काठमाडौं । कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’
उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार पनि थियो ।
प्रतिउत्तरमा पेन्सिलभानिया राज्यको राजधानी ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा भरिएका दर्शकले लामो ताली बजाए ।
ह्यारिसबर्गमा आयोजना भएका नेपाली कार्यक्रममा आजसम्मै आफूले यति ठूलो जमघट कहिल्यै नदेखेको बताउने स्थानीय आयोजक नीरज आले मगर नेपथ्यको यो कन्सर्ट हरेक दृष्टिले यस क्षेत्रका नेपालीका लागि ऐतिहासिक बन्न पुगेको दाबी गर्छन् ।

‘केटाकेटीदेखि लिएर हजुरबा उमेरसम्मका मानिस आफ्नै धुनमा रमाएका देखिन्थे’ नीरजले थपे, ‘यति धेरै संख्यामा दर्शक आकर्षित गर्न सफल नेपथ्यको कन्सर्टभरि सिंगो हल उचालिएको दृश्य अद्भूत र अविस्मरणीय रह्यो ।’
पहिलो पटक यो सहरमा उपस्थित भएको नेपथ्यले झण्डै सय वर्षको इतिहास बोकेको ‘दी फोरम हल’मा आफूलाई उभ्याएको थियो । यो हल नियमित रूपमा प्रस्तुत भइरहने ‘ह्यारिसबर्ग सिम्फोनी अर्केस्ट्रा’को आयोजनास्थलका रूपमा पनि चिनिन्छ ।
ह्यारिसबर्गको कन्सर्टमा ‘आँगनैभरि’देखि भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’सम्म सबै गीतमा दर्शकले नाचेर, गाएर साथ दिएका थिए । ‘नेपाली जहाँ गए पनि भाषाले हामीलाई आपसमा बाँधेको छ’ अमृतले अनुरोध गरे, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौं है ।’

पुनर्बास गराइएका भुटानी शरणार्थी उल्लेख्य संख्यामा रहेको यो राज्यमा नेपालीभाषी समुदायको एकताबद्ध जीवन्त उपस्थिति देख्न पाउँदा खुसी लागेको अमृतले बताए ।
शनिबारको कन्सर्टमा यस सहरभन्दा परैदेखि आएका दर्शक पनि उत्तिकै भेटिन्थे । तिनैमध्ये एक थिइन् आफ्ना पतिका साथ भर्जिनियादेखि आएकी समा अर्याल ।
‘डीसी वरपर हुने प्रायः नेपाली कार्यक्रममा हामी जाने गर्छौं । नेपथ्यको यसपालिको भव्य कन्सर्टले आजसम्मै हेरेका अन्य नेपाली कार्यक्रमलाई बिर्साइदिएको छ । त्यसैले मेरिल्यान्डको कार्यक्रमले धीत नमरेर यहाँसम्म तानियौं ।’
‘नेपथ्यको अनुभवलाई विश्वस्तरकै ब्यान्डसँग तुलना गर्न सकिने रहेछ’ कन्सर्ट सकिएपछि समाको प्रतिक्रिया थियो, ‘ब्यान्डदेखि लिएर प्राविधिक र व्यवस्थापनसम्म सबै अन्तर्राष्ट्रियस्तरको लाग्यो ।’

नेपथ्यले ‘रातो र चन्द्रसुर्जे’ गीत मार्फत गौरवगाथा गाइरहँदा आफूजस्ता दर्शकले पनि नेपाली हुनुको गर्व महसुस गर्ने गरेको उनले बताइन् । राष्ट्रिय गौरवदेखि सामाजिक चेतका सन्देशसहित नेपथ्यका सार्वकालिक हिट लोकरक गीत कन्सर्टमा गुञ्जिएका थिए ।
कार्यक्रमभरि पटक–पटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहोर्याए । पैदलै गाउँबस्ती पुगेर गीत संकलन गर्दाको अनुभव पनि उनले सुनाए । पदयात्राको क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्वीरले पनि उनका भनाइलाई सघाइरहेको देखिन्थ्यो ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
यस वर्ष कोलोराडोको डेनभरबाट सुरु भएको अमेरिका यात्रा त्यसपछि क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत भएपछि अब ब्यान्ड स्वदेश फर्कने तयारीमा जुटेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4