+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मौरिस हर्जोगको पदछाप पछ्याउँदै फर्किए छोरा माथिएस

रासस रासस
२०८१ कात्तिक १२ गते १६:२४

१२ कात्तिक, म्याग्दी । सन् १९५० जुन ३ नेपालमात्रै होइन, विश्वका ८ हजार मिटर अग्ला हिमाल आरोहणका लागि एउटा ‘प्याराडाइम सिफ्ट’को क्षण थियो । त्यही दिन फ्रान्सेली आरोही मौरिस हर्जोगले नेपालको अन्नपूर्ण प्रथम (८०९१ मिटर)को सफल आरोहण गरेका थिए ।

त्यो क्षण नै विश्व आरोहण इतिहासमा ८ हजार मिटर अग्ला हिमाल आरोहणको पहिलो सफलता थियो । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग बुवा हिँडेको बाटो पछ्याउँदै नेपाल आएका छन् ।

७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका छन् । गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका हर्जोग शनिबार आफ्ना बुबा मौरिसका पदचाप पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

बुबा हिँडेको बाटो हेर्न र हिँड्न  अन्नपूर्ण क्षेत्रमा आएका माथिएसले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गरे । माथिएसले अन्नपूर्ण र मौरिस हर्जोग पदमार्गलाई विश्वभर चिनाउन आफूले सक्दो पहल गर्ने बताए ।

माथिएसलाई उद्धृत गर्दै उनीसँगै अन्नपूर्ण आधारशिविर गएका मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले भने, ‘जेठो हिमाल भनेर चिनिने अन्नपूर्ण अहिले गुमनाम जस्तै छ । अन्नपूर्णको पर्यटकीय सम्भावनाका बारेमा विश्वभर प्रचारप्रसार गर्नुपर्दछ । मौरिस हर्जोग पदमार्ग, आधार क्षेत्र लगायतका स्थानहरुमा पर्यटन पूर्वाधार निर्माण गरेर विश्वभरका पर्यटकलाई यस क्षेत्रमा ल्याउनुपर्दछ ।’

अभियान्ता गुरुङका अनुसार माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको सालिकमा माल्यार्पण गर्नुका साथै सामूहिक तस्बिर पनि खिचे । उनले आधार शिविर पुगेर केही बेर ध्यान पनि गरेको गुरुङले सुनाए ।

गुरुङले भने, ‘पदयात्राका क्रममा माथिएसले ७५ वर्ष पहिला आफ्ना पिता हिँडेको मार्ग देखेर चकित हुनुभयो । अहिले जस्तो उवेला पदमार्ग थिएन । भिरपहराको बाटो हुँदै मौरिस यही बाटो भएर अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको बारेमा हामीले उहाँलाई जानकारी गराएपछि माथिएस दङ्ग पर्नुभयो ।’

सन् २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा माथिएसले ८२ वर्षीय आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताए । बुबाले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषाहरुमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताए ।

हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नजिक मौरिसको सालिकसमेत राखेको छ । माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भरतकुमार पुनले बताए ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?