 
															१० पुस, धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा जग्गा भारतीयले अतिक्रमण गरेर भोगचलन गरिरहेको पाइएको छ । बेल्डाँडी गाउँपालिका–५ को नजिकै पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्राधिकारभित्र पर्ने करीब ९ सय बिघा जग्गा भारतीयले अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएको हो ।
३ पुसमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका प्रमुख र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहसहितले उक्त क्षेत्रमा स्थलगत निरीक्षण गरेका थिए ।
सो क्रममा निकुञ्जको स्वामित्वमा रहेको अन्दाजी ९ सय बिघा जग्गा वर्षौंदेखि भारतीय पक्षले भोगचलन गर्दै आएको पाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहले बताए । उनका अनुसार साविकको २७ र २८ नम्बर पिल्लर अर्थात् हालको ७८७ र ७८८ नम्बर सीमा स्तम्भको बीचमा पर्ने निकुञ्ज क्षेत्रको जग्गा अतिक्रमण गरेर भारतीय पक्षले भोगचलन गर्दै आएका छन् ।
‘पिल्लर नम्बर २७ र २८ को बीच भागमा नेपालको जग्गा अतिक्रमण भएको छ । यो क्षेत्रमा सहायक पिल्लरहरू नभएको कारणले पनि अतिक्रमणमा परेको देखिन्छ,’ शाहले भने, ‘भारतीय पक्षले खेतीपाती गरिरहेको देखिएकाले हामीले खाली गराउन सहजीकरण गरिदिन माथिल्लो निकायलाई पत्राचार गरेका छौं ।’
सोही क्षेत्रमा निकुञ्जको जग्गा अतिक्रमण गरेर खेतीपाती गरिरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेर मुद्दा समेत चलाइएको छ । उनीहरूमाथि जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा चलाइएको राष्ट्रिय निकुञ्जले जनाएको छ । हाल दुवै जना अनुसन्धानका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नियन्त्रणमै छन् ।

अतिक्रमित क्षेत्रमा नेपाली सेना राख्न पत्राचार
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय पक्षले अतिक्रमण गरेर भोगचलन गरिरहेको निकुञ्ज क्षेत्रको जग्गा संरक्षणका लागि नेपाल सरकारलाई आग्रह गरेको छ । दुई देशबीच भएको सहमतिअनुसार समयमै सीमा स्तम्भ निर्माण नहुँदा अतिक्रमणको समस्या भोग्नुपरेको छ ।
सोही निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई अतिक्रमित क्षेत्रमा दुई देशबीच भएको सहमति अनुसार शीघ्र सीमा स्तम्भ निर्माण गरेर समस्या सामाधान गरिदिन अनुरोध गरेको छ । नेपालीको सहज पहुँच नभएका कारण पनि उक्त क्षेत्रको जग्गा अतिक्रमणमा परेकाले संरक्षणका लागि नेपाली सेनाको अस्थायी पोष्ट स्थापना गर्न पनि माग गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सीमा स्तम्भ नबनेको कारण देखाएर भारतीय पक्षले भोगचलन गरिरहेको पाइएको बताए । स्थलगत निरीक्षणका क्रममा भारतीय पक्षले सीमा स्तम्भ निर्माण भएर साँध, सिमाना स्पष्ट भएमा निकुञ्ज क्षेत्रको जग्गाभोगचलन नगर्ने प्रतिबद्धता जनाएको उनी बताउँछन् ।
‘नेपाल र मित्र राष्ट्र भारतबीच भएको सहमतिअनुसार सीमा क्षेत्रमा जोर पिल्लर भारत र बिजोर पिल्लर नेपालले निर्माण गर्ने कुरा रहेछ,’ प्रजिअ सापकोटाले भने, ‘त्यो क्षेत्रमा नेपालले ७८७ नम्बर स्तम्भको एउटा सहायक पिल्लर र भारतले ७८८ नम्बर पिल्लरको निर्माण गर्न बाँकी रहेछ । हामीले नेपाल सरकारलाई रिपोर्टिङ गर्दै पिल्लर बनाउन अनुरोध गरेका छौं ।’
प्रजिअ सापकोटाका अनुसार भारतीय किसानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित जग्गामा हिउँदको समयमा गहुँ खेती गर्ने गरेको पाइएको छ । नेपाली सुरक्षा निकायका प्रमुखसँग उनीहरूले साँध, सिमाना स्पष्ट नभएकाले खेती गर्दै आएको तर सीमा स्तम्भ बनेर स्पष्ट भएपछि भने छाडिदिने प्रतिबद्धता समेत जनाएका छन् ।
कञ्चनपुरमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरिरहेको यो घटना नौलो भने होइन । बेलौरीको प्यारातालदेखि भीमदत्त नगरपालिकाको ब्रह्मदेव र दोधाराचाँदनी क्षेत्रमा विभिन्न ठाउँमा सीमा विवाद छ ।
कतिसम्म भने हुलाकी राजमार्ग अन्तरगत बेलौरीको पचुईमा भारतीय पक्षको अवरोधका कारण झन्डै डेढ किलोमिटर सडक कालोपत्रे भएको छैन । कतिपय ठाउँमा नेपालीलाई आफ्नै भूमिमा खेतीपाती गर्न पनि भारतीय पक्षले रोक लगाएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4