 
																			७ भदौ, काठमाडौं । जंगली जनावरले कृषि बालीमा पारेको असरबारे स्थलगत अध्ययन थालेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिवेदन बुझाएको छ । स्थलगत अध्ययनका क्रममा समितिले कतिपय बाह्य मुलुकका अभ्यास समेत नियालेका थिए ।
जंगली जनावरले कृषि बालीमा क्षति पुर्याउँदा कृषक मारमा परेको भन्दै सडकदेखि सदनसम्म बहस चल्न थालेपछि समितिले अध्यनन थालेको थियो । समितिले खाद्य सुरक्षा ऐन कार्यान्वयन मापनबारे गरेको स्थलगत अध्ययनले पहाडमा जंगली जनावर र तराईमा छाडा पशु चौपायाले कृषि बालीमा असर पारेको देखाएको छ ।
जंगली जनावर र छाडा पशु चौपायाले कृषि बालीमा असर पार्दा यसले समेत खाद्य संकट निम्त्याउन मद्दत गरेको औंल्याइएको छ । विधायन व्यवस्थापन विधायन समितिले तराई क्षेत्र अन्तर्गत कपिलवस्तु, पहाडी क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लालाई नमूनाको रुपमा छनोट गरेको थियो ।
तीन वटा जिल्लाका ६ वटा स्थानीय तहमा नमुनाको रुपमा २०८० साल भदौदेखि २०८० साल फागुनसम्म अध्ययन गरिएको थियो । उक्त अध्ययनको प्रतिवेदन हालै प्रकाशित भएको हो । जसमा कृषकको बाली जोगाउन नसक्दा उत्पादनमा कमी आएको उल्लेख छ ।
‘उत्पादन भइरहेको बालीमा छाडा चौपायाले क्षति पुर्याइरहँदा सास्ती व्यहोर्नु परिरहेको र उत्पादनमा ह्रास भएको’, तराई केन्द्रित संसदीय समितिको स्थलगत अध्ययनको निष्कर्ष छ ।
पहाडी क्षेत्रमा जंगली जनावर कृषि उपज उत्पादनमा समस्याको रुपमा देखा परेको छ । ‘विभिन्न दुःख कष्ट झेलेर उब्जाएको बालीमा जंगली तथा छाडा जनावर तथा पशु चौपायाहरूबाट समेत लगातार क्षति व्यहोरिरहनु पर्दा खाद्य सुरक्षा थप जोखिममा परेको छ’, स्थलगत अध्ययनको निष्कर्ष खण्डको ‘कमजोर खाद्य सुरक्षा व्यवस्थापन’ शीर्षक अन्तर्गत लेखिएको छ ।
तराई क्षेत्र अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र यशोधरा गाउँपालिकामा अध्ययन गरिएको थियो । पहाडी क्षेत्र अन्तर्गत सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा स्थलगत अध्ययन गरिएको थियो ।
विधायक व्यवस्थापन समितिकी सभापति जयन्त्रीदेवी राई पहाडी इलामा बाँदर, बँदेल, दुम्सी, स्याल र तराईमा छाडा पशु चौपाया (गाई, गोरु) ले कृषि बालीमा क्षति पुर्याउने क्रम बढेकोले कृषि उत्पादनमै असर परेको निष्कर्षमा पुगिएको बताउँछिन् ।
‘पहाडी इलाकामा कृषकले रोकिनसक्नु जंगली जनावर कृषि बालीमा आउँछन् । जंगली जनावरकै कारण कतिपय कृषक विस्थापित हुने वा भएका छन्’, सभापति राई भन्छिन्, ‘यसले खाद्य उत्पादनमा प्रत्यक्ष असर पुर्याएको छ ।’
समिति सदस्य गंगाकुमारी बेलबासेका अनुसार पहाडमा बाँदर सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ भने मधेशमा बँदेलको समस्या छ । ‘हरिणको प्रजाति राष्ट्रिय निकुञ्जको आसपासमा देखिन्छ । खुला चउरमा यो जनावर हुने र सयौंको ग्रुपमा आउने र एकैछिनमा मकैलगायत बाली एकैछिनमा सखाप पारिदिन्छ । बँदेल जतिबेला मकैको घोगा लाग्न खोजेको हुन्छ त्यो बेला आउँछ सखाप पार्छ’, उनले भनिन् ।
यो प्रजातिले केरा लगायतका बालीमा समेत क्षति पुर्याउने गरेको उनले सुनाइन् । हात्तीले समेत तराई क्षेत्रमा उत्पादित बालीमा क्षति पुर्याउने गरेको छ । कपिलवस्तुको दक्षिण भेगमा छाडा पशु चौपाया कति छन् भन्ने त्यहाँ पुग्नेले बाटोमा देख्ने गोबरबाटै थाहा पाउने उनले बताइन् ।
बेलबासेका अनुसार छाडा पशु चौपाया रोक्न एकीकृत पालन गर्ने नीति राज्यले लिन सक्छ । ‘पोखरामा छाडा गाई गोरुलाई नियन्त्रणमा लिएर संयुक्त योजनामा पालन गरिएको रहेछ । अन्यत्र पनि यसो गर्न सके छाडा पशु चौपाया नियन्त्रण गर्न सकिन्छ’, उनले भनिन्, ‘गौमूत्रसमेत मलको रुपमा प्रयोग गर्न सकिन्छ । दुध बिक्री गरेर आम्दानी लिन सकिन्छ । यस्तो नीति अवलम्बन गर्न सकिन्छ ।’
जंगली जनावर नियन्त्रण पनि एकीकृत नीति आवश्यक रहेको निचोडमा पुगेको बेलबासे बताउँछिन् । यसमा राज्यले आर्थिक स्रोतसहितको योजना बनाउनुपर्ने उनको सुझाव छ ।
पहाडी क्षेत्रमा रहेको बस्ती छरिएकोले समेत समस्या भएको उनलाई लाग्छ । बस्ती एकीकृत गर्ने र कृषि योग्य जमिनमा बाली लगाउने गर्दा कृषि उपजको सुरक्षाका लागि एकीकृत रुपमा काम गर्न सकिने उनको बुझाइ छ ।
‘मानव बस्ती र कृषियोग्य जमिन छुट्याउने र त्यसको सुरक्षामा राज्यले एकीकृत योजना बनाउँदा प्रभावकारी हुन्छ’, बेलबासे थप्छिन्, ‘छरिएर हुने कृषि उत्पादन भएकाले पनि समस्या भएको देखिन्छ । यसलाइ सुधार गर्न सक्दा समस्या समाधानमा ठोस नीति अवलम्बन सकिन्छ ।’
जंगली जनावर नियन्त्रण गर्न पर्खाल लगाउन सकिने उनको सुझाव छ । ‘तीन मिटर जति वाल लगाएर माथिबाट जाली लगाउँदा बँदेल लगायतका जनावर केही कन्ट्रोल गर्न सकिन्छ । बाँदर नियन्त्रण गर्न नक्कली बन्दुक पड्काउनेजस्ता विधि अपनाउन सकिन्छ’ उनले भनिन् ।
उनका अनुसार बिजुलीका तार समेत लगाउन सकिन्छ । बारसँग सम्पर्कमा आउने जनावरहरूलाई बिजुलीको झट्का दिन निर्माण गरिने बारले समेत जंगली जनावरलाई कृषि बालीसम्म आउनबाट रोक्न सकिन्छ ।
कृषि बालीलाई जंगली जनावरहरूबाट जोगाउन क्यामेरा, कम्प्युटर र रोबोटको प्रयोग गरेर समेत नियन्त्रण लिन सकिन्छ । उन्नत टेक्नोलोजी उपलब्ध गराउन आर्थिक स्रोतको जोहो राज्यले गरिदिनुपर्ने र यसका लागि तीन वटै तहको सरकारका बीचमा समन्वय हुन आवश्यक रहेको संसदीय समितिको निचोड रहेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4