 
																			२३ पुस, काठमाडौं । १४ पुसको आइतबार दिउँसो साढे २ बजे फ्लाई दुबईको विमान त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलमा ओर्लियो । उक्त विमानबाट आएकी एक महिला यात्रु विमानस्थलको सुरक्षा जाँच पास गर्दै बाहिरिन् ।
प्रहरीले ‘भक्तपुर क’ नाम दिएकी ती महिला विमानस्थलबाट ट्याक्सी बुक गरेर भक्तपुरतर्फ लागिन् । आफ्नो लगेजसहित ट्याक्सीमा भक्तपुरतर्फ गएकी ती महिला चढेको ट्याक्सीलाई सानोठिमी पुगेपछि साढे ३ बजेतिर सडकमा ड्युटी गरेको प्रहरीले रोके ।
त्यसपछि दुई युवा र एक युवतीको समूहले ट्याक्सीलाई घेर्यो । दुबईबाट आएकी ती महिलालाई तुरुन्तै आफ्नो शरीरमा लगाएको स्यानिटर प्याड झिकेर दिन त्यो युवाको समूहले भन्यो । तीन युवायुवतीले आफूहरू केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भएको बताए । विश्वासमा दिलाउन ती महिलालाई प्रहरी परिचय पत्र समेत देखाइयो ।
सीआईबीको प्रहरी बताउँदै धम्की दिँदै तुरुन्तै यौनांगमा लगाइएको स्यानिटर प्याड दिन धम्की दिएपछि ‘भक्तपुर क’ डराइन् । आफूले लगाएको प्याड ट्याक्सीभित्रै खोलेर ती महिलाले दिइन् । यो सबै दृश्य सडकमा ड्युटी खटिएका बर्दिसहितका प्रहरीले नियालिरहेका थिए ।
त्यसपछि ट्याक्सीबाट झारेर ती महिलालाई तीन युवा युवतीको समूहले लग्यो । ट्याक्सी आफ्नो गन्तव्यतर्फ लाग्यो । ड्युटीमा खटिएका ती प्रहरीलाई तीन युवायुवतीले समेत आफूहरू सीआईबी प्रहरी भएको र ट्याक्सीमा अवैध काम भएको बताएर रोक्न लगाएका थिए । प्रहरीलाई विश्वास दिलाउन प्रहरी परिचयपत्र समेत देखाएका थिए ।
सडकमा ड्युटी बसेर ट्याक्सी रोक्न मद्दत गरेका वास्तविक प्रहरीले यो घटनाबारे प्रहरीलाई जानकारी गराए । ती प्रहरीले ट्याक्सी नम्बर र प्रहरी परिचयपत्रमा उल्लेख भएको नाम समेत याद गरेका थिए ।
ती प्रहरीले घटनाबारे बताएपछि जिल्ला प्रहरी परिसर भक्तपुर र परिसर भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको (पीआरसीबी) को टोलीले संयुक्त रुपमा अनुसन्धान अघि बढायो । ‘घटनाको विश्लेषण गर्दा शंकास्पद देखिएपछि अनुसन्धान अघि बढाइयो । प्रहरीले ट्याक्सी नम्बर र परिचयपत्रको नाम समेत याद गरेले अनुसन्धानमा थप सहज भयो,’ अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्य भन्छन् ।
त्यसपछि प्रहरीले महिलाले यौनांगमा लगाएको स्यानिटरी प्याड लुट्ने तीन जनाको पहिचान गरेको थियो । घटनाको चार दिनपछि १९ पुसमा प्रहरीले स्यानिटरी प्याड लुटेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूबाट तीन जनालाई पक्राउ गर्यो ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ पक्राउ परे ।
उनीहरू पक्राउ परेपछि बल्ल स्यानिटरी प्याड लुट्नुको रहस्य खुल्यो । सुन गालेर लिक्वीड बनाएर उक्त प्याडमा लेपन लगाइएको खुल्यो । स्यानिटरी प्याडमा सुनको लिक्वीड दलेपछि ती महिलाले उक्त प्याड लगाएर दुबईदेखि आएको खुल्यो ।
तीन जना पक्राउ परेपछि सुन दलिएको स्यानिटरी प्याड समेत बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । पक्राउ परेकाहरूको डेराकोठा खानतलासी गर्दा
झण्डै आधा किलो (४३६.१० ग्राम) सुन बरामद भएको छ । अन्य तरिकाबाट सुन ल्याउँदा पक्राउ पर्ने भएपछि स्यानिटरी प्याडमा दलेर ल्याइएको खुलेको छ ।

लुटपाटका दुई योजनाकार फरार
लुटपाट घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परे पनि दुई जना भने अझै फरार छन् । फरार रहेका दुई जना मुख्य योजनाकारहरू रहेको प्रहरीको भनाइ छ ।
फरार रहेका दुई जनाले हाल पक्राउ परेका तीन जनालाई प्रयोग गरेर सुन लुटिएको खुलेको छ । लुट्न लगाउने दुई जनाको पहिचान भए पनि पक्राउ पर्न भने बाँकी नै रहेको प्रहरीले जनाएको छ ।
लुटपाटका मुख्य योजनाकारहरूको सुन तस्करको समूहसँग कनेक्सन भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सुन तस्करको समूहले दुबईबाट ती महिलालाई प्रयोग गरेर सुन बोकाएर पठाएको सूचना लुटपाटका योजनाकारहरूले पाएको र त्यसपछि लुट्नका लागि व्यक्ति खटाएको हुनसक्ने आशंका प्रहरीको छ ।
मुख्य योजनाकार दुई जना पक्राउ पर्न बाँकी नै रहेकाले यो सुन दुबईबाट कसले पठायो, ल्याउने महिला को हुन् ? कसलाई दिन खोजिएको थियो ? भन्ने खुल्न सकेको छैन । लुटपाटका योजनाकार तथा सुन ल्याउने भरिया महिला पक्राउ नपरिकन यो सुनको वास्तविकता खुल्न नसक्ने एक अनुसन्धान अधिकृत बताउँछन् । लुटपाटको आरोपमा पक्राउ परेकाहरूले आफूलाई महिलाले स्यानिटरी प्याडमा लुकाएर सुन ल्याएको भन्ने बोहक अन्य कुराहरू थाहा नभएको बताएका छन् ।
लुटपाटको नाइके पूर्व प्रहरी
सुन लुटपाटको आरोपमा पक्राउ परेकामध्ये सुजन नेपालीले नेपाल प्रहरीको परिचयपत्र समेत देखाएका थिए । प्रहरी जवानको परिचयपत्र देखाउँदै सीआईबीको प्रहरी भनेर ट्याक्सी रोक्न प्रहरीलाई नै लगाएका थिए ।
पक्राउ परेका नेपालीबाट प्रहरी जवानको वास्तविक परिचयपत्र समेत बरामद भएको छ । त्यसपछि बहालवाला प्रहरीकै संलग्नतामा लुटपाट भएको आशंका प्रहरीले गरेको थियो । तर पक्राउ परेका नेपालीले ३ महिनाअघि मात्रै प्रहरीबाट राजीनामा दिएको खुलेको छ ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत रहेका नेपालीले तीन महिना अघि राजीनामा दिएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए । सुन महिलाले स्यानिटरी प्याडमा लुकाएर ल्याएको हुनाले विश्वास प्रहरीको विश्वास दिलाउनका लागि उनीहरूले महिलाको समेत प्रयोग गरेर लुटपाट गरिएको खुलेको छ ।
पक्राउ परेकी अनिताले महिला प्रहरीको भूमिका निभाएकी थिइन् ।
सुन धनी खोज्दै प्रहरी
प्रहरीका अनुसार अहिलेसम्म तस्करी गरेर ल्याएको उक्त सुन दाबी गर्न कोही पनि आएका छैनन् । न त सुन लुटियो भन्दै कोही कसैले प्रहरीलाई नै खबर गरेका छन् । प्रहरीले आफ्नै सूचना संयन्त्रमार्फत अनुसन्धान गरेर लुटिएको सुन बरामद गरेको हो ।
अहिले प्रहरी प्रतिवेदनकै आधारमा पक्राउ परेकाहरूविरुद्ध म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । पहिलो पटक गत शुक्रबार ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका तीन जनाविरुद्ध भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुुसन्धान अघि बढाइएको थियो ।
आज मंगलबार उनीहरूलाई दोस्रो पटक म्याद थपका लागि लैजान लागिएको भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
‘सुन बोकेर आउने महिलाको पहिचान भए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । जसलाई सुनको भरिया बोकेर पठाइएको थियो । ती महिलाको पहिचान भए पनि पक्राउ गर्न बाँकी नै छ,’ भक्तपुरका डीएसपी नेउपानेले भने ।
यता लुटिएको सुन कोही कसैले पनि अहिलेसम्म दाबी गरेका छैनन् । जसकारण पनि यो सुन तस्करी भएर दुबईदेखि आएको पुष्टि भएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4