+

आरसी ३२ ले अर्को क्लबका खेलाडी खेलाएको भन्दै ९ क्लबको ध्यानाकर्षण पत्र

२०८१ वैशाख  ११ गते १२:४० २०८१ वैशाख ११ गते १२:४०
आरसी ३२ ले अर्को क्लबका खेलाडी खेलाएको भन्दै ९ क्लबको ध्यानाकर्षण पत्र

११ वैशाख, काठमाडौं । शहीद स्मारक सी डिभिजन क्लब खेलिरहेका ९ वटा क्लबले आरसी ३२ फुटबल एकेडेमीले अर्कै क्लबमा आवद्ध खेलाडी नियम विपरीत खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

क्लबहरूले एन्फा अध्यक्ष नेम्वाङलाई सम्बोधन गरेको ध्यानाकर्षण पत्र सोमबार एन्फा सीईओ इन्द्रमान तुलाधर, एन्फाका सहायक महासचिव अरुणमान जोक्की लगायतलाई बुझाएका हुन् ।

हाल सी डिभिजन लिग खेलिरहेको सुर्खेतको आरसी ३२ ले खालीबारी युवा क्लब तथा महावीर क्लबविरूद्धको खेलमा अर्कै क्लबमा आवद्ध खेलाडी खेलाएको ९ क्लबको आरोप छ ।

ध्यानाकर्षण गराउनेमा महावीर क्लब, खालीबारी युवा फुटबल क्लब, स्वयम्भू क्लब, सामाजिक युवा क्लब, झम्सीखेल युथ क्लब, मनोहरा एकीकृत युवा क्लब, पुल्चोक स्पोर्टस् क्लब, गोलबजार स्पोर्टस् क्लब र समाज कल्याण खेलकुद केन्द्र छन् ।

एन्फाको खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न सक्ने नियम भएको क्लबहरूले जनाएका छन् । तर आरसी ३२ ले बी डिभिजन क्लब झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगरलाई खेलाएको भन्दै कारबाहीको माग समेत गरेका छन् ।

चैत २२ गते खालीबारीविरुद्धको खेलमा मगरलाई खेलाएपछि एन्फालाई पत्राचार गरेको र एन्फाबाट कारबाहीको प्रक्रियामा रहेको भन्ने मौखिक जानकारी प्राप्त भएको क्लबहरूले बताएका छन् ।

त्यसपछि पनि आरसी ३२ ले वैशाख ४ मा महावीर क्लबसँगको खेलमा मगरलाई टिममा राखेको भन्दै क्लबहरूले नियमबमोजिम कारबाहीको माग गरेका छन् ।

मगरले वैशाख ४ मा झापा क्लबबाट रिलिज पत्र ल्याए पनि खेलाडी दर्ता ४८ घन्टाअघि नै हुनुपर्ने फिफाको नियम भएको पनि क्लबहरूको भनाइ छ ।

यस्तै ९ क्लबले चैत २५ गते हुने भनिएको बी डिभिजन लिग अहिलेसम्म नभएको आपत्ति जनाउँदै बी डिभिजन लिगको मिति घोषणा नभए सी डिभिजन लिग नै स्थगित गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै एन्फा अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।

सी डिभिजन लिगको सातौं चरणको समाप्तिसम्म बी डिभिजन लिगको मिति घोषणा गर्न क्लबहरूले माग गरेका छन् । बी डिभिजन लिग घोषणा नभए सी डिभिजन लिग बीचैमा स्थगित हुन सक्नेमा पनि उनीहरूले सचेत गराएका छन् ।

सी डिभिजन क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय