 
																			११ माघ, काठमाडौं । एउटा पदमा उम्मेदवारी दिएका व्यक्तिको नाम अर्कै पदमा राखेर नामावली सार्वजनिक भएपछि अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयन प्रक्रिया विवादित भएको छ ।
अखिल क्रान्तिकारीको महासचिव पदमा उम्मेदवारी दिएका रोशन खड्काको नाम उपाध्यक्षमा राखेर नामावली सार्वजनिक भएपछि विवाद भएको हो । निर्वाचन आयोगले धाँधली गर्न खोजेको विद्यार्थीहरुको आरोप छ ।
अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयन गर्नका लागि अनलाइनमार्फत् उम्मेदवारी दर्ता माघ ८ गतेदेखि सुरु गरिएको थियो । गएराति प्रकाशित नामावलीमा महासचिवमा उम्मेदवारी दिएका खड्काको नाम खुला उपाध्यक्षमा देखिएको छ ।
पदाधिकारीमा उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका एक नेताले अनलाइनखबरसँग भने, ‘कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्छ तर एउटा पदमा उम्मेदवारी दिएको व्यक्तिको नाम अर्को पदमा सार्न विधिले दिँदैन । त्यसैले यहाँ गडबडी गरिएको छ ।’
दोलखा घर भएका खड्काले भने आफ्नो उम्मेदवारी उपाध्यक्षका लागि नै भएको दाबी गरे । ‘महासचिवका लागि उम्मेदवारी दिने सोंच बनाएको थिएँ । अन्तिम समयमा उपाध्यक्ष उम्मेदवार हुनुपर्ने सुझाव आएपछि मनोनयन दर्ता गरें,’ खड्काले भने, ‘सर्भरमा समस्या भएकाले पछिल्लोपटक राखेको मेरो नाम नदेखिएर अघिल्लोपटक राखेको नाम देखियो ।’

निर्वाचन आयोगका प्रमुख मुक्ति प्रधानले भने कुनै गडबडी नभएको जिकिर गरे । उनले संक्षिप्त कुरा गर्दै भने, ‘गडबडी केही भएको छैन । अन्तिम नामावली प्रकाशित हुन बाँकी नै छ । त्यसैले केहीबेर कुर्नुस् न ।’
आज अन्तिम नामावली प्रकाशित हुने र भोलि नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्ने तालिका छ ।
अखिल क्रान्तिकारीका फ्र्याक्सन इञ्चार्ज हिमाल शर्माले भने यो निर्वाचन आयोगसँग सम्बन्धित विषय भएकाले आफूले पनि त्यसबारे बुझिरहेको बताए ।
अखिल क्रान्तिकारीको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा प्रचण्ड पक्ष निकट विजयप्रकाश शर्मा सापकोटा, जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदीन पौडेल, नारायणकाजी श्रेष्ठ निकट उपदेशकुमार यादव, देव गुरुङ निकट विश्वमणि थापा र कृष्णबहादुर महरा निकट योगन्द्रबहादुर बुढा उम्मेदवार छन् । उनीहरुले पदाधिकारीमा अघोषित प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4