२० फागुन, जनकपुरधाम । महोत्तरी र धनुषा भएर बग्ने रातु नदीमा उत्खनन रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
महोत्तरीका एमाले नेता शंकर महतोसमेतले दिएको रिटमा आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले तत्काल उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले यो मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, मुख्यमन्त्री कार्यालय, बर्दिबास नगरपालिकालगायत १२ वटा विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ । अन्तरिम आदेशका लागि छलफलका लागि निवेदक र विपक्षी दुबै पक्षलाई १८ चैतमा छलफलमा बोलाएको छ ।
रातु नदीमा भइरहेको ढुङ्गा, गिट्टी, बालुवाको उत्खननबाट नदीमा निर्माण गरिएका तटबन्धहरुमा समेत क्षति पुग्न गएको भन्दै सर्वोच्चले तत्कालका लागि उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
पर्यावरणलाई नै असर पार्ने गरी मापदण्ड विपरीत बर्दिवासस्थित रातु नदीको विभिन्न खण्डमा अवैध उत्खनन भएको भन्दै नेकपा एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतका दलका प्रतिनिधिले त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4