 
																						१८ साउन, सुर्खेत । नेपाली कांग्रेसबाट कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नियुक्ति र शपथ रोकिएको छ ।
कांग्रेसले शुक्रबार बिहान ११ बजे नै मुख्यमन्त्री यामलाल कँडेललाई सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइसकेको थियो ।
आफूहरूले बिहानै सरकारमा सहभागी हुने सांसदहरूको नामावली बुझाए पनि मुख्यमन्त्रीले शपथ कार्यक्रम अगाडि नबढाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले बताए ।
‘शपथ ग्रहण आजै होस भनेर हामीले बिहानै मुख्यमन्त्रीज्यूलाई नामावली बुझाएका हौँ,’ प्रमुख सचेतक विष्टले अनलाइनखबरसँग भने, ‘शपथ रोकिएपछि मैले उहाँलाई सोधेको थिएँ, केही छलफल गर्नुपर्ने भएकाले पर्सि हुने जवाफ दिनुभयो ।’
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाको नाम दिएको थियो ।
मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय आफूसँग राख्न खोज्दा मन्त्रीहरूको नियुक्ति र शपथ रोकिएको स्रोतको दाबी छ । केही दिन अगाडि काठमाडौंमा कांग्रेस नेता जीवन शाहीलाई भेटेका मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय एमालेलाई दिने गरी छलफल चलाउन प्रस्ताव गरेका थिए ।
तर नेता शाहीले भने तत्कालका लागि त्यो सम्भव नभएको जवाफ कँडेललाई दिएको स्रोतको भनाइ छ । मुख्यमन्त्री कँडेलले कुनै मन्त्रालयमा कामको जिम्मेवारी धेरै भएको र कुनैमा निकै कम भएको भन्दै कम जिम्मेवारी भएका मन्त्रालयलाई पनि जिम्मेवारी थप्ने गरी मन्त्रालय भित्रको पुनर्संरचना गर्नुपर्ने शाहीसँग दोस्रो प्रस्ताव पनि राखेका थिए ।
तर नेता शाहीले तत्कालका लागि माओवादीले छोडेका ४ मन्त्रालय सहित कांग्रेस सरकारमा जाने र पुर्नसंरचनाको विषयमा पछि छलफल गर्न सकिने जवाफ दिएको कांग्रेस नेताहरू बताउँछन् । तर मुख्यमन्त्री कँडेलले सोही विषयलाई लिएर मन्त्रीहरूको शपथ रोकेको स्रोतको दाबी छ ।
यता मुख्यमन्त्रीको सचिवालयले भने समय अभावका कारण मन्त्रीको शपथ ग्रहण रोकिएको बताएको छ । प्रदेश प्रमुख पनि आजै आएको र केही आन्तरिक तयारी समेत नपुगेकाले शपथ रोकिएको बताइएको छ ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले भने आफूहरू ५ बजेसम्म कुरे पनि मुख्यमन्त्रीको कार्यालयबाट कुनै पत्र नआएको बताए ।
‘मन्त्रीज्यूहरूको शपथ आजै हुन्छ भन्ने हल्ला सुनेर हामी पनि ५ बजेसम्म कार्यालयमा कुरेर बस्यौँ’ थानीले अनलाइनखबरसँग भने, ‘तर आधिकारिक पत्र नआएपछि घरतिर लाग्यौँ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4