+
+

नेपाली टोलीमा थपिए चार जना, वेष्ट इण्डिज एविरुद्ध अद्भूत प्रदर्शन गरे विश्वकपमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते २१:२९

१४ वैशाख, काठमाडौं । नेपालले वेस्टइन्डिज एसँग पाँच म्याचको टी–२० सिरिज खेल्ने टोलीमा चार खेलाडी थपेको छ ।

सिरिजको पहिलो खेल भोलि शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । त्यसको अघिल्लो दिन तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपिएको हो ।

बिहीबार घोषित १६ सदस्य टोलीमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई मात्र थपिएको थियो । अघिल्लो महिना आयरल्यान्ड एविरुद्ध सिरिजमा राम्रो प्रदर्शन गरेका कमलसिंह ऐरी र युवा ब्याटर लोकेश बमलाई नसमेटेपछि नेपाल छनोटमा प्रश्न उठेको थियो ।

लोकेशले टी–२० खेलमा टेस्ट टोली आयरल्यान्ड ए विरुद्ध ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । उनी ओपनिङका साथै माथिल्लो क्रमका कुनैसुकै स्थानमा ब्याटिङ गर्न सक्ने क्षमता राख्छन् ।

अनि, नियमित टोलीमा रहेका दीपेन्द्रसिंह ऐरी बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन राम्रो छैन ।

२०२२ मा शल्यक्रियापछि नेपाली टोलीबाट बाहिर भएका कमलले पनि आयरल्याण्ड एविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । पहिलो टी–२० खेलमा कमलले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । दोस्रो र तेस्रो खेलमा कमलले १–१ विकेट लिए ।

पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ए लाई १५७ रनमा अल आउट गर्न कमलले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसमा ह्याट्रिक सामेल थियो । दोस्रो खेलमा कमलले १ विकेट लिएका थिए । कमलले पावर प्ले र डेथ ओभर दुबैमा राम्रो बलिङ गरेका थिए ।

नियमित टोलीमा रहेका नेपालका प्रमुख बलर करण केसी, सोमपाल कामी र अभिनाश बोहराको अपेक्षा अनुसार प्रदर्शन थिएन । त्यसले वेष्टइण्डिज एविरुद्ध कमलको सम्भावना थियो । तर आश्चर्यजनकमा कमल समेटिएका थिएनन् ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाई एसीसी प्रिमियर कपपछि ओमानबाटै भारत गएका थिए । क्रिकेट संघका सचिव पारस खड्का ब्यक्तिगत अमेरिका भ्रमणमा गएका थिए । पारस र मोन्टी बिहीबार नेपाल आइपुगेपछि खेलाडी थप्ने निर्णय भएको हो।

खेलको अघिल्लो दिन ट्रफी सार्वजनिक कार्यक्रममा क्यान सचिव खड्काले टोलीमा चार खेलाडी थपेको जानकारी गराए ।

अब २० जनाबाट आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा गएर टी–२० विश्वकप खेल्ने नेपाली टोलीको टुंगो लाग्नेछ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मलाई तोकेको छ । त्यो डेडलाइन अघि नेपालले वेष्टइण्डिज एविरुद्ध शनिबार र आइतबार दुई खेल खेल्नेछ । त्यसैले सुरुवाती दुई खेलमा प्रमुख खेलाडीलाई विश्राम दिएर अरुलाई अवसर दिने सम्भावना छ ।

र, त्यो अवसरलाई सदुपयोग गर्दै सानदार प्रदर्शन गर्न सके विश्वकप टोलीमा राख्ने सम्भावना रहन्छ । ‘यो दुई खेलमा अद्भूत प्रदर्शन भयो भने टोलीमा कतै ल्याउन सकिन्छ भनेर र अवसर दिएका हौं’ नेपाली टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले भने, ‘विश्वकप टोलीमा ८० प्रतिशत सम्भावना पहिलाको खेलाडीको नै छ ।’

सबै उत्साहित : कप्तान

टी-२० विश्वकप अगाडि वेस्टइन्डिज एसँग घरेलु मैदानमा खेल्न पाउँदा सबै जना उत्साहित रहेको कप्तान रोहितकुमार पौडेलले बताएका छन् ।

एसीसी प्रिमियर कपमा सेमिफाइनलमा युएईसँग ६ विकेट हारेर एसिया कपको अवसर गुमाएको थियो । तेस्रो स्थानको खेलमा हङकङसँग ४ विकेटले पराजित हुँदै इमर्जिङ टिम्स एसिया कप गुमाएको थियो ।

त्यसपछि खेलाडीको आत्माविश्वास कस्तो छ भन्ने प्रश्नमा कप्तान रोहित पौडेलले भने, ‘त्यो चिन्तालाई लिएर बस्नु भन्दा वेस्टइन्डिज एसँग खेल्न सबैजना एकदमै उत्साहित छौं ।’

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईले भविष्यमा होम एण्ड अवे सिरिज हुने आश गरेको बताए । मोन्टी नेपाल आउनुअघि २०१९ देखी २०२२ सम्म वेस्टइन्डिजको ब्याटिङ सल्लाहकार थिए ।

वेस्टइन्डिज ए का कप्तान रोस्टन चेसले नेपालसँगको सिरिज विश्वकप तयारी भएको बताउँछन् । ‘हरेक खेलाडीलाई विश्वकपमा स्थान बनाउने अवसर हो’ उनले भने, ‘मात्रै दुई खेलाडीको स्थान मात्रै खाली छ ।’

वेस्टइन्डिजका मुख्य प्रशिक्षक फ्लोयड रिफरले भने एसोसिएट क्रिकेट विकासमा क्रिकेट वेस्टइन्डिज सहयोग गर्न चाहेको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?