+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउँदै कर्मा ब्याण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १६:२१

काठमाडौं । ‘हुक्का मेरो डल्ले डल्ले, नली नलाई खान्नँ, यति राम्री केटीलाई अघि नलाई जान्नँ’ गीतबाट चर्चा कमाएको नेपाली सांगीतिक ब्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउने भएको छ ।

बिहीबार कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपअन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन गरिररहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत विजय अधिकारीले नयाँ डिजिटल एल्बम ‘हेर’ ल्याउन लागेको जानकारी दिए ।

‘नेपाली संगीत र कलाकारलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपअन्तर्गतको एएसक्यूले उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सहकार्य गरेको छ,’ अधिकारीले भने । ब्याण्डको नयाँ एल्बम ‘हेर’मा समावेश हुने गीतको रेकर्डिङ सिध्याएर म्युजिक भिडियो निर्माण भइरहेको जनाइएको छ ।

भिडियो निर्माणको काम सिध्याएपछि ब्याण्डको एल्बम सार्वजनिक हुने बताइएको छ । उक्त एल्बममा आठ गीत समावेश हुनेछन् । अधिकांश गीतमा ब्याण्डका गायक सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ । एएसक्यूले हालै अर्को सांगीतिक ब्याण्ड ‘कन्दरा’को पुनर्आगमनको सिलसिलामा पोखरामा भव्य कन्सर्टको आयोजना गरेको थियो ।

‘हेर’ कर्मा ब्याण्डको छैटौं एल्बम हो । यसअघि ब्याण्डले सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’ सार्वजनिक गरेको थियो । सन् २००० मा सार्वजनिक भएको दोस्रो एल्बम ‘हुक्का’ एल्बममा समावेश ‘हुक्का मेरो’ गीतले ब्याण्ड चर्चाको शिखरमा पुग्यो ।

ब्याण्डले सन् २००३ मा ‘एसएमएस’ र सन् २००७ मा ‘कर्मा’ एल्बम सार्वजनिक गरेको थियो । नेपाली संगीतलाई पश्चिमा संगीतसँग फ्युजन गरेर प्रस्तुत गर्ने ब्याण्डले सन् २०१३ मा ‘नयाँ सपना’ एल्बम सार्वजनिक गरेको थियो ।

‘हाम्रो गीत युवादेखि पाका उमेरसम्मका दर्शक तथा श्रोताले मन पराउनुभएको छ,’ ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने, ‘अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेपनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो ।’

कर्मा ब्याण्डको ‘हुक्का मेरो’ गीतसहित ‘मौनतामा’, ‘कहाँ होला घरबार’, ‘मार्‍यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ र ‘नयाँ सपना’लगायत गीत चर्चामा छन् । ब्याण्डले गत वर्ष ‘कारबारी छाता’ गीत सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?