काठमाडौं । नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ रिलिज भएको छ । पुनः सम्पादन गर्दै फिल्मलाई स्ट्रिमिङ गरिएको जनाइएको छ ।
हलमा रिलिज भइसकेको यो फिल्मलाई कबड्डी र जारी जस्ता ब्लकबस्टर फिल्मको निर्माता कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको हो । दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ र विजय बरालको शीर्ष भूमिका छ ।
कथ्य शैलीलाई पुनः सम्पादनमार्फत परिवर्तन गर्दै ओटीटीमा रिलिज गरिएको र यसले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा छ । हलमा रिलिज भएको छोटो समयमै ओटीटी प्लाटफर्ममा फिल्म आउन लागेकाले दर्शक आकर्षित हुने अपेक्षा ओटीटी सञ्चालकको छ ।
निर्देशक गुरुङले हलमा रिलिज हुँदा दर्शकले सुस्त गतिको प्रतिक्रिया दिएकाले उक्त सुझावको आधारमा पुनः सम्पादन गरिएको बताए । उनले भने, ‘विशेषगरी विदेशमा बस्नेले राम्रोसँग हेर्न नपाएको भन्ने गुनासो गरेपछि डिजिटल रिलिज गरेका हौं ।’
‘सिनेमाघरमा ‘कबड्डी ४’ लाई राम्रो संख्यामा हेरिएको थियो, यो चलचित्रको पनि अपेक्षा छ,’ उनले भने । ‘सिनेमाघर’लाई एन्ड्रोइड र आईओएसमा मात्र नभएर स्मार्ट टिभीका प्रयोगकर्ताले पनि हेर्न पाउने जनाइएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4