+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सुदूरपश्चिमको मुख्यमन्त्रीका ४ आकांक्षीसँग देउवाले गरे छुट्टाछुट्टै भेट

अहिलेका संसदीय दलका नेता शाहले आफू मुख्यमन्त्रीमा दोहोरिने अडान छाडेका छैनन् । त्यही कारण देउवाले मुख्यमन्त्रीका अरु तीन जनालाई वचन दिन सकेका छैनन् । देउवाले अरु प्रदेश सभा सदस्यहरुको पनि कुरा सुनेर सल्लाह गरौंला अहिले जानुस् भन्दै फर्काएका छन् ।

जनक विष्ट जनक विष्ट
२०८१ साउन १७ गते १९:०४

१७ साउन, धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको मुख्यमन्त्रीको आकांक्षी चार नेतासँग छुट्टाछुट्टै भेट गरेका छन् । बिहीबार काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवास पुगेका उनीहरुसँग देउवाले एक्लाएक्लै कुराकानी गरेका हुन् ।

शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा विश्वासको लिँदैछन् । सोडारीले विश्वासको मत नपाएर पदमुक्त हुने भन्दै कांग्रेसभित्र मुख्यमन्त्री र मन्त्री बन्न दौडधुप तीव्र बनेको हो । कांग्रेसका १८ जना प्रदेश सभा सदस्यमध्ये जुनाकुमारी दानी, मधुदेवी भारती र डम्मरी महराबाहेक १५ जना देउवालाई भेट्न काठमाडौँ पुगेका छन् ।

उनीहरुमध्ये पूर्वमुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र देउवाका भतिजा प्रकाशबहादुर देउवा मुख्यमन्त्रीको दौडमा छन् ।

अन्य प्रदेश सभा सदस्यहरु भने मन्त्रीका लागि लबिङ गर्न काठमाडौं गएका हुन् । मुख्यमन्त्रीमा आकांक्षा राखेका चार जनासँग छलफल गरे पनि देउवाले कसैलाई पनि वचन नदिएको स्रोतले जनाएको छ । ‘मुख्यमन्त्री कांग्रेसको भागमा परिसकेपछि चार जना आकांक्षीले शेरबहादुर दाइलाई भेटेर आफ्ना कुरा राख्ने स्वभाविक भइहाल्यो’, सभापति देउवा निकट स्रोतले भन्यो, ‘तर दाइले अहिलेसम्म कसैलाई वचन दिनुभएको छैन ।’

देउवाले अरु प्रदेश सभा सदस्यहरुको पनि कुरा सुनेर सल्लाह गरौंला अहिले जानुस् भन्दै फर्काएका छन् । ‘शेरबहादुर दाइले मेरो कुरा मज्जाले सुन्नुभयो । यो विषयमा सल्लाह गरौंला जानुस् भन्दै फर्काउनुभयो’, एक प्रदेश सभा सदस्यले भने ।

अहिलेका संसदीय दलका नेता शाहले आफू मुख्यमन्त्रीमा दोहोरिने अडान छाडेका छैनन् । त्यही कारण देउवाले मुख्यमन्त्रीका अरु तीन जनालाई वचन दिन सकेका छैनन् ।

देउवाको चाहना भतिज प्रकाशबहादुर देउवालाई मुख्यमन्त्री बनाउने रहेको तर आलोचनामा परिन्छ कि भन्ने भय देखिएको छ । ‘संसदीय दलको नेताबाट कमलले पनि राजीनामा दिन मानेका छैनन् । बहादुर पनि पार्टीको पुरानो मान्छे हुन् । प्रकाशले अहिले नै किन हतार गर्नुपर्‍यो भनिरहनुभएको छ’, एक नेताले भने, ‘तर भित्री चाहना भतिजालाई नै अघि सार्ने देखिन्छ । त्यो गर्दा पार्टीभित्र र बाहिर परिवारवादको आरोप खेप्नुपर्छ भनेर सचेत देखिनुहुन्छ ।’

केही प्रदेश सभा सदस्यहरुसँग देउवाले शाहले राजीनामा नगरेको अवस्थामा प्रदेशसभा संसदीय दलको चुनाव गराउँदा के हुन्छ भनेर सुझाव समेत लिएका छन् ।

संसदीय दलका नेता शाहले भने पार्टीको निर्देशन बमोजिम अघि बढ्ने बताएका छन् । ‘बाहिर आएका सबै कुरा निराधार हुन् । प्रदेशको मुख्यमन्त्री को बन्ने लगायतका विषयमा केही पनि भएको छैन’, शाहले अनलाइनखबरसँग भने, ‘पार्टी केन्द्रले दिने निर्देशनका आधार अघि बढ्छौं ।’ शाहले शुक्रबार दिउँसो २ बजे बोलाइएको प्रदेश संसदीय दलको बैठकलेसरकारका सन्दर्भमा निर्णय गर्ने बताए ।

बिहीबार दिउँसो बुढानीलकण्ठ पुगेका शाहलाई पनि देउवाले सल्लाह गरौंला भनेर फर्काएका थिए । मुख्यमन्त्रीका अर्का आकांक्षी बहादुर सिंह थापाले पार्टी सभापति देउवालाई भेटेर आफ्ना कुरा राखेको बताए ।

‘शेरबहादुर दाइलाई भेटेर मैले पनि आफ्ना कुरा राखेको छु । उहाँले केही भएको छैन, सल्लाह गरौँला भन्नुभएको छ’, थापाले अनलाइनखबरसँग भने, ‘पार्टी राजनीतिमा प्राप्त अनुभवलाई प्रदेशको विकासमा खर्चिन पाए हुन्थ्यो भन्ने व्यक्तिगत चाहना छ । अब पार्टीले कस्तो निर्णय गर्छ हेरौं ।’

देउवालाई भेटेका मुख्यमन्त्रीका आकांक्षी दिवानसिंह विष्टले पनि पार्टी सभापतिले कुनै निर्णय नदिएको बताए ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?