
काठमाडौं । दुर्गेश थापाको नयाँ गीतको प्रिमियर समारोहमा आइतबार बेलुका दुश्मन र दुश्मनीबारे धेरै कुरा भए । नहोस् पनि किन ? गीतको बोल नै थियो– दुश्मन हेरेको हेर्यै ।
दुर्गेश र प्रियंकामाथि दुश्मनीबारे धेरै प्रश्न बर्सिए । आफ्नै स्टाइलमा उनीहरूले जवाफ दिने प्रयत्न गरे । रिलिजअघिदेखि यो गीत अभिनेता पल शाहविरुद्ध लक्षित रहेर दुर्गेशले ल्याएको अनुमान गरिएको थियो, तर उनले अनुमानलाई खण्डन गरे ।
उनले भने, ‘मैले कसैलाई होच्याउन खोजेको होइन । यो गीत पल शाहविरुद्ध लक्षित छैन । मेरो प्याटर्न यही हो । मैले यही प्याटर्नलाई न्याय दिएको हुँ । म सबैसँग काम गर्न चाहन्छु । उहाँहरु आउनुहुन्छ भने वेलकम छ । उहाँको लागि साथीको गीत लिएर आउँला कुनै दिन ।’
त्यसपछि प्रियंकालाई इन्डस्ट्रीमा तपाईंका दुश्मन कति छन् भनेर सोधियो ? यसको लामै जवाफ दिइन् उनले । नाम नतोकेरै उनले कसरी दुश्मनी सिर्जना हुन्छ भनेर ज्ञान बाँडिन् ।
‘नाम नतोकौं होला । दुश्मनी धेरै लेभल र धेरै स्टाइलको हुन्छ जस्तो लाग्छ मलाई । कोही कोही मान्छे इर्ष्यालु भएर पनि दुश्मनी हुन्छ,’ उनले भनिन्, ‘निश्चित ठाउँमा म पुग्छु भन्ने सोचेको हुन्छ जीवनमा । सायद ऊ केही कारणले त्यहाँ पुगेन र अरु मान्छे त्यहाँ पुग्यो भने त्यो मान्छे दुश्मन हुन्छ ।’
उमेर बढ्दै जाँदा ज्ञान र परिपक्वता आउने बताउँदै प्रियंकाले भनिन्, ‘कति धेरै दुश्मनी बेखुसीले पनि आउँछ । यदि कसैले मलाई व्यावसायिक र निजी जीवनमा एकदमै खुसी देख्यो भने एउटा निश्चित मान्छे त्यो तहमा पुग्न सकेन भने दुश्मन । यस्तो यस्तो कुराले पनि ट्रिगर हुनेरहेछ दुश्मनी बन्न ।’
उनले अगाडि भनिन्, ‘उसले किन पायो ? मैले किन पाइनँ ? ऊ किन त्यहाँ पुग्यो, म किन पुगिनँ ? ऊसँग किन धेरै छ ? मसँग किन धेरै छैन ? यो मेरो गल्ती भन्दा पनि यो चाहिं उहाँले आफ्नो लाइफलाई आफैं नियालेर हेर्न नसक्नुभएको जस्तो लाग्छ जो मान्छेले त्यसरी सोच्नुहुन्छ, त्यो उहाँकै कमजोरी हुन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।
यो परिस्थितिमा आफू राम्रोसँग अघि बढ्नु नै उत्तम रहेको उनको भनाइ छ ।
समारोहमा दुर्गेश र प्रियंकाले म्युजिक भिडियोको एक दृश्यलाई प्रस्तुत गरेका थिए । मुखले मुखबाट पैसा लिने उक्त दृश्य उनीहरूले प्रस्तुत गरे । पैसा मुखमा राख्दा कीटाणु फैलिने चर्चा गर्दै प्रियंकाले आफूहरूले मुख नछोइकन, पैसा मात्र लिएको भन्दै प्रष्टीकरण दिइन् ।
दुर्गेश थापाको शब्द र संगीत रहेको गीतमा आनन्द कार्की, समीक्षा अधिकारी, एलिना चौहान र दुर्गेशको स्वर छ ।
प्रतिक्रिया 4