+

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सको वर्चस्व

२०८० माघ  २८ गते २०:०६ २०८० माघ २८ गते २०:०६
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सको वर्चस्व

२८ माघ, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सले वर्चस्व राखेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई  वर्ष खेलाडी घोषित भएका छन् ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकमा पनि एथलेटिक्सकै चन्द्र गुरुङ घोषित भए । अधिकारी, पछाई र गुरुङले १६औं एसियाली क्रसकन्ट्री दौडमा पदक जितेका थिए ।

यस संस्करणदेखि मञ्चले अवार्डका लागि सुरुमा ८ जनाको मनोनयन गरेको थियो । जसमध्येबाट शीर्ष ३ छानेर यसअघि शीर्ष तीनको मनोनयन सार्वजनिक गरिएको थियो । आज तीनै ३ मध्येबाट अवार्ड विजेछा छानिएका हुन् ।

पुरुषतर्फका दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे । महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् ।

दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।

उनीहरु गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा सहभागी थिए ।

वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए ।

वर्ष उत्कृष्ट प्रशिक्षक गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे ।

टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् ।

सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गरिन् । सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् ।

यस अवार्डको मनोनयनमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए ।

युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् ।

देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते ।

देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ विशुंखे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छिन् ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् । उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।

स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रन्जित सम्मानित भए । अनलाइनखबरकर्मीसमेत रहेका उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन् ।

एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड हङकङ रेमण्ड चुलाई प्रदान गरिएको छ ।

चन्द्र गुरुङ दीपक अधिकारी देव खनाल पल्सर स्पाेर्टस अवार्ड मैयाँ विशुंखे राजपुरा पछाई राजेन्द्रकुमार प्रधान सिक्का सुवाल सुदर्शन रञ्जित

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय