२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् ।
सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले आइतबार निर्वाचन क्षेत्रमा वर्षाका कारण भएको क्षतिको अवलोकन गर्न जाँदा साँझपख केही युवाले बाटो छेकेर दुर्व्यवहार गरेको बताएकी हुन् ।
साँझपख कागेश्वरी मनोहरा नगरपालिका–६ मनकामना टोलमा पुगेर फर्किँदा १५/२० जना युवाले आफूलाई घेरेर चर्को स्वरमा कराएको र फोहोर शब्दहरु बोलेको भन्दै यसले आफूलाई सुरक्षा चुनौती भएको बताइन् ।
सांसद गौतमका अनुसार मूलपानी क्रिकेट रंगशालाको विपरीत तर्फको डाँडामा एउटा मन्दिर छ । मन्दिर नजिकैको घरमा एउटा चियापसल छ । त्यहाँबाट केही अगाडि गएपछि मात्र बस्ती छ ।
त्यही ठाउँबाट जाने क्रममा आफूलाई केही स्थानीयले पहिरो देखाउन लगेको र पहिरो हेरेर फर्केपछि चियापसलमा कुरेर बसेका युवाहरुले दुर्व्यवहार गरेको सांसद गौतमको भनाइ छ ।
‘फर्किएर आउँदा म र मेरो स्वकीय सचिव मात्रै थियौं । त्यहाँ १५/२० जना युवा साथीहरु जम्मा भइसक्नुभएको थियो र ती साथीहरु सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरु कोही गाँजाको नसामा लठ्ठ हुनुहुन्थ्यो । कोही रक्सीले मात्तिएको त कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो’, सांसद गौतमले भनिन् ।
उनले अगाडि भनिन्, ‘तपाईंहरु बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने भनेर एकाएक घेरेर प्रश्न गर्न थाल्नुभयो । चक्रब्युह जस्तो रचियो, उहाँहरुले चर्को, चर्को स्वरमा तथानाम मुख छाडेर फोहोरी शब्दहरु प्रयोग गरेर मलाई घेर्नेक्रम सुरु भयो ।’
त्यसबेला आफूले आफ्नो कुरा नम्र शैलीमा राख्न अनुरोध गर्दा ‘तँ को होस्, तैँले निर्वाचन क्षेत्रभित्र के गरिस् ?’ जस्ता प्रश्न गरिएको सांसद गौतमले बताइन् ।
त्यसक्रममा आफूलाई पार्टीगत आक्षेपहरु समेत लगाइएको उनले बताइन् । सडकमा आफूलाई सुरक्षा चुनौती महसुस भएपछि चिया पसलको आँगनमा उक्लिएको र त्यसक्रममा कसैले भिडियो लिएको उनले बताइन् ।
आफूले नम्र शैलीमा बोल्दा समेत ती युवाहरु चर्किएको उल्लेख गर्दै उनले थनिप्, ‘एक हिसाबले मलाई दुर्व्यवहार नै गर्ने शैलीले उहाँहरु त्यहाँ जम्मा हुनुभएको थियो ।’
उक्त घटनाको आफ्ना स्वकीय सचिवले महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपीलाई जानकारी गराएको गौतमले बताइन् । राति आफूलाई दुर्व्यवहार गर्नेमध्येकै एक युवकले सामाजिक सञ्जालमा त्यस घटनाको भिडियो अपलोड गरेको र ती व्यक्ति राष्ट्रिय दलको युवा संगठनको सदस्य रहेको खुलेको उनले बताइन् । सांसद गौतमले उक्त दलको नाम भने लिइनन् ।
‘उहाँहरुले अभद्र शैलीले, विवादित पार्ने हिसाबले बाटो ढुकेर, चौतारामा कुरेर छोरी मान्छेहरुलाई तर्साउने अभ्यास के यो अमर्यादित भएन ? के यो जंगली प्रकारको भएन ? यस्तो प्रकारको, यो हर्कतको जिम्मा त्यो राष्ट्रिय दलले लिने कि नलिने ? सरकारले यो सुरक्षा चुनौतीको बारेमा संवेदनशील भएर सोच्ने कि नसोच्ने ?’ उनले प्रश्न गरिन् ।
आफू निर्वाचन क्षेत्र भ्रमण गर्दा पनि डराउनुपर्ने अवस्था आएको उनले बताइन् । ‘अब म मेरो निर्वाचन क्षेत्रमा जाँदै गर्दा कहाँ कहाँ चौतारो छ, कहाँ खाली स्थान छ भनेर डराउँदै हिड्नुपर्ने हो ?’ उनले प्रश्न गरिन् ।
यस्ता विषयमा राजनीतिक दलहरुले आफ्ना पार्टीका कार्यकर्तालाई खबरदारी गर्नुपर्ने, सरकारले सुरक्षा निकायलाई खबरदारी गरेर शान्ति सुव्यवस्था कायम राख्नुपर्ने उनको माग छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4