 
																			३० माघ, काठमाडौं । कक्षा कोठाको अन्तिम बेन्चतिर केही बालबालिकाहरु स्कुले पोशाकमा देखिन्छन् । उनीहरुले बेन्चमा केही पैसा मिलाएर राखेका छन् ।
कक्षा कोठामा पुगेकी शिक्षिका साङ्गे डोल्मो तामाङले तिनैमध्येका एकजना विद्यार्थीलाई बोलाउँछिन्, ‘प्रणव के गरेको ?’
विद्यार्थीहरु केही शतर्क हुन्छन् । प्रणव खतिवडाले जवाफमा भन्छन्, ‘यो पैसा प्रिन्सका लागि हो ।’
त्यसपछि भिडियो केही पछाडि पुग्छ । फेरि साङ्गेले नै सोध्छिन्, ‘कति उठायौ ?’
त्यसपछि शिक्षिका साङ्गे भन्छिन्, ‘प्रिन्सका लागि पैसा नउठाऊ । म दिन्छु पैसा उसलाई ।’
उनीहरु फेरि जवाफ दिन्छन्, ‘हुँदैन, हुँदैन । हामी दिन्छौं । बेस्टफ्रेन्ड हो ।’
साथीहरुको मायाले प्रिन्स भाव विह्वल देखिन्छन् । साथीहरु ‘नरोऊ’ भन्दै सम्झाउँछन् । र पैसा दिन्छन् ।
नेपथ्यमा प्रणवले नै ‘म्याम ८ सय भइसक्यो’ भनेको सुनिन्छ । त्यसपछि प्रिन्सबाट उक्त पैसा लिंदै साङ्गे भन्छिन्, ‘यु आर भेरी लक्की । बी ह्याप्पी गुड ब्वाई ।’
यो चितवन भरतपुरमा रहेको स्मल हेभन स्कुलको कक्षा कोठामा खिचिएको भिडियो हो ।
कक्षा ३ मा अध्ययनरत विद्यार्थीका लागि नजिकै रहेको पदमपुरमा वनभोज कार्यक्रम आयोजना गरिएको थियो । सोही वनभोजमा जान साथीहरुले पैसा उठाएर प्रिन्सलाई दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
यो भिडियो शिक्षिका साङ्गेले नै आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । यो समाचार तयार पार्दासम्म उनको भिडियो २० लाखभन्दा बढीले हेरिसकेका छन् । स्कुल प्रशासनका अनुसार यो भिडियो माघ २२ गते खिचिएको हो ।
‘आज मेरो लागि मित्रताको उत्कृष्टता देख्नु धेरै हृदयस्पर्शी थियो । यी युवा असल हृदयहरूले मलाई सम्झाए कि एकअर्कालाई सहयोग गर्नु भनेको मानवको रूपमा हामीले गर्न सक्ने सबैभन्दा राम्रो कामहरू मध्ये एक हो’, भिडियोको क्याप्सनमा उनले लेखेकी छन्, ‘मलाई आशा छ कि यी लिटिल एन्जल्सले आफ्नो शुद्ध र निर्दोष भावनालाई निरन्तरता दिनेछन् ।’
View this post on Instagram
करिब १ मिनेटको एउटा सामान्य भिडियो किन भाइरल बन्यो त ? यसको कारण छ, सानो कक्षामा पढिरहेका बालबालिकाले देखाएको सहयोगी भावना अनि पिकनिक जान आफूसँगै पढिरहेको साथी छुट्ने भएपछि आफूले ल्याएको थोरैथोरै रकम उठाएर उनीहरुले देखाएको नैतिक शिक्षा ।
शिक्षिका साङ्गेका अनुसार उनले पढाइरहेको कक्षा ३ मा ३ वटा सेक्सन छन् । जसमा उनले बी सेक्सनको नेतृत्व लिइरहेकी छन् । उनको दाबी अनुसार यो सेक्सन सबैभन्दा मेधावी र सक्रिय बच्चाहरु भएको सेक्सन पनि हो ।
त्यही कक्षा ३, सेक्सन ‘बी’ का २७ विद्यार्थीमध्ये एक विद्यार्थी हुन्, प्रिन्सकुमार सहनी । जसलाई आफूसँगै वनभोजमा लैजान साथीहरुले पैसा उठाएका थिए । शिक्षिका साङ्गेका अनुसार तराईबाट चितवन बसेर पढिरहेका प्रिन्स पनि पढाइमा लगनशील छन् र साथीभाइका बीचमा प्रिय पनि ।
‘मेरो कक्षाका स्टुडेन्टहरु साह्रै ज्ञानी छन् । उनीहरुमा सहयोग र मिलनसार भावना एकदमै छ । स्कुल प्रशासनको नियमअनुसार एउटा टिचरलाई एउटा कक्षाको जिम्मा दिइएको छ’, उनले भनिन्, ‘यो कक्षाका विद्यार्थीहरु अहिलेमात्रै होइन अरुबेला पनि यस्तै हेल्पफुल (सहयोगी) छन् । कसैले खाजा नल्याए आफ्नो खाजा बाँड्न बाजी नै चल्छ।’
साङ्गे विद्यार्थीहरुलाई सानैदेखि संस्कारसहितको शिक्षा दिन आफूहरुले प्रयत्न गरिरहेको बताउँछिन् । उनका अनुसार कक्षाका विद्यार्थीमध्ये प्रणव खतिवडा यसमा सबैभन्दा अगाडि छन् । उनले नै प्रिन्सका लागि पैसा उठाउने योजना बनाएका थिए ।
साङ्गेका अनुसार प्रिन्सका लागि आवश्यक पैसा उनले नै मिलाइदिने प्रयास पनि गरेकी थिइन् । तर, प्रणवले नकार्दै आफ्नो साथीका लागि आफूहरुले नै गर्ने बताएका थिए । त्यो उनले राखेको भिडियोमा पनि देखिन्छ ।
साङ्गेले वनभोज जाने क्रममा खिचेको भिडियो पनि पोस्ट गरेकी छन्। त्यसमा प्रिन्स आफ्ना साथीहरुसँग रमाइलो गरिरहेको देखिन्छ । प्रिन्सले वनभोज जाँदै गर्दा साथीहरुलाई बाटोमा पर्ने आफ्नो जुस पसल पनि देखाएका छन् । शिक्षिका साङ्गे भन्छिन्, ‘तराईबाट आएर प्रिन्सको परिवार यता जुस पसल गर्नुहुँदो रहेछ । त्यो पनि अहिले विन्टर (जाडोयाम)ले गर्दा बन्द भएको रहेछ ।’

‘प्रणव अरुबेला पनि यस्तै सक्रिय छन् । सबै मिलाउने हुनाले मैले उनलाई पीएम उपनाम दिएको छु । पीएम अर्थात् प्राइम मिनिस्टर !’ साङ्गेले अनलाइनखबरसँग भनिन्, ‘विद्यार्थीहरुको व्यवहारअनुसार कसैलाई डाक्टर, वकिल उपनामले बोलाउँछु ।’
साथीभाइको सहयोगले हर्षपूर्ण तरिकाले वनभोज जान पाएपछि प्रिन्सले पनि आफ्नो पसलबाट साथीभाइका लागि उखु लिएर बाँडेका थिए ।
कन्टेन क्रियटर साङ्गेले यो भिडियो भाइरल हुने मनसायले नखिचेको बताउँछिन् । विद्यार्थीहरुसँगको समय र अन्य भिडियोहरू युट्युब च्यानलमा पनि नियमित पोस्ट गर्दै आइरहेकी छन् । त्यही क्रममा संयोगवश यो भिडियो खिचेको उनको प्रष्टोक्ति छ ।
साङ्गे भन्छिन्, ‘विद्यार्थीहरुसँगको भिडियो अरुबेला पनि खिचिरहन्थें । त्यो दिन पनि खिचें । उनीहरुको व्यवहारले कस्तो मन तान्यो । यो त राख्नुपर्छ, राम्रो कुरा हो । अरुले पनि सिक्नुपर्छ भनेर राखेको मात्र हो ।’
इन्स्टाग्राममा राखेपछि पनि सुरुका केही दिन भिडियो यसरी ह्वात्तै भाइरल भएको थिएन । उनका अनुसार सुरुमा नेपालमा भन्दा बढी विदेशमा बढी लोकप्रिय भएको थियो, त्यसमा पनि भारतीयले बढी मन पराएका थिए । ‘नेपालमा फेसबुकलगायत इन्टरनेटमा फेरि भाइरल भएको त ४/५ दिनमात्रै भयो, अगाडि नै यो बाहिरतिर भाइरल बन्यो’, उनले भनिन्, ‘यस्तो होला भन्ने सोचेको थिइनँ । सबैले मन पराइदिनुभयो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4