 
																						१४ असोज, काठमाडौं । चाडपर्व आउँदा पनि निजी क्षेत्रमा भने त्यसको उत्साह देखिन सकेको छैन । दशैं सुरु हुन एक सातामात्र बाँकी हुँदा बजारमा उत्साह छैन ।
दशैंकै मुखमा परेको अविरल वर्षाले निम्त्याएको प्राकृतिक विपत्तिमा परेर ठूलो जनधनको क्षति भएको छ ।
दुई वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलता र चाडपर्व सुरु हुनु अगाडि आएको प्राकृतिक विपत्तिले यस वर्ष पनि चाडपर्वले अर्थतन्त्र चलायमान बनाउनेमा निजी क्षेत्र पनि विश्वस्त देखिँदैन ।
दशैंतिहारबाट व्यापार चलायमान हुने अपेक्षा भए पनि व्यापार बढ्ने समयमा नै बाढी पहिरोको विपत्ति आउँदा समस्या भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष कुमार कार्कीले बताए ।
‘चाडपर्वको व्यापार उच्च हुने समयमै बाढी र पहिरोका कारण समस्या भयो । चाडपर्वका लागि आउनुपर्ने तयारी कपडा चीनतर्फ नै रोकिन पुग्यो,’ कार्की भन्छन्, ‘तातोपानी नाका जोड्न सडकमा नै ठूलो क्षति पुगेको छ । चीनतर्फ पनि क्षति हुँदा नाका बन्द भएको छ । नेपाल आउन लागेका ५ सयभन्दा बढी कन्टेनर चीनको खासा क्षेत्रमा नै रोकिएका छन् ।’
तातोपानी नाकाको खासातर्फ रोकिएका कन्टेनरमा तयारी कपडा साथै लसुन र स्याउ लगायत वस्तु रहेको कार्कीले बताए । ड्राफ्ट, टीटी, डीएपी/डीडीए लगायत परिवत्र्य विदेशी मुद्रामा भुक्तानी हुने उपकरण मार्फत हुने आयातमा केही सुधार देखिए पनि प्रतीतपत्र (एलसी) मार्फत हुने आयात चाडपर्वमा पनि अपेक्षाकृत सुधारको अवस्था नदेखिएको बैंकरहरू बताउँछन् । उपभोग्य वस्तु आयातमा केही सुधार देखिए पनि औद्योगिक क्षेत्रमा त्यस्तो अवस्था नरहेको उनीहरूले बताए ।
नेपाल बैंकर्स संघ अध्यक्ष सुनिल केसीले चाडपर्व र त्यसपछि रियल इस्टेमा हुँदै गएको सुधारले अर्थतन्त्र चलायमान हुने र कर्जाको माग पनि सुधार हुने अपेक्षा गरिए पनि त्यस्तो अवस्था नदेखिएको बताए ।
‘चालु आर्थिक वर्षको साढे दुई महिनामा करिब ७० अर्ब कर्जा विस्तार भएको छ । असोजमा अब केही कार्यदिन मात्रै बाँकी छ,’ केसीले भने, ‘चालु आर्थिक वर्ष प्रथम त्रैमासमा गत वर्षको जति पनि कर्जा विस्तार हुने अवस्था देखिएन । २०८० असोजमा मात्रै ९७ अर्ब कर्जा विस्तार भएकोमा चालु आवको आधा महिनामा करिब २० अर्ब मात्रै कर्जा विस्तार भएको छ ।’
गत आव प्रथम त्रैमासमा १ खर्ब २० अर्बभन्दा धेरैले कर्जा विस्तार भएको थियो । चालु आव उक्त अनुपातमा समेत कर्जा विस्तार नहुने देखिएको हो ।
आयातमा पनि औद्योगिक वस्तुका लागि एलसी खुलेको नदेखिएको बैंकर बताउँछन् । केही उपभोग्य वस्तु आयातका लागि एलसी बढे पनि बजारमा माग नै नभएको व्यापारीको तर्क छ ।
‘आयात हुनुपर्ने सामान पनि नाकामा रोकियो, केही नाका सुचारु भए पनि आउन केही दिन लाग्न सक्छ,’ राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष कार्की भन्छन्, ‘चाडपर्वमा तयारी कपडाको व्यापार बढ्ने भए पनि कपडा लगाउन युवा नै देशमा छैनन् । पछिल्लो वर्षको तुलनामा यो वर्ष माग बढ्ने अनुमान भए पनि नाकामा सामान अलपत्र र प्राकृतिक विपत्तिले धेरै व्यापार हुने समयमै व्यापार प्रभावित भयो ।’
एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि चाडपर्वमा आयातका लागि असार–साउनमा नै एलसी खुल्ने अनुमान गरिए पनि अपेक्षाकृत नभएको बताउँछन् ।
अहिले सामान आयात भएर त्यसलाई ऋण कायम गर्ने गर्छन् । तर, भदौ र असोजमा भएको कर्जा वृद्धिले आयात भएर ऋणको मागमा वृद्धि नदेखिएको बैंकर्स संघ अध्यक्ष केसीले बताए । मार्जिन प्रकृतिका सेयर धितो कर्जा र रियलइस्टेटमा कर्जा केही बढेको उनले बताए ।

तर, बाढीपहिरोले चाडपर्वपछि सुधार हुने अपेक्षा गरिएको रियलइस्टेट थप प्रभावित हुने उनले बताए । तर, बाढीपहिरोका क्षतिपछि पुननिमार्ण सुरु हुँदै जाँदा अर्थतन्त्र बिस्तारै चलायमान हुने उनको तर्क छ ।
‘बिस्तारै सुधारोन्मुख देखिएको अर्थतन्त्रमा ठूलो धक्का दियो । निर्माण क्षेत्र र जलविद्युत्मा ठूलो प्रभाव परेको छ,’ केसीले भने, ‘भौतिक संरचनामा ठूलो क्षति भएको छ । त्यसको पुनर्निमार्ण सुरु भए पनि अर्थतन्त्रले बिस्तारै लय लिन्छ ।’
सुरु हुन थाल्यो अन्तर्राष्ट्रिय व्यापार
अविरल वर्षा र बाढीपहिरोका कारण चार दिनदेखि ठप्पप्रायः रहेको अन्तर्राष्ट्रिय व्यापार अब सुचारु हुन थालेको छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीका अनुसार आजबाट वीरगञ्जसहित तराईका नाकाबाट काठमाडौंका लागि मालवाहक सामान छुट्न थालेका छन् ।
‘दक्षिणतर्फका नाकामा कुनै समस्या छैन,’ पुडासैनी भन्छन्, काठमाडौं भित्रिने सडक राम्रो हुनासाथ धमाधम सामान आउँछ ।’
नेपालमा खाद्यान्न र इन्धन भारतबाट आउँछ । सोहीकारण चाडबाडमा खाद्यान्न र इन्धन अभाव नहुने उनी बताउँछन् ।
उत्तरतर्फ नाकाबाट भने अन्तर्राष्ट्रिय व्यापार तत्कालका लागि ठप्प छ । यसमध्ये तातोपानी नाका अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तत्काल खुल्ने सम्भावना नरहेको देखिएको छ ।
तातोपानी नाकाको गेट अहिले चीनले समेत बन्द गरिदिएको छ । चीनतर्फ समेत बाढीपहिरो गएको र यसले उक्त नाकाबाट हुने व्यापार तत्काल सुचारु हुने सम्भावना कम देखिएको उनले बताए ।
रसुवा गढीतर्फको नाका भने नेपालतर्फको बाटो सुचारु हुनासाथ सुरु हुने उनले जानकारी दिए । रसुवागढीमा ५०/६० कन्टेनर अड्किएका छन् । ती गाडी नेपालतर्फको बाटो राम्रो हुनासाथ आउने भन्सार विभागले जनाएको छ । सडक सुचारु गर्न सडक विभागसँग समन्वय भइरहेको समेत विभागको भनाइ छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4