२ फागुन, काठमाडौं । नेपालकी एक चेलीले अमेरिकाको बेभर्ली हिल्समा ४० करोड डलर (५५ अर्ब ७३ करोड ६० लाख रुपैयाँ) बराबरको सम्पत्ति व्यवस्थापन गर्दै आएकी छिन् ।
समुद्र सतहबाट १७ हजार फिट उचाइमा रहेको एउटा यस्तो दुर्गम हिमाली गाउँ, जहाँ बिजुली बत्ती र खानेपानी थिएन, नेपालको त्यही गाउँमा जन्मी हुर्किएकी याङचेन लामाको सफलताको यो कथा ‘फोर्ब्स’ ले प्रकाशित गरेको छ ।
पछिल्लो पटक याङचेनको सफलताको चर्चा चुलिएको फोर्ब्सले लेखेको छ । याङचेन ९ वर्षको हुँदासम्म विद्यालय गएकी थिइनन् । जब उनको परिवार गाउँबाट राजधानी काठमाडौं गयो, त्यसपछि उनले मिहिनेतसाथ पढाइ थालिन् ।
तीन वर्षमै उनी विद्यार्थी आदान–प्रदान कार्यक्रम मार्फत अमेरिका पुग्न सफल भइन् । त्यसपछि याङचेनले पछाडि फर्केर हेर्नुपरेको छैन ।
सन् १९९९ मा कर्नेल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय वित्तमा स्नातक र स्नातकोत्तर अध्ययन पूरा गरिन् । त्यसपछि उनले लगानी बैंकरका रूपमा काम सुरु गरिन् ।
सन् २००७ मा याङचेन र उनका श्रीमान् लस एन्जलसमा बसोबास गर्न थाले । त्यहाँ उनले यूबीएसमा परामर्श तालिम लिइन् । अनि, २००९ मा मोर्गन स्ट्यानलेमा एकल व्यवसायीका रूपमा काम गर्न थालिन् ।
९० वर्षअघि स्थापना भएको मोर्गन स्ट्यानले अमेरिकाको बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा दिने कम्पनी हो । यसको मुख्यालय न्युयोर्कको म्यानह्याटनमा छ । ४१ देशमा कार्यालय रहेको यो कम्पनीमा ९० हजार कर्मचारी छन् । २०२३ मा यसले ५४ अर्ब १० करोड अमेरिकी डलर आम्दानी गरेको थियो ।
याङचेन हाल मोर्गन स्ट्यानलेमा सल्लाहकारका रूपमा कार्यरत छिन् । उनले हाल १ सय ६० भन्दा बढी ग्राहकको सम्पत्ति व्यवस्थापन गर्दै आएकी छिन् । उनका अधिकांश ग्राहक मनोरञ्जन उद्योगमा आबद्ध छन् ।
‘ग्राहकले के चाहना राख्छन् वा कुनै अवस्था वा समस्या जस्तोसुकै भए पनि त्यसको चिन्ता गर्दिन,’ याङचेनको भनाइ उद्धृत गर्दै फोब्र्सले लेखेको छ, ‘बस्, ग्राहकको आवश्यकता पूर्ति गर्ने बाटोतिर म लागिहाल्छु ।’
उनीसँग नयाँ ग्राहकका लागि न्यूनतम १० लाख डलर बराबर आकारको खाता छ । ‘यसको अर्थ यो पनि हो कि ग्राहकसँग उनीहरूको आर्थिक अवस्थाको चिन्ता नगरी यथास्थानमा भेट्नु हो ।’
मोर्गन स्ट्यानलेका धेरै सल्लाहकारहरू झैं याङचेन पनि ग्राहकसँग गहन खोज प्रक्रिया मार्फत अगाडि बढ्छिन् र अनुकूलित लगानीका रणनीति बनाउँछिन् ।
‘हाम्रो लक्ष्य केवल जोखिम व्यवस्थापन गर्नुमात्र होइन, उपलब्ध अवसरलाई गुम्न नदिनु पनि हो,’ याङचेन भन्छिन्, ‘एक वित्तीय सल्लाहकारका रूपमा मेरो काम सबै कुरा स्पष्ट भन्ने वा पछाडि फर्केर हेर्नेमात्र होइन, बरु दीर्घकालीन सम्पत्ति संरक्षणका लागि एक संरक्षक बन्नु पनि अर्को महत्त्वपूर्ण काम हो ।’
            
                            
                            
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4