+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

शंकरदेव क्याम्पसमा नेविसंघ र स्ववियुबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १४:३७

१२ वैशाख, काठमाडौं । शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)बीच सामान्य झडप भएको छ ।

नेविसंघले क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाउन जानेक्रममा स्ववियु अध्यक्षले रोक्न खोजेपछि झडप भएको नेविसंघ क्याम्पस एकाइका अध्यक्ष सन्देश खाँडले जानकारी दिए ।

नेविसंघले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, लेखा प्रमुख सुद्धर्शन थापा, विद्यार्थी कल्याण प्रमुख गजेन्द्र गोहित र स्ववियु अध्यक्ष सुशान्त बस्नेतको मिलेमतोमा क्याम्पसमा आर्थिक अपचलन गरेको आरोप लगाउँदै आएको छ ।

नेविसंघ क्याम्पस एकाइका अध्यक्ष सन्देश खाँडले हुँदै नभएको बास्केटबल प्रतियोगिता नाममा रकम निकासा भएको बताए । उनको भनाइ अनुसार २०८० भदौ २० देखि २५ गतेसम्म बास्केटबल प्रतियोगिता भएको र उक्त प्रतियोगितामा लागेको खर्च भुक्तानी गरिपाऊँ भनी नेविसंघको लेटरप्याडबाट निवेदन पेस भएको छ ।

उक्त पत्रमा जम्मा खर्चमा चार लाख १७ हजार २४५ उल्लेख गरिएको छ । सोही निवेदन अनुसार बीबीएस दोस्रो वर्ष अध्ययनरत विद्यार्थीको खातामा रकम जम्मा भएको पाइएको नेविसंघको जिकिर छ ।

नेविसंघको लेटरप्याड प्रयोग भएपछि बुझ्ने क्रममा स्ववियु अध्यक्षको मिलेमतो देखिएको खाँडले बताए । स्ववियुका अध्यक्ष सुशान्त बस्नेत नेविसंघबाट निर्वाचित भएका हुन् । झडपमा परेर उनलाई सामान्य चोटपटक लागेको छ ।

अध्यक्ष खाँड भन्छन् ‘नेविसंघको जानकारी र कुनै संग्लनता विना आयोजना नै नगरिएको बास्केटबल कप भन्ने शीर्षक राखी संगठनको नाममा अमुक व्यक्तिलाई कृत्रिम संयोजक बनाएर फर्जी बिल भौचर प्रयोग गरी हाम्रो संगठनको लेटरप्याडलाई दुरुपयोग गरी केही व्यक्तिले आफ्नो स्वार्थपूर्ति गर्ने गरेको यस्ता वदनियतपूर्ण कार्यको विरोध गर्दै विज्ञप्ति बुझाउन जाँदा झडप भएको हो ।’

स्ववियु अध्यक्ष बस्नेतले क्याम्पस प्रमुखलाई भगाएर आफूहरूलाई रोक्न खोजेपछि झडप भएको बताए । उनले भने ‘हामीलाई बल प्रयोग गरेर रोक्न खोजेपछि घटना घटेको हो ।’

नेविसंघले विज्ञप्तिमा भनेको छ, ‘आयोजना नै नगरिएको बास्केबल कपको योजनाकार, त्यसलाई समर्थन र स्वीकृति दिने निकाय, संयोजक, र चेक बुझ्ने सम्पूर्ण व्यक्तिहरूलाई ७२ घण्टाभित्र कानूनी दायरामा ल्याउनको लागि नेविसंघ शंकरदेव क्याम्पस एकाइ जोडदार माग गर्दछ । यसलाई बेवास्ता गरिएको पाइएमा र कीर्तेहरूलाई कानूनी कठघरामा उपस्थित हुने वातावरण सिर्जना नहुने देखिएको अवस्थामा यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न र जिम्मेवारी लिन क्याम्पस प्रशासनलाई समेत सचेत गराउन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?