनले बताइन् ।
दीयाले सर्वोच्च शिखर सगरमाथादेखि अफ्रिका महादेशको सबैभन्दा अग्लो माउण्ट किलिमन्जरो र दक्षिण अमेरिका महादेशकै सबैभन्दा अग्लो अकोनकागा हिमाल आरोहण गरिसकेकी छन् । यत्तिकैमा उनको पर्वतारोहण नरोकिने निश्चित भएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै दीयाले आफूले सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने बताएकी छन् । आगामी तीन वर्षभित्र बाँकी चार हिमाल आरोहण गर्ने उनको तयारी छ ।
जसअनुसार उत्तर अमेरिकाको अग्लो अलाकास्थित डिनाली, युरोप महादेशको अग्लो रुसस्थित एल्ब्रस, अन्टार्कटिकाको अग्लो भिन्सोन मासिफ र इण्डोनेसियास्थित पञ्जय जयको आरोहण गर्ने उनको तयारी छ । हिमाल चढ्नु महंगो भएको र आफू जागिरे र फिल्ममा समेत व्यस्त हुनुपर्ने भएकाले यी चार हिमाल चढ्न तीन वर्ष लाग्ने उनको भनाइ छ ।
दीयाका अनुसार सगरमाथासहित तीन हिमाल चढ्न उनले ७० हजार अमेरिकी डलर खर्च गरेकी थिइन् । कामको कुरा गर्दा उनी अभिनित दयारानी प्रदर्शन तयारीमा छ भने उनले अर्को एक अनटाइटल फिल्म साइन गरेकी छन् ।
प्रतिक्रिया 4