+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अधिकारीसँगै जापान गएकाहरुको बयान – हामी पीडित हौं

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते २०:०७
मन्त्री अधिकारीसँग जापान गएकाहरु ।

२५ कात्तिक, काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापानबाट डिपोर्ट भएका तीन युवाले आफूहरु पीडित भएको जिकिर गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रहरी अधिकृतहरुले लिएको बयानमा ती युवाले आफूहरु जापान जान पाउने भएपछि पैसा तिरेर जान खोजेको बताएका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, उनीहरुले आफूहरुलाई सुरुमा कोशी प्रदेशका मन्त्रीसँगै जाने भन्ने थाहा नभएको जिकिर गरेका छन् ।

‘सबैको बयान सकिएको छैन, केहीको बाँकी नै छ’, एक अधिकृतले भने, ‘तर, उनीहरुले आफू पीडित भएको बताएका छन् ।’ तत्कालीन मन्त्री अधिकारीसँगै खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा ११ कात्तिकमा जापानका लागि उडेका थिए ।

ट्रान्जिट रहेको हङकङमा उनीहरुको भेट मन्त्री अधिकारीसँग भएको थियो । एक युवकले बयानमा बताएअनुसार, उनीहरुलाई फोटो पठाएर ती व्यक्तिसँग भेट्न भनिएको थियो ।

‘फोटो पठाएर यी मान्छेसँगै तपाईंहरु जाने हो भनेका रहेछन्’, ती अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यसपछि हङकङमा उनीहरुले मन्त्रीलाई भेटेका रहेछन् ।’

उनीहरुमध्ये देवकोटा र पूर्वमन्त्री अधिकारीको टोकियोमा एउटै होटलमा कोठा बुकिङ रहेकोसमेत खुलेको छ । यद्यपि, जापानको विमानस्थलमै अध्यागमन कार्यालयले उनीहरु सबैलाई डिपोर्ट गरिदिएको थियो । काठमाडौं फर्किएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि भन्दै तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइदिएको थियो ।

यो मामिला सतहमा आएपछि पूर्वमन्त्री अधिकारीले प्रतिक्रिया दिँदै ‘हङकङ पुगेपछि मात्र उनीहरु पनि आफूसँगै कार्यक्रममा सहभागी हुन लागेको’ थाहा पाएको जिकिर गरेका थिए ।

‘त्यसपछि मैले कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र प्रहरीको विशेष ब्यूरोका डीआईजी राजन अधिकारीलाई ह्वाटस एपमा म्यासेज गरेर यसबारे जानकारी दिएको थिएँ’, उनले अनलाइनखबरसँग भनेका थिए, ‘अनुसन्धान गर्नुपर्‍यो भनेर मैले त्यसबेलै भनेको थिएँ ।’

प्रहरीले भने यो मामिलामा अनुसन्धान गर्नुपर्ने थ्रुप्रै विषयहरु देखिएको भन्दै आइतबार जिल्ला अदालत, काठमाडौंबाट अधिकारीविरुद्ध पक्राउ अनुमति लिएको थियो । त्यसका आधारमा जिल्ला प्रहरी कार्यालय, मोरङलाई काठमाडौं प्रहरीले अधिकारीलाई समातेर बुझाइदिन भन्दै पत्राचार गरेको थियो ।

यसपछि आइतबार दिउँसो पूर्वमन्त्री अधिकारी निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेपछि उनले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।

पूर्वमन्त्री अधिकारीलाई यो मामिलामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले २ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

तत्कालीन मन्त्री अधिकारीले आफूहरुसँगै जापान गएका तीन जनामाथि अनुसन्धान सुरु भएपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनलाई नेकपा एमालेको प्रदेश कमिटीले संगठित संगठित सदस्यबाट समेत निलम्बन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?