 
																			२० चैत, सुर्खेत । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने अडान कायमै राखेका छन् ।
प्रदेशको विवाद मिलाउन भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज बिहान मात्रै सुर्खेत पठाएका छन् ।
वीरेन्द्रनगर–७, इत्राममा रहेको मुख्यमन्त्री निवासमा नेता शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी र मुख्यमन्त्री शर्मा सहितका नेताहरू छलफलमा जुटेका छन् ।
बिहान ११ बजेदेखि सुरु भएको छलफल जारी छ । शाहीले मुख्यमन्त्री शर्मालाई केन्द्रीय निर्णय अनुसार राजीनामा दिएर एमालेलाई सहयोग गर्ने विषयमा छलफल गरिरहेका छन् । तर, मुख्यमन्त्री शर्माले भने संसदीय प्रक्रियाअनुसार विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा प्रस्ताव दर्ता गराइसकेकाले त्यसबाट पछि नहट्ने अडान दोहोर्याउँदै आएको छलफलमा सहभागी एक नेताले बताए ।
‘एक घण्टादेखि मुख्यमन्त्रीज्यूलाई मनाउने प्रयास गरिरहेका छौं । उहाँ टसकिमस हुँनुभएको छैन,’ ती नेताले भने, ‘छलफल जारी छ, हामी जसरी पनि उहाँलाई मनाउँछौं ।’
नेताहरूको छलफल सकिएको केही बेरमै माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भएको संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए । ‘अहिले नेताहरू छलफलमा हुनहुन्छ । छलफल सकिए लगतै दलको बैठक बस्छ,’ प्रमुख सचेतक परियारले भने ।
आन्तरिक छलफलबाट निस्कने निचोडका आधारमा पार्टी अघि बढ्ने उनको भनाइ छ ।
माओवादी केन्द्रका केही नेताले कर्णाली सरकार एमालेलाई दिन नहुने अडान लिए पनि केन्द्रमा शीर्ष नेताहरूबिच एमालेलाई पहिलो चरणको नेतृत्व दिने समझदारी भएको छ ।
प्रदेशमा अध्यक्ष प्रचण्डको निर्देशनविरुद्ध नै मुख्यमन्त्री शर्माले विश्वासको मत लिने अडान लिएका छन् ।
यसअघि एमाले नेता यामलाल कंडेलसँगको वार्ता पनि निष्कर्षविहीन भएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4