 
																			१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीमा आफ्नो बयानका क्रममा प्रस्तुत गरिएको चेकबारे ‘सापोर्टिङ’ कागजात हेर्नुपर्ने जवाफ दिएको बताएका छन् ।
लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको थियो । रुपन्देहीमा यसबारे सरकारी वकिलहरूको रोहबरमा लामिछानेलाई प्रश्न सोधिएको थियो ।
गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो । चेक देख्नासाथ उनी आश्चर्यचकित भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
यद्यपि, उनले सुप्रिम सहकारीसँग कुनै कारोबारमा आफू संलग्न नभएको र आफूलाई जानकारी नभएको दाबी गर्दै आएका छन् ।
‘कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिबी राईले राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमा कुनै चेकहरू काटिएको हुनसक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला,’ कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेले प्रवक्ता मनिष झामार्फत् बताएका छन् ।
सभापति लामिछानेले चेकसहितको सवालमा केहीबेर बुझ्नुपर्छ भनेको, केहीबेर त्यहीँबाट टेलिफोन सम्पर्कमा पाँच/सात मिनेट कुराकानी गरेको र ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको जानकारी आफूलाई गराएको पनि प्रवक्ता झाले बताएका छन् ।
उनले आफ्नो चेकको दुरुपयोग भएको हुनसक्ने पनि बताएका छन्। ‘व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो कि?,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भनेका छन्।
सुप्रिम सहकारीबाट विभिन्न व्यक्तिको नाममा ६४ करोड २९ लाख रुपैयाँ ऋण प्रवाह भएको छ ।
त्यसमध्ये रवि लामिछानेको नाममा २ करोड ऋण प्रवाह भएको थियो, जसलाई लामिछानेले अस्वीकार गर्दै आएका थिए । सुप्रिमबाट गोर्खा मिडिया प्रा.लि.मा करिब साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4