५ भदौ, काठमाडौं । अध्यक्ष प्रचण्डविरुद्ध लिखित फरक मत पेश गरेका माओवादी नेता जनार्दन शर्माविरुद्ध पार्टीको प्रदेशस्तरीय बैठकमा चर्को आलोचना सुरु भएको छ ।
प्रचण्डको कार्यशैलीविरुद्ध फरक मत राखेका शर्मालाई पार्टी फुटाउन खोजेको अभियोग स्थायी समितिमै लगाइएको थियो । प्रदेशस्तरीय बैठकमा प्रचण्ड पक्षीय नेताहरुले शर्मामाथि निर्मम प्रहार गरेर नेतृत्वमाथि प्रश्न गर्दा असहयोग हुने बताएका छन् ।
बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डेढ घण्टा लामो सम्बोधनबाट सुरु भयो ।
बिहीबारसम्म चल्ने प्रदेश परामर्श बैठकमा बागमती प्रदेश अन्तर्गतका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरू सहभागी छन् ।
अध्यक्ष प्रचण्डले विचार, राजनीति, कार्यदिशा सही भए पनि संगठनमा समस्या रहेको उल्लेख गर्दै आफूलाई सहयोग गर्न आह्वान गरे । हालसालै सम्पन्न स्थायी समितिको बैठकपछि जारी गरिएको सर्कुलरमा केही त्रुटि रहेको स्वीकार्दै त्यसलाई सच्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले उपमहासचिव जनार्दन शर्माको आलोचना गरे । शर्माको दस्तावेजलाई ‘कांग्रेस-एमाले लगायत बाहिरका शक्तिबाट निर्देशित’ गतिविधिको संज्ञा दिएर जम्कट्टेलले परामर्श बैठकमा धारणा सुरु गरे ।
‘माओवादी पार्टी यतिधेरै बलियो छ कि हाम्रा विरुद्ध नेपाली कांग्रेस र नेकपा एमाले नै मिलेका छन्’, उनले प्रश्न गरे, ‘सरकारमा बसेर त्यति राम्रा कामहरू गरेर आएकोमा पुरस्कृत गर्नुपर्नेमा पार्टी नेतृत्वलाई असहयोग गर्ने, खुइल्याउने को हो ?’
त्यसपछि सिन्धुलीका राजन दाहालले पनि शर्माको आलोचना गरे ।
युगल जोडीको प्रेम प्रसंग
स्थायी समिति बैठकबाटै नेतृत्वको विवाद खारेज गरेको घोषणा गरेपछि पनि परामर्श बैठकको नाममा नेताहरूलाई परेड खेलाएर पार्टी नेतृत्वले विभाजनको बीउ रोपेको बैठकमा सहभागी अर्का नेता बताउँछन् । ‘सबै प्रदेशका बैठकमा यही शैली पछ्याइए यही अभ्यास पार्टी विभाजनको बीउ बन्न सक्छ’, ती नेताले भने ।
बैठकमा मकवानपुरका नेता प्रल्हाद बुढाथोकीले पार्टीभित्रको विवादलाई युगल जोडीको प्रेम प्रसंगसँग तुलना गरे । ‘प्रेममा नपरेका दुई केटाकेटीलाई अनुमानको आधारमा प्रेममा छन् भनेर हल्ला चलाइन्छ र पछि त्यही हल्लाको जगमा उनीहरू प्रेममा पर्छन्’, उनले भने, ‘अहिले सबै शक्ति लगाएर पार्टीभित्रको फरक मतलाई विभाजनको अभ्यासको रूपमा हल्ला चलाइयो भने यही कुरा विभाजनको बीउ बन्न सक्छ ।’
सुरुमै जनार्दनको विपक्षमा आक्रामक अभिव्यक्ति आए पनि केही नेताहरूले संयमित अभिव्यक्ति दिएका बैठकमा सहभागी एक नेताले बताए । दिननाथ गौतम, गंगाबहादुर तामाङ, राजु आलेमगर, डीपी ढकाल, युवराज चौलागाईं लगायतका नेताहरूले विकल्पको कुरा गर्न वर्जित गर्नु नहुने आशयसहित बोले ।
‘नेतृत्वको विकल्प बारे बहस गर्ने यो सही बेला होइन तर विचारको बहस सही छ, यसबाट उत्तेजित र आतंकित हुन जरुरी छैन’, ती नेताहरूले भने, ‘प्रचण्ड सकिएसँगै माओवादी सकिन्छ भन्ने हल्ला चिर्न पनि हामीले वैकल्पिक नेतृत्वको पंक्ति बनाएर प्रचण्डपछि पनि माओवादी रहन्छ भन्ने सन्देश दिनुपर्छ ।’
यथास्थितिमा पनि नचल्ने, बदल्ने कुरा गर्न पनि नपाइने !
माओवादी केन्द्रको बैठकको दृश्य हेर्दा अहिले पार्टी अनौठो विरोधाभाषमा फसेको देखिन्छ- एकातिर प्रचण्डको विकल्प उनी स्वयंले मात्र सोच्न सक्ने अवस्था, अर्कोतिर जस्ताको तस्तै उनकै नेतृत्वमा अगाडि बढ्न पनि नसकिने अवस्था ।
‘प्रचण्डको विकल्प अहिले प्रचण्डले मात्रै सोच्न सक्छन् किनकि उनी साढे तीन दशक भन्दा बढी समय नेतृत्वमा रहेर पार्टीभित्र यति शक्तिशाली छन् कि आफ्नो विकल्प अरुले सोचे मात्रै पनि नेतृत्व चयनको प्रक्रिया नै अवरुद्ध गरिदिन्छन्’ बुधबार बैठकमा सहभागी एक नेता भन्छन्, ‘पार्टीको दुःख के छ भने यथास्थितिमा अर्थात् नेतृत्व र संगठन नसुधारी ओरालो यात्रा पनि रोकिने अवस्था छैन ।’
तर, प्रश्न गर्न सिकाएर जन्मिएको पार्टीभित्रै प्रश्नहरू वर्जित गरिएको अवस्था माओवादीमा देखिन्छ । ‘जनार्दनजीले फरक दस्तावेज प्रस्तुत नगर्नुभएको भए अलि खुलेर पार्टीका समस्या र समाधान बारे बहस हुनसक्थ्यो होला’ एक नेता भन्छन्, ‘तर अहिले त अलिकति आलोचनात्मक चेतसहित प्रश्न गर्यो भने जनार्दनको क्याम्पमा उभियो भन्ने सन्देश जाने, झन् प्रश्नहरू मर्ने अवस्था पो देखियो ।’
जसरी प्रस्तुत भए पनि अधिकांश नेताहरूले पार्टी समस्या रहेको र तिनको हल ठिकसँग हुन नसकेको स्वीकार्दै समाधानका लागि एकताबद्ध हुन नेतृत्वलाई आह्वान गरेका छन् ।
जनार्दन र वर्षमान बिहीबार बोल्ने
परामर्श बैठकमा ४० जना जति नेताले बुधबार आफ्नो धारणा राखे भने बोल्नका लागि नाम टिपाएका एक दर्जन जति नेताहरूले विहीबार आफ्नो सुझाव राख्नेछन् ।
बैठकमा प्रश्न केन्द्रित भएका नेताहरूले विहीबार जवाफ दिने भनिएको छ । विहीबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै उपमहासचिव जनार्दन शर्मा लगायतले बोल्नेछन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4