 
																			२ असोज, काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङ बेंसीसहर नगरपालिकाको उदिपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण पूरा भएको छ ।
‘ग्यास इन्सुलेटेड सबस्टेसन’ (जीआईएस) प्रविधिमा आधारित उदिपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् ।
सबस्टेसन निर्माण पूरा गरी पावर ट्रान्सफर्मर लगायत उपकरण सफलतापूर्वक परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । १३२ केभी सबस्टेसन भने सञ्चालनमा ल्याइएको छ ।
प्राधिकरण र हिमालयन पावर पार्टनरबीच विद्युत् खरिद–बिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिएको छ ।
लमजुङ दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन अब यही सबस्टेसनमा जोडिने छ ।
उदिपुर सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत् र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको विद्युत् उदिपुर सबस्टेसनलाई बाइपास गरी मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिएको थियो ।
सबस्टेसन निर्माण पूरा भएकाले अब दोर्दी करिडोर प्रसारण लाइन यही सबस्टेसनबाट मध्यमर्स्याङ्दीको स्वीचयार्डतर्फ विद्युत् प्रवाह गरिने छ । त्यसपछि मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाह हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदिपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रूपमा समेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए ।
‘आयोजना अन्तर्गत उदिपुरबाट तनहुँ मार्कीचोक हुँदै चितवन भरतपुरसम्मको २२० केभी प्रसारण लाइन आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ घिसिङले भने, ‘उक्त लाइन बनेपछि त्यस क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि झन् सहज हुने भएकाले यो लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।’
मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १ हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ ।
आयोजना अन्तर्गत चितवन भरतपुरदेखि मनाङ धारापानीसम्मको १ सय १३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेज अन्तर्गत उदिपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ ।
यस प्याकेजको उदिपुर–मार्कीचोक खण्डको १ सय १० टावरमध्ये ९० वटाको जग हालिएको छ । मार्कीचोक–भरतपुर खण्डका ८३ टावरमध्ये निजी जग्गामा पर्ने ३५ टावरको जग हालिएको छ । बाँकी टावर वन क्षेत्रमा पर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाउन सबै प्रक्रिया पूरा गरी रुख कटान सुरु गर्न लागिएको आयोजना प्रमुख नारायण रेग्मीले बताए ।
आयोजना अन्तर्गत उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्म प्रसारण लाइन निर्माण गर्न ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नुपर्ने छ । दोस्रो प्याकेज अन्तर्गत नयाँ भरतपुर र उदिपुर सबस्टेसन निर्माण सकिएको छ ।
तेस्रो प्याकेज अन्तर्गत मनाङ (धारापानी)–खुदी–उदिपुर ४६ किलोमिटर प्रसारण लाइन र दुइटा सबस्टेसन निर्माणाधीन छन् । २२०/१३२/३३ केभी खुदी सबस्टेसन निर्माण करिब ९० प्रतिशत सकिएको छ । २२०/१३२/३३ मनाङ सबस्टेसन पनि निर्माणाधीन छ ।
खुदी–उदिपुर प्रसारण लाइन खण्डमा पर्ने ४६ मध्ये २२ टावरको जग हालिएको छ । ६ टावर खडा गरिएको छ । नेपाल सरकारको लगानी र युरोपियन इन्भेस्टमेन्ट बैक (ईआईबी) को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4