
२७ वैशाख, काठमाडौं । तत्कालीन नेरुडे र मिर्मिरे लघुवित्त एकआपसमा गाभिएपछि बनेको नेरुडे मिर्मिरे लघुवित्तले चालु आवको तेस्रो त्रैमासमा १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा ६ करोड ५७ लाख रुपैयाँ थियो ।
मर्जपछि एकीकृत वित्तीय विवरण आएकाले नाफामा उच्च वृद्धि देखिएको हो । नाफामा उच्च वृद्धि देखिए पनि कम्पनीको समयमै नउठेको साँवा तथा ब्याज (निष्क्रिय कर्जा) भने बढेको छ । कुल कर्जामा यस्तो कर्जाको अंश पहिले ९.७८ प्रतिशत रहेकोमा अहिले १२.६९ प्रतिशत पुगेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी उच्च दरले बढेको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी २४ करोड ४६ लाख रुपैयाँ थियो । लोन लस प्रोभिजनवापत कम्पनीले १५ करोड ७० लाख रुपैयाँ छुट्याएको छ ।
कम्पनीको आधार दर १४.३५ प्रतिशत छ । चैत मसान्तसम्म कम्पनीको रिटेन्ड अन अर्निङ (वितरणयोग्य नाफा) १२ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ५८ पैसा छ ।
प्रतिक्रिया 4