+
+

पूर्वमन्त्री अधिकारी र जापान लगिएका युवकको एउटै होटलको बुकिङ भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १९:०१

२५ कात्तिक, काठमाडौं। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी र फर्जी कागजका आधारमा उनीसँगै जापान पुगेका एक युवकले एउटै होटलमा कोठा बुकिङ गरेको फेला परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा तत्कालीन मन्त्री अधिकारी र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटाले जापानको टोकियामा एउटै होटलमा अग्रिम कोठा बुकिङ गरेको कागजात फेला परेको हो ।

पूर्वमन्त्री अधिकारीले भने आफूसँगै तीन जना गएको भन्ने हङकङमा मात्र थाहा पाएको र त्यसभन्दा पहिले चिनजान नभएको जिकिर गरेका थिए । तर, प्रहरीले त्यसरी जापान गएका एक युवक र उनको एउटै होटलमा बुकिङ भेटेपछि थप अनुसन्धान गर्नुपर्ने देखिएको जिकिर गरेको छ ।

पूर्वमन्त्री अधिकारीलाई पक्राउ गरेर आइतबार अदालतमा पेश गर्दा सरकारी वकिलहरुले यीसहितका तथ्यका आधारमा उनीमाथि अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने जिकिर गरेका थिए ।

अदालतमा पेश गरिएको संक्षिप्त प्रहरी प्रतिवेदनमा ‘अधिकारीसँगै खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा ११ कात्तिकमा जापानका लागि उडेको’ भनिएको छ ।

त्यसबेला उनीहरु आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नाममा जारी भएको नक्कली कर्मचारी परिचय पत्र बनाएर गएको समेत प्रतिवेदनमा उल्लेख छ । त्यसक्रममा पूर्वमन्त्री अधिकारीसहित उनीहरु जापानको अध्यागमन कार्यालयबाट नेपाल फिर्ता भएको प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

नेपालमा आएपछि थप अनुसन्धानका लागि अध्यागमन विभागले तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय बुझाइदिएको थियो ।

त्यसक्रममा यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे समेत पक्राउ परेका थिए ।

सुरुमा यो मामलामा प्रहरीले लिखत कीर्ते गरेको कसुरमा मात्र अनुसन्धान गरिरहेको थियो भने अहिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा उल्लेखित मानव तस्करी सम्बन्धी कसुर अनुसार अनुसन्धान सुरु भएको छ ।

पूर्वमन्त्री अधिकारीलाई यो मामलामा अनुसन्धान गर्न २ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिइसकेको छ ।

तत्कालीन मन्त्री अधिकारीले आफूहरुसँगै जापान गएका तीन जनामाथि अनुसन्धान सुरु भएपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । पछि उनलाई नेकपा एमालेको प्रदेश कमिटीले संगठित सदस्यबाट समेत निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?