 
																			६ असोज, काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न सहकारीहरुबाट गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको ऋणमा आफ्नो संलग्नता अस्विकार गर्दै आएको छन् । तर सहकारी छानविन संसदीय विशेष समितिमा बयान दिएका कतिपय व्यक्तिहरुले भने सहकारीबाट ऋण लिएका ‘रवि लामिछाने’ उनै रवि रहेको बताएका छन् । उनीहरुले त्यसको पुष्टिका लागि अरु कतिपय विवरणहरु पनि पेश गरेका छन् ।
‘जीबीसँग कुरा भइसकेको छ’
सहकारी ठगीको मुद्दामा परेकाले हाल थुनामा रहेका कुमार रम्तेलले ऋणको रकम गोर्खा मिडियाको खातामा गएकाले उक्त व्यक्ति पूर्वगृहमन्त्री रवि लामिछाने नै रहेको जिकिर गरेका छन् ।
‘ऋणी रवि लामिछाने पूर्व उपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । छविलाल बन्जाडे जोशी (प्रहरीको)पुर्व नायव महानिरीक्षक हुनुहुन्छ भन्नेमा म यकीन छु’ उनले जवाफ नं. ३३ मा भनेका छन्, ‘सो ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ ।’
विभिन्न व्यापार व्यवसायमा जीवी राईका हिस्सेदार रहेका कुमार रम्तेल पोखराको सूर्यदर्शन, वीरगञ्जको सानो पाइला लगायतका सहकारीमा आवद्ध रहे । उनी पछि गोर्खा मिडिया नेटवर्कको पनि सञ्चालक थिए ।
समितिमा बयान दिने सिलसिलामा उनले रवि लामिछानेको नामको ऋण तिर्न आफ्नो नामबाट अर्को कृत्रिम ऋण लिइएको जिकिर गरेका छन् । रवि लामिछानेले ग्यालेक्सी छाडेपछि उनको नाममा सहकारीहरुमा भएको ऋण अरु सहकारी सञ्चालकहरुको नाममा सारेर मिलाइएको थियो ।

‘मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ’ उनले बयानमा भनेका छन्, ‘उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु ।’
उनले त्यसबारेमा अर्को प्रसंग पनि उल्लेख गरेका छन् । समयमा बुटबल नारायणगढ सडक निर्माण हुन नसकेपछि रास्वपाले सांकेतिक विरोधस्वरुप त्यहाँ पदयात्रा कार्यक्रम राखेको थियो । त्यतिबेला रविको साथमा रहेका दिपक बोहरा (रास्वपाका सहकोषाध्यक्ष एवं गृहमन्त्री हुँदाका स्वकिय सचिव)को मोवाइलबाट रवि लामिछानेसँग सम्पर्क गरी सहकारीको ऋणवारे कुराकानी गरेका थिए ।
त्यसवारेमा कुमार रम्तेलले ऋण लिनेमा ‘तपाईको कागजात र हस्तान्तर नभएपछि आजको स्थिती आउनुमा तपाईको भूमिका छ’ भनेर आक्रोश पोखेको भनी बताएका थिए । जवाफमा रविले ‘यस विषयमा जीवी राईसँग कुरा भइसकेको छ’ भनी बताएको बयानमा उल्लेख गरेका छन् ।
भविश्वर अर्याल जीवी राई सम्वद्ध रहेका सहकारीहरुको सफ्टवेयर डेभलपर हुन् । पछि उनी पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समेत बने र अहिले सूर्यदर्शन सहकारीमा भएको ठगी आरोपमा कास्की कारागारमा थुनामा छन् ।
भविश्वरले संसदिय विशेष समितिमा बताए अनुसार, पोखराको सूर्यदर्शन सहकारीबाट ५०/५० लाख गरी एक करोड रुपैंयाको पेस्की गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको थियो । पछि त्यो रकमलाई रवि लामिछानेको नाममा ऋण बनाएर गोर्खा मिडियामा गएको पेस्की फर्स्योट गरियो ।
ऋण र नतिरेको ब्याज पूँजीकृत हुँदै गयो । पछि फेरि रविले ग्यालेक्सी टीभी छाडेपछि दुवैलाई गोर्खा मिडिया नेटवर्कको नाममा कर्जा बनाएर देखाए देखाइयो र रवि लामिछानेको नामको ऋण चुक्ता भयो । उनले बयानमा भनेका छन्, ‘उक्त काम किन गरिएको हो मलाई जानकारी भएन। तर त्यो काम कानुन सम्मत छैन ।’
अर्याल एक पटक ललितपुर, कुमारीपाटीस्थित जी.बी.ग्रुप अफ कम्पनीजमा पुगेका थिए । उनले बयानमा बताए अनुसार, त्यहाँ जीवी राई, रवि लामिछाने र दिपेश पुन पनि सँगै थिए । त्यो प्रसंग उल्लेख गर्दै उनले बयानमा भनेका छन्, ‘रवि लामिछानेले राजीनामा दिएपछि सोहि रकम गोरखा मिडिया नेटवर्कको नाममा सारिनुले उक्त रवि लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभाका सदस्य हुन की भन्न सकिन्छ ।’
बुटबलको सुप्रिम सहकारीकै अध्यक्ष ओम गुरुङले पनि सहकारीको रकम नक्कली ऋण बनाएर लिने ‘रवि लामिछाने’ पूर्वगृहमन्त्री नै रहेको जिकिर गरेका छन् । तर समितिले त्यसको भरपर्दो आधार माग्दा दिन सकेका छैनन् । उनले जीवी राई, रवि लामिछाने र सहकारीका प्रवन्धक सागर केसीको मिलेमतोमा ऋण प्रवाह भएको आरोप लगाएका छन् ।
गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले पनि रविकै शैलीमा बयान दिएका छन् । उनले आफूले शेयर किन्दा पनि रकम नतिरेको र बेच्दा पनि रकम नपाएको जिकिर गरेका छन् । तर बयानमा रवि लामिछाने भनेको पूर्वगृहमन्त्री नै हो भनी किटान गरेका छन् ।

जोशीले बयानमा ग्यालेक्सी टेलिभिजनका लागि ऋण लिन नेपाल बैंकमा जाँदा जीवी राईले ‘मैले अन्यत्रबाट व्यवस्थापन गरिसकेको छु’ भन्दै फर्काएको भनी उनले बयानमा खुलाएका छन् ।
सहकारी विशेष समितिमै बयान गर्दै पूर्वगृहमन्त्री लामिछानेले सहकारीहरुबाट ऋण लिने काममा आफ्नो संलग्नता नभएको जिकिर दोहोर्याएका छन् । ‘सहकारीबाट ऋण लिने मान्छे म भएको भए ऋण लिएको र ऋण लिनलाई निवेदन दिएको प्रमाण होला’ उनले बयानमा भनेका छन्, ‘(मैले) सहकारीबाट ऋण लिएको पनि छैन र सहकारी सदस्य पनि होइन । मैले ऋण लिनलाई निवेदन पेस गरेको पनि छैन ।’
 
                









 
                     
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4