१३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत माघमा अघिल्लो वर्ष सोही अवधिको दाँजोमा कम राजस्व संकलन गरेको छ ।
महानगरपालिकाले गत आर्थिक वर्ष (आव) २०७९/८० माघमा ४४ करोड ४२ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, चालु आव ४० करोड २१ लाख ८७ हजार मात्रै उठेको हो । जुन ९.४७ प्रतिशत कमी हो ।
महानगर राजस्व विभागका अनुसार माघमा सम्पत्ति कर उल्लेख्य घटेको छ । गत आवमा ५ करोड ६२ लाख रुपैयाँ उठेकोमा यो वर्ष ४ करोड ३३ लाख मात्रै उठेको छ । यो २३.३६ प्रतिशत हो । भूमिकर र मालपोत करमा पनि महानगरले आन्तरिक राजस्व १२ प्रतिशत कम उठाएको छ । अघिल्लो वर्ष माघमा ६ लाख २५ हजार उठाएकोमा यसपालि ५ लाख ४५ हजार मात्रै उठाएको हो ।
नक्सा पास दस्तुरमा पनि राजस्व गत आवभन्दा आधाले घटेको छ । गत वर्ष १२ करोड ३९ लाख ३९ हजार रुपैयाँ नक्सा पास दस्तुरबाट जम्मा भएकोमा चालु आव ५ करोड ५५ लाख ५६ हजार मात्रै जम्मा भएको राजस्व विभागले जनाएको छ ।
व्यवसाय बन्द हुने अवस्था छ
चालु आव माघमामा आन्तरिक राजस्व संकलनमा महानगरले अपेक्षित संकलन गर्न नसक्नुमा आर्थिक मन्दीको असर रहेको राजस्व विभाग प्रमुख ध्रुव काफ्ले दाबी गर्छन् ।
‘हामी सानादेखि ठूला व्यवसायसम्म करको दायरामा ल्याउने भनेर काम गरिरहेका छौं,’ काफ्लेले अनलाइनखबरसँग भने, ‘तर, धेरै सटरहरू बन्द भइरहेका छन्, भएकाले पनि बरु अर्को वर्ष जरिवाना सहित तिर्छौं, अहिले पैसा छैन भनिरहेका छन् ।’
उनले समग्रमा गत आवभन्दा आन्तरिक राजस्वमा कमी नआए पनि माघमा उच्च गिरावाट आएको बताए ।
‘कुल आयमा असर परेको छैन, तर आन्तरिक आयमा ठूलो असर परेको देखिन्छ । आर्थिक मन्दीले तल्लो तहका साना व्यवसायीलाई समेत असर पर्दा राजस्वमा रिफ्लेक्ट भएको छ । जग्गा कारोबार नहुँदा पनि राजस्वमा वृद्धि नभएको हो,’ उनले भने ।
महानगरले उठायो ३ अर्ब ४३ करोड आन्तरिक राजस्व
काठमाडौं महानगरपालिकाले चालु आव सात महिना सकिँदा ३ अर्ब ४३ करोड राजस्व उठाएको छ । राजस्व विभागका अनुसार चालु आव ६ महिनामा मात्रै ३ अर्ब २ करोड उठाएको थियो ।
महानगरपालिकाको आन्तरिक राजस्व समग्रमा अघिल्लो आवभन्दा सात महिनामा १४ करोड ५९ लाख बढी हो ।
‘अघिल्लो आवभन्दा सात महिनामा कुल आन्तरिक राजस्व बढेको देखिए पनि माघको तथ्यांकले राजस्वमा असर परेको भने देखिन्छ,’ काफ्लेले भने ।
आन्तरिक अनुदान पनि घट्यो
महानगरपालिकाले राजस्व बाँडफाँटबाट ७९ करोड ७७ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आव सात महिनामा ७१ करोड ३ लाख रुपैयाँ आय प्राप्त गरेको थियो ।
संघ र प्रदेश सरकारले दिने आन्तरिक अनुदान अन्तगर्तको राजस्व १ अर्ब २९ करोड ९० लाख रुपैयाँ प्राप्त गरेको छ । यो पनि गत वर्षभन्दा कम नै हो । गत आव सात महिनामा महानगरपालिकाले १ अर्ब १० करोड ९७ लाख प्राप्त गरेको थियो ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4