 
																			२६ असार, काठमाडौं । कतारमा निर्माण क्षेत्रमा मजदुरी गर्ने उदयपुरका हरि रावल १३ साउन २०७८ को बिहान अबेरसम्म नउठेपछि सँगै काम गर्ने नेपालीहरु उठाउन जाँदा अचेत अवस्थामा फेला परे । तत्कालै अस्पताल पुर्याउदा उनलाई चिकित्सकले मृत घोषित गरे । पुस २०७७ मा कतार गएका उनको ७ महिनापछि नै हृदयघात (हार्ट अट्याक) का कारण मृत्यु भयो ।
०००
कञ्चनपुरका रत्नबहादुर शाही फागुन ०७९ मा साउदी अरेबियाको एक कम्पनीमा सुरक्षा गार्डको काम गर्दै थिए । ड्युटी सकिन केही घण्टामात्र बाँकी हुँदा बिहान ४ बजे उनी एक्कासी ढले । बिहान उज्यालो भइनसकेकाले कम्पनीले ढिलोमात्र उनी ढलेको थाहा पायो।
पछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत्युको कारणमा मृत्युको कारण मुटुको चाल रोकिनु भनी खुलाए । चिकित्सकीय भाषामा कार्डियाक अरेष्टका कारण उनको मृत्यु भएको थियो ।
०००
साउदी अरेबियामा सरसफाइको काम गर्ने सल्यान त्रिवेणी गाउँपालिकाका ३६ वर्षका जीवन रोकाय २२ जेठ २०८० मा ड्युटीमै थिए । ड्युटीमा खटिएको करिब ५ घण्टापछि उनी सडकमै ढले । कम्पनीले अस्पताल पुर्याउँदा पुर्याउँदै प्राण गयो । मृतक परिवारका अनुसार मृटुको धड्कनको गडबडी अर्थात कार्डियाक अरेष्टका कारण उनको ज्यान गएको हो ।
०००
नेपाल सरकारको तथ्यांक अनुसार रोजगारीका लागि विदेश गएका नेपालीमध्ये प्रत्येक दिन औसतमा ४ जनाको मृत्यु हुन्छ । परदेशमा नेपाली श्रमिकको मृत्यु हुने थुप्रै कारणमध्ये हृदयघात (हार्ट अट्याक) र कार्डियाक अरेष्ट प्रमुख हुन् ।
मुटुमा रगत प्रवाह रोकिएर मुटुले काम नगरेमा हार्ट अट्याक भनिन्छ भने मुटुले एक्कासी काम गर्न छाडेमा कार्डियाक अरेस्ट भनिन्छ । वैदेशिक रोजगार बोर्डका अनुसार पछिललो पाँच वर्षमा पाँच हजार ९७७ श्रमिकको विदेशमा मृत्यु भएको छ । यीमध्ये ६०१ जनाको मृत्यु हृदयघातका कारण भएका छन् ।
बोर्डका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ११९, ०७७/०७८ मा १०४, ०७८/७९ मा ९७, ०७९/८० मा १६४ र ०८०/८१ को असार २५ सम्म ११४ जनाले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी, निर्देशक टीकाराम ढकाल बिदेशमा नेपाली श्रमिकको मृत्युको प्रमुख कारण हार्ट हट्याक र कार्डियाक अरेस्ट बनिरहेको बताउँछन् । ‘हरेक वर्ष हृदयघातले परदेशमा श्रमिकको जीवन लिइरहेको छ’ उनी भन्छन्, ‘अहिले यो डर लाग्दो रुपमा देखिरहेको छ ।’
उनका अनुसार सबैभन्दा धेरै हृदयघातको घटना युएई, साउदी अरेबिया, कतार, मलेसिया जस्ता देशहरुका धेरै छन् ।
मुटु रोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पा कठिनपूर्ण श्रम, तनाव, प्रतिकुल मौसम र खराब जीवनशैलीका कारण बिदेशमा कार्यरत नेपाली श्रमिकमा मुटुसम्बन्धी समस्या बढेको हुन सक्ने बताउँछन् ।
‘त्यसमा पनि कति श्रमिक धुमपान, मध्यपान सेवनजस्ता खराब खानपान र अस्वस्थ जीवनशैली अंगाल्छन्, त्यसको असर मुटुमा पर्न जान्छ’, उनले भने ।
लामो समय सुत्न नपाउने र तनावबाट गुज्रिरहेकाहरुमा मुटुसम्बन्धी समस्या बढी हुने डा. शेर्पा बताउँछन् । ‘कठोर श्रम र परिवारदेखि टाढा हुनुपर्ने अवस्थाका कारण श्रमिकहरु लामो समयदेखि तनावपूर्ण जीवन बाँचिरहेका हुन्छन्’, उनले भने, ‘फलतः यसले हृदयघात र कार्डियाक अरेष्ट निम्त्याउँछ र ज्यानै लिन सक्छ ।’
हुँदैन स्वास्थ्य परीक्षण
वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकहरुले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ । अर्थात् स्वस्थ मान्छेलाई मात्र बैदेशिक रोजगारीमा पठाउनुपर्छ ।
सरकारले वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परिक्षणको जिम्मेवारी भने निजी कम्पनीहरुलाई दिएको छ । तर स्वास्थ्य परीक्षण प्रभावकारी नहुँदा श्रमिकको जीवनसँग खेलवाड भइरहेको श्रम विज्ञहरु बताउँछन् ।
स्वास्थ्य परीक्षण गर्ने कम्पनीहरुले प्रभावकारी रुपमा काम नगरेको श्रम विज्ञ रामेश्वर नेपाल बताउँछन् । कतिसम्म भने ‘कतै स्वास्थ्य परीक्षण नै नगरी पनि स्वस्थ भएको मेडिकल रिपोर्ट श्रमिकलाई थमाइन्छ’, उनी भन्छन्, ‘कतै चाहिँ राम्रोसँग परीक्षण नै गरिँदैन ।’ यसको मूल्य नेपाली श्रमिकले बिदेशमा काम गरेका बेला चुकाउनुपरेको उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन सके परदेशमा हुने श्रमिकको मृत्युदर कम गर्न सकिने उनी बताउँछन् । ‘हामीले स्वस्थ श्रमिक पठाउन सक्यौं भने मात्रै पनि यो मृत्युदर घटाउन सकिन्छ’, उनले भने ।
वैदेशिक रोजगार बोर्डले परदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई ७ लाख रुपैयाँ राहत दिने गरेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4