+
+
Shares

बैंकहरूले जेठका लागि घटाए ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १०:२८

३१ वैशाख, काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ ।

वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ।

सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका छन् ।

त्यस्तै ९ बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका छन् । ३ बैंक ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका छन् ।

जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत तोकेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएसँगै बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.८ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् । त्यस्तै रेमिट्यान्स मुद्दतीमा खातामा भने बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । बैंकहरुले गत साउनदेखि भद्र सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती खातामा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)

बैंक  वैशाख जेठ
एभरेस्ट ७ ६.५
लक्ष्मी सनराइज ७ ७
नबिल ७.२५ ६.७५
नेपाल ६.७५ ६.७५
इन्भेस्टमेन्ट मेगा ७ ७
प्रभु ७ ७.५
सानिमा ७.१ ६.९
सिद्धार्थ ७.२५ ७
स्टान्डर्ड चार्टर्ड ७ ७
एनएमबी ७.९७ ७.८
एनआईसी एसिया ७.७५ ७.८
हिमालयन ७.५ ७.५
ग्लोबल आईएमई ७ ७.५
कुमारी ७.२६ ७.२६
माछापुच्छ्रे ७.२५ ७.२५
सिटिजन्स बैंक ७.५ ७
प्राइम ७.१ ७
राष्ट्रिय वाणिज्य ६.५५ ६.४
एसबीआई ६.५३ ६.३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?