 
																			११ असोज, काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले प्रहरी प्रशासन अलर्टमा रहेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका डुबान भइरहने स्थानमा सतर्कता अपनाइएको बास्तालाले बताए ।
‘पानी निरन्तर परिरहेको छ । त्यसले गर्दा कन्काइमा बाढीको बहाव उच्च भएको छ,’ प्रमुख जिल्ला अधिकारी बास्तोलाले अनलाइनखबरसँग भने, ‘अझै केही समय यस्तै पानी परिरह्यो भने क्षति पुग्न सक्छ ।’ त्यसैले सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतलाई सतर्क रहन भनिएको उनले बताए ।
उनका अनुसार स्थानीयलाई उद्धार गर्नुपर्ने भएमा गाउँ–गाउँमा अस्थायी आश्रयस्थल समेत पहिचान गरी तयारी अवस्थामा राखिएको छ । ‘उद्धार गर्नुपर्ने अवस्था आएमा कतै विद्यालय, कतै धर्मशालाहरुमा राख्ने गरी तयारी गरिएको छ,’ प्रजिअ बास्तोलाले भने ।
नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो समाचार तयार पार्दासम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ ।
सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थलमा भएको छ । यो समाचार तयार पार्दासम्म चन्द्रगढी विमानस्थलमा झण्डै २९७.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
यसैगरी गौरादहमा २३९, अनारमनीमा २३४, केचनामा २३०, बाहुनडाँगीमा १९२ मिलिमिटर वर्षा भएको छ ।
झापाको छिमेकी जिल्ला इलामको कन्काई माइचुलीमा २६८ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी मोरङको बाहुनीमा १९७, विराटनगर विमानस्थलमा १९४ र सप्तरीको बरमझियामा १८८ मिलिमिटर वर्षा मापन भएको छ ।
वर्षा क्रमशः पश्चिमतिर पनि बढ्दै गएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4