 
																			१६ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।
देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात समेत गरिएको प्राधिकरणले जनाएको छ ।
गत वर्ष लक्ष्मी पूजाको दिन पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षतिपुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।
लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १ हजार ८५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १ हजार ९५५ मेगावाट थियो ।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमाण्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘आठ वर्षअघि लक्ष्मीपूजाको दिनको विद्युत् माग व्यवस्थापनका लागि आयात हुने गरेकोमा केही वर्षदेखि आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को हो, बाढीपहिरोले जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति नपुर्याएको भए यो वर्ष लक्ष्मीपूजाको दिन झण्डै एक हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा हुन्थ्यौं ।’
उनले लोडसेडिङ अन्त्य भई निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि र विद्युतीकरण व्यापक रुपमा गरिएपछि हरेक वर्ष देश भित्रको विद्युत् माग बढिरहेको बताए ।
प्राधिकरणले तत्कालीन समयमा भइरहेको लोडसेडिङलाई २०७३ सालको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा अन्त्यको सुरुवात गरेको थियो । परीक्षण सफल हुँदै गएपछि २०७५ साल वैशाखबाट देशलाई पूर्ण रुपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाट मुक्त मात्र छैन देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् निर्यात समेत भइरहेको छ । विद्युत्को खूद आयातकर्ताबाट गत आर्थिक वर्षबाट नेपाल खूद निर्याकर्ता बनेको छ ।
लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापनका लागि जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०६ मेगावाट विद्युत् उत्पादन क्षमता भएता पनि प्राधिकरणले पिक समयमा ६२ मेगावाटमा मात्र चलाएको थियो । प्राधिकरणका स्वामित्वका अन्य विद्युत् गृहहरुबाट ६२ मेगावाट, चिलिमे लगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट ९० मेगावाट र निजी क्षेत्रका विद्युत् गृहहरुबाट १ हजार ३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।
| विवरण | लक्ष्मीपूजा १५ कात्तिक २०८१ | लक्ष्मीपूजा २६ कात्तिक २०८० | 
| नेपाल विद्युत् प्राधिकरण (जलाशययुक्तबाहेक) | ३९९मेगावाट | ४२६ मेगावाट | 
| विद्युत प्राधिकरणका सहायक कम्पनी | ८९ मेगावाट | ५२२ मेगावाट | 
| निजी क्षेत्र | १३०४ मेगावाट | ९९७ मेगावाट | 
| विद्युत प्राधिकरण (जलाशययुक्त) | ६२ मेगावाट | १६ मेगावाट | 
| निर्यात | २५३ मेगावाट | ५१७ मेगावाट | 
| राष्ट्रिय प्रणालीको पिक डिमाण्ड (निर्यातबाहेक) | १६०२ मेगावाट | १४३८ मेगावाट | 
| प्रणालीको पिक डिमाण्ड (निर्यातसहित) | १८५५ मेगावाट | १९५५ मेगावाट | 
| काठमाडौं उपत्यकाको विद्युत् माग | ३९० मेगावाट | ३६६ मेगावाट | 
| स्रोत : नेपाल विद्युत् प्राधिकरण । | ||
विगत वर्षझैं यस वर्ष लक्ष्मी पूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न सफल भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐर, कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा पुगेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4