लेखको सुरुवात तीन वर्षअघि स्नातक तह पहिलो सेमेस्टर पढ्दै गरेकी १८ वर्षीया एक विद्यार्थीले सोधेको प्रश्नबाट गर्न चाहन्छु । उनी बिहान-बेलुका दुई घण्टा केही काम गरेर आफ्नो पकेट खर्च जुटाउन र क्याम्पसको शुल्क आफैं जुटाउन चाहन्थिन् । यसैले उनले दिनमा दुई-चार घण्टाको जागिर खोजिदिनु भनेर थुप्रै सिनियरहरूलाई भनेकी थिइन् ।
आमासँग पकेट खर्च माग्न उनी अप्ठेरो मान्थिन् सायद । बुवाको राम्रो कमाइ छैन भन्थिन् । सुखी भविष्यको कल्पनामा काठमाडौं छिरेका बा-आमा दुवैको पढाइ त थियो तर जागिर राम्रो थिएन । बा-आमा दुवैले काम गरेर पनि घरखर्च, डेराभाडा र दुई छोराछोरीको पढाइको शुल्क जुटाउन धौ-धौ थियो ।
१२ कक्षा पास गरेर स्नातक पढ्दै गरेका युवाले काठमाडौंमा हरेक दिन दुईचार घण्टा मात्र गर्न मिल्ने काम कहाँ पाइएला भनेर उनले बुझ्ने कोसिस गरिन् । उनले शनिवार मात्रै पाइने कामबारे पनि बुझिरहेकी थिइन् । यसरी बुझ्दै जाँदा उनले के महसुस गरिन् भने नेपालमा नै यसरी काम खोज्दा, सानोतिनो व्यवसायबारे बताइमाग्दा सिनियरहरूले उनको नेपालमा बस्ने सोचको अवहेलना गरिरहेका छन् । ‘किनभने, मैले जति पनि सल्लाह सुझाव पाएँ ती कुनै पनि उत्साह बढाउने भाषामा थिएनन्, सबैले भाषामा होच्याएको जस्तो भाव म पाउँथें’, उनले भनिन् ।
यस क्रममा उनले भेटेका कामका विकल्पहरू थिए- स्कुले बच्चालाई ट्युसन पढाउने, सहयोगीको रूपमा गरिने घरेलु काम । अर्को थियो- लाइसेन्स छ भने स्कुटर वा बाइक लिएर पठाओ चलाउने ।
केही दिन क्याम्पस नआएपछि मैले क्याम्पस किन नआएकी भनेर उनलाई फोन गरें । उनले सेमेस्टरको बीबीए पढ्न छोडेर वार्षिक परिक्षा प्रणालीको बीबीएस भर्ना गरिछन् । उनले एउटा कार्यालयमा रिसेप्सनिस्टको काम गर्न थालिछन्, मासिक तलब १५ हजारमा ।
उनले काम खोजिदिन भनेर जति मानिसलाई भनेकी थिइन् तीमध्ये एकदुई अपवाद बाहेक सबैजसोले उनलाई नेपाल छोडेर विदेश जान प्रेरित गर्ने कोसिस गरेछन् । कतिले ‘यस्तो राम्रो पढाइ भएको मान्छे किन नेपाल बस्न खोजेकी’ भनेछन् । कति आफन्तले त ‘बरु पैसा म हालिदिउँला आइएल्स गर, विदेश जाऊ, कमाएपछि तिर्नु’ भनेछन् । केहीले विदेश जाने प्रक्रिया र नेपालको खत्तम राजनीतिक
अवस्थाबारे लामा-लामा लेक्चर दिएछन् । उनलाई यसरी लेक्चर दिनेमा शिक्षक, साना व्यवसायी र स्थानीय तहका नेताहरू समेत थिए भनेर उनले मलाई बताएकी थिइन् ।
सबै सुनाएर उनले आफूलाई बा-आमालाई छोडेर जान मन नभएको र भाइलाई प्लस टुसम्म आफैंले गाइड गर्नुपर्ने भन्दै सोधेकी थिइन्, ‘नेपालमा केही गर्नै सकिन्नँ ?’
उनलाई मानिसहरूले दिएका सल्लाह सुनिसकेपछि उनले सोधेको प्रश्नमा म लगभग अनुत्तरित थिएँ । आजका मितिसम्म पनि मसँग यसको कुनै उत्तर छैन ।
यस्ता प्रश्नहरूसँग दिनहुँ जस्तो विश्वविद्यालयमा पढाइरहेका म जस्ता शिक्षकहरू ठोकिइरहनुपर्छ । यस्ता प्रश्नसँग राजनीतिक र सामाजिक पहुँचको सवाल जोडिने गरेको छ । पछिल्लो समय ‘राजनीतिक सम्बन्ध भएको वा राजनीतिक सम्बन्ध नभए पनि सामाजिक सम्बन्ध बलियो भएका मानिस मात्रै नेपालमा टिक्छन्’ भन्ने भाष्य स्थापित हुँदै गएको छ । कैयौं सन्दर्भमा राम्रै काम गरिरहेका मानिसहरूले पनि ‘कि घरको कोही सदस्य कुनै राजनीतिक दलको नेताको वरपरको मानिस हुनुपर्यो कि आफूलाई पर्दा दाम, भेटी वा घुस खुवाउन कुस्त पैसा चाहियो’ भन्ने बनिबनाउ भनाइको वकालत गरिरहेका हुन्छन् ।
यस्तो वकालत गर्नेहरू आफैं कुनै निकायको नीति-निर्माण तहमा काम गरिरहेका वा त्यसमा प्रभाव पार्न सक्ने हैसियतका नै धेरै हुन्छन् । यस्तो विचार वा बहसमा सहमत हुने कि नहुने भन्ने दोधारको अवस्था प्रायः आइरहन्छ । किनभने, समाजका प्रबुद्ध व्यक्तिहरूका भनाइ/लेखाइले त्यस प्रकारका भनाइलाई मलजल गरिरहेको छ ।
स-साना व्यवसाय गरेर, आफ्नै बुतामा यहाँ केही हासिल गरेर ‘टिकिरहेका’हरूका कुरा सुन्ने हो भने ‘नेपालमा केही गर्न सकिन्नँ’ भन्ने मतमा सहमत हुन आवश्यक छैन भन्ने लाग्छ ।
व्यापार/व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूका भनाइमा सुरुवाती तहमा केही समय काम सिक्ने अनि छोड्नेको संख्या अत्यधिक छ । ‘केही नजान्नेलाई महिनौं लगाएर काम सिकाइन्छ । जान्न थालेपछि एउटा विश्वासको वातावरण पनि बन्छ तर काम सिकिसकेपछि काम छोडेर हिंड्छन् । फेरि नयाँ मान्छे खोजेर सुरुदेखि त्यही कुरा सिकाउनुपर्छ’, ठमेलका एक व्यवसायीले भने ।
योभन्दा ठूलो समस्या चाहिं धेरैले महसुस नै नगर्ने किसिमको छ । त्यो हो-भनसुनका भरमा जागिरमा आएका कामदार/कर्मचारीले सहकर्मीहरूलाई होच्याउने, आफ्नो पहुँचबारे बढाइँचढाइ (दुरुपयोग) गर्ने, आफूलाई दिइएको जिम्मेवारीका कामभन्दा बढी अन्य कुरामा चासो राख्ने, आफ्नो क्षमता विकास गर्नेभन्दा पनि सरकार र व्यवस्थालाई गाली गरेर बस्ने समस्या ।
यस्ता मानिसबाट कार्य क्षेत्रमा काम गर्ने वातावरण बिग्रिने गरेको सञ्चालकहरूको अनुभव छ । भनसुन वा चिनजानबाट आउने कर्मचारीहरू कामभन्दा बढी भनसुन गरिदिने व्यक्तिप्रति उत्तरदायी हुने अनि गल्ती नै गरे पनि ‘मलाई कसले निकाल्न सक्छ र ?’ भन्ने गैरव्यावसायिक आत्मविश्वासका कारण कतिपय अवस्थामा पेशागत क्षेत्रप्रति नै नकारात्मक धारणा निर्माण भएको पाइन्छ । यो विषयमा नेपालमा खासै अनुसन्धान भएको पाइँदैन । तर, रोजगारदातासँग कुरा गर्दा यो पक्षले व्यवसायमा नकारात्मक असर परेको गुनासो सुनिन्छ ।
ठूलो संख्यामा युवा विदेशिइरहेको सन्दर्भमा ‘नेपालमा काम गर्ने वातावरण नै छैन’ भन्ने भाष्य सत्यको एउटा पाटो हो । तर, काम गर्ने क्षमता (जागिर वा व्यवसाय) व्यक्तिमा छ कि छैन, छ भने व्यक्तिले त्यो क्षमतालाई उपयोग गरेको छ कि छैन, आफ्नो कामलाई कत्तिको पेशागत प्रतिबद्धताका साथ गरिरहेको छ भन्ने सवाल पनि वातावरणसँग जोडिएर आउने गर्छन् । किनभने, नेपालमा एकातिर रोजगारीको अवसर छैन भने अर्कातिर व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक मानवीय पूँजीको संकट पनि गहिरिंदै गएको छ ।
ठूलो संख्यामा युवाहरू विदेशिंदा समाजमा विभिन्न मानवीय संकटहरू आउने क्रम बढ्दो छ । उदाहरणका लागि सबै सन्तान विदेशमा भएका प्रौढहरूको हेरचाहको सवाल नेपाली समाजमा तत्काल आइरहेको एक प्रकारको संकट हो । तर, व्यावसायिक हिसाबले हेर्ने हो भने यो नयाँ किसिमको व्यवसाय र रोजगारीको अवसर सृजना गर्न सक्ने क्षेत्र पनि हो । प्रौढहरूको हेरचाह विकसित देशहरूमा ठूलो व्यवसाय/रोजगारीको क्षेत्र रहँदै आएको छ ।
अर्को उदाहरण, युवा पलायनका कारण खेती हुन नसकेकाले बाँझो बन्न पुगेका खेतीयोग्य जमिनको लिन सकिन्छ । रोजगारीको खोजीमा युवाहरू टाढा जाँदा गुजारा खेती गर्ने मानिसहरू पनि वन्यजन्तुका कारण थप समस्यामा परेको सत्य हो । तर, त्यो बञ्जर बन्दै गइरहेको खेतीयोग्य जमिनलाई देश छोड्न नचाहने र कृषिमा रुचि भएका युवाको पहँुचमा कसरी पुर्याउन सकिन्छ भन्नेबारे कमै छलफल र बहस भएका छन् । हरेक संकटसँग अवसर पनि आइरहेको हुनसक्छ । यसको पहिचानमा ढिला हुँदै गइरहेको छ ।
त्यसैले नेपालमा केही गर्न सकिन्नँ भनेर दिने सतही जवाफ वा सल्लाहभन्दा नेपालमा कुन-कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ, कुन क्षेत्रमा सकिन्न भनेर विस्तृत र वस्तुगत अध्ययन हुन जरूरी छ । बनिरहेको श्रम ऐनको उचित कार्यान्वयन एवं व्यवसाय कर्जाको सहजता पनि आवश्यक छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4