१८ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको २५औं राष्ट्रिय पुरुष तथा १०औं महिला बुद्धिचाल प्रतिस्पर्धामा छनोट भएका शीर्ष २४ खेलाडीबीच ११ चरणको राउण्ड रोविन खेल जारी छ।
शुक्रबार सम्पन्न नवौं चरणको खेलसम्म पुग्दा पुरूषतर्फ पूर्व नेपाल च्याम्पियन रुपेश जैसवाल र महिला तर्फ वर्तमान नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशी अपराजित रहँदै शीर्ष स्थानमा रहेका छन्।
रौतहटका रुपेश जैसवाल र काठमाडौंकी सिन्दिरा जोशी दुबैले आ आफ्नो विधामा समान ७.५ अंक बनाइ अग्रता कायम गर्ने क्रममा समान ६ जीत ३ बराबर खेल खेलेका छन्।
अर्कोपटक २६औ राष्ट्रिय प्रतियोगितामा सिधा प्रवेश गर्ने वाटो भनेको शीर्ष ३ मा रहनु हो। शीर्ष ३ को होडमा काठमाडौंका युवा पुरुषोत्तम सिलवाल र वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी समान ६.५ अंक बनाएर संयुक्त रूपमा दोस्रो स्थानमा उभिएका छन्।
काजकिस्तानमा हुने चेस ओलम्पियाडमा समेत सहभागी हुन कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी ६ अंक सहित चौथो स्थानमा, झापाका शुश्रुत दहाल र दोलखाका आशिष् फूँयाल समान ५.५ अंक जोडेर संयुक्त पाँचौ स्थानमा रहेका छन्।
यसैगरी महिला विधातर्फ अप्रत्याशित खेल प्रदर्शन गरेकी काठमाडौंका एञ्जल महर्जनले ७ अंक बनाएर दोस्रो स्थानमा र मोरङका शान्ति धिमाल ६.५ अंकमा जोडेर तेस्रो स्थानमा रहेकी छिन्। बाँकेका इशा गिरि र झापाका पुनम प्रसाईं दुवै खेलाडी ६-६ अंक बटुल्दै प्रतियोगितामा मुकाबिला गरिरहेका छन्।
स्ट्यान्डर्ड क्लासिकल राष्ट्रिय प्रतियोगिताको पुरुष तर्फ दशौं चरण खेल पुरुषोत्तमले सरोज महर्जन, क्षितिजले प्रेमकृष्ण, राजनले शुश्रुत, धिरेनले विनय, रुपेशले आशिष् र नवीनले रिजेन्द्रबीच जारी छ।
९० मिनेट ३० सेकेण्ड इन्क्रिमेण्ट रहेको राष्ट्रिय महिला खेलतर्फ इशाले लक्ष्मी, पुनमले नयुमा, शुशिलाले निहाना, कृतिसाराले शान्ति, सिन्दाले दानिशा र एञ्जलले बिनिता सँग स्पर्धा गरिरहेका छन्।
यसै साताव्यापी सम्पन्न हुने राष्ट्रिय बुद्धिचाल खेलको अन्तिम खेल शनिबार बिहान ८ बजे सुरू हुने संयोजक धरम बहादुर लामाले जानकारी गराएका छन्।
महासंघका महासचिव लामाले लगत्तै विजेतालाई पुरस्कार वितरण एवं चेस खेल प्रवर्द्धनमा योगदान पुर्याएका दुई जना अग्रज पत्रकारबन्धुलाई सम्मान गरिने कार्यक्रम रहेको समेत अवगत गराएका छन्।
प्रतिक्रिया 4