१८ फागुन, काठमाडौं । मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखला हुँदैछ । मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीको बीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।
नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेलको शृंखला खेलेको थियो । त्यसमा जितविहीन रहेको नेपाली महिला टोलीका लागि एक महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मौका जुरेको छ ।
नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै शृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।
यस शृंखलाका लागि नेपालले खेल्ने विपक्षी टिमहरूको पछिल्लो अवस्था कस्तो छ त ? पछिल्लोपटक खेल्दा नेपालले कस्तो प्रदर्शन गरेको थियो त ?
यी सबै कुराहरूको बारेमा आज चर्चा गर्नेछौं । सर्वप्रथम नेपाली टोलीबाटै सुरुवात गरौं ।
नेपाल

नेपाली महिला क्रिकेट टोलीको पछिल्लो फर्म खराब छ । सन् २०२५ मै खेलिएका पछिल्ला ६ खेलमा नेपाल जितविहीन छ । घरेलु मैदानमै गत महिना सम्पन्न नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित टी-२०आई शृंखलामा नेपालले कुनैपनि खेल जित्न सकेन ।
शृंखला खेल्नुअघि आईसीसी वरियताको २०औं स्थानमा रहेको महिला टोली शृंखलामा खराब प्रदर्शनपछि एक स्थान तल झर्दै २१औं स्थानमा छ । शृंखला खेल्न लागेको टोलीहरूमध्ये वरियतामा हङकङ नेपालभन्दा एक स्थान तल रहँदा अन्य टोलीहरू नेपालभन्दा माथिल्लो वरियतामा छन् ।
नेपालले घरेलु मैदानमा खेल्दा टोलीमा रहेकी सिनियर खेलाडी सिता रानामगर यसपटक प्रारम्भिक चरणको क्याम्पमा परेकी छैनन् । फिटनेसका कारण उनले अप्टआउट गरेको हुन सक्ने बुझिएको छ ।
नेपाल इन्दु बर्माकै कप्तानीमा युगाण्डा जानेछ भने अन्तिम टोलीमा केही नयाँ अनुहारहरू पनि देखिन सक्छन् । यस शृंखलामा नेपाललाई थप अनुभव र एक्सपोजरको अवसर हुनेछ भने महिला टी-२० विश्वकप छनोटको तयारीका रूपमा पनि रहनेछ ।
युगाण्डा

युगाण्डा यस शृंखलाको आयोजक टोली हो । आईसीसी महिला वरियतामा युगाण्डा १८औं स्थानमा छ । युगाण्डाले करिब ९ महिनापछि महिला क्रिकेटमा खेल खेल्न लागेको हो ।
युगाण्डाले पछिल्लोपटक सन् २०२४ को जुनमा कुइबुका वुमन्स टी२० प्रतियोगितामा खेलेको थियो जसको उपाधि जितेको थियो । उक्त प्रतियोगिताको फाइनलमा जिम्बाबे ए लाई हराएर युगाण्डाले उपाधि जितेको थियो । फाइनल खेल टी-२०आई मान्यताको नभएपनि उक्त शृंखलामा युगाण्डासँगै केही टोली टी२०आई मान्यतामै खेलेका थिए ।
त्यसअघि युगाण्डाले आईसीसी महिला टी-२० विश्वकप छनोट खेलेको थियो । उक्त प्रतियोगितामा अमेरिकालाई मात्र हराउँदा श्रीलंका, स्कटल्याण्ड र थाइल्याण्डसँग पराजित भएको थियो ।
युगाण्डाकी २२ वर्षीया प्रोस्कोभिया अलाको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनको नाममा दुई टी२०आई शतक रहेको छ । २९ वर्षीया कप्तान जानेत माबाजी पनि राम्रो अलराउण्डरका रूपमा छन् ।
नेपालले हालसम्म युगाण्डासँ एक शृंखला खेलेको छ । काठमाडौंको कीर्तिपुरमै भएको पाँच खेलको उक्त शृंखला युगाण्डाले ३-२ ले जितेको थियो ।
नामिबिया

नामिबिया यस शृंखलामा खेल्ने सबैभन्दा माथिल्लो वरियताको टोली हो । नामिबिया महिला वरियतामा १७औं स्थानमा छ । नामिबियाले गत डिसेम्बरमा पछिल्लोपटक खेलेको थियो ।
हङकङमा भएको चीन, हङकङ, थाइल्याण्ड र नामिबिया सम्मिलित चारदेशीय महिला टी-२०आई शृंखलाको फाइनलमा थाइल्याण्डसँग पराजित भएको थियो । उक्त शृंखलामा नामिबियाले थाइल्याण्डबाहेक सबैलाई पराजित गरेको थियो ।
त्यस्तै त्यसअघि नामिबियाले मलेसिया भ्रमण गरी तीन खेलको टी-२०आई शृंखला खेलेको थियो जहाँ सबै खेल जित्दै शृंखला क्लिन-स्वीप गरेको थियो ।
त्यसअघि सेप्टेम्बरमा भएको नामिबिया त्रिदेशीय टी-२०आई शृंखलामा जिम्बाबेको महिला टोलीलाई तीनवटै खेलमा हराएको थियो भने यूएईसँग पराजित हुँदा उपाधिबाट भने वञ्चित भएको थियो ।
नेपालले हालसम्म नामिबियासँग खेलेको छैन । त्यसकारण नेपालका लागि नामिबिया नयाँ तथा बलियो प्रतिद्वन्द्वी हुनेछ ।
हङकङ

हङकङ यस शृंखलामा खेल्ने सबैभन्दा कम वरियताको टिम हो । नेपालभन्दा एक स्थान मात्र तल रहेको हङकङ २२औं स्थानमा छ ।
हङकङले पछिल्लोपटक गत डिसेम्बरमा आफ्नो आयोजनामा भएको चारदेशीय महिला टी-२०आई शृंखला खेलेको थियो । चीन, हङकङ, थाइल्याण्ड र नामिबिया सम्मिलित शृंखलामा हङकङले चीनबाहेक अन्यसँगको खेल जित्न सकेको थिएन ।
त्यसअघि नोभेम्बरमा चीनमा भएको चीन, हङकङ, म्यानमार र मंगोलिया सम्मिलित महिला टी-२०आई शृंखलाको उपाधि जितेको थियो । त्यसअघि अक्टोबरमा वुमन्स इस्ट एसिया कपमा अपराजित रहँदै उपाधि जितेको थियो । सो क्रममा हङकङले जापान, मंगोलिया, चीन र दक्षिण कोरियालाई हराएको थियो ।
जुनमा नेदरल्याण्ड्स गएर खेलेको हङकङले चार खेलको शृंखलामा क्लिन-स्वीप बेहोरेको थियो । नेपालसँग पछिल्लोपटक एसीसी प्रिमियर कपमा खेल्दा नेपाल ८ विकेटले विजयी भएको थियो ।
हालसम्म नेपाल र हङकङ महिला टोलीको बीचमा ८ टी-२०आई खेल भएकामा ४ खेल नेपालले जित्दा ३ खेल हङकङले जितेको छ भने १ खेल नतिजाविहीन छ ।
यस्तो छ शृंखलाको फर्म्याट
मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको बीचमा टी-२०आई शृंखला हुँदैछ । शृंखलामा सबै टोलीले एकअर्कासँग २-२ खेल खेल्ने छन् ।
चार टिमको लिगमा शीर्ष दुई टोलीबीच फाइनल हुनेछ भने तेस्रो र चौथो स्थानको टोलीका बीचमा तेस्रो स्थानका लागि खेल हुनेछ ।
नेपालले पहिलो खेल मार्च ८ मा नामिबियासँग खेल्ने छ । त्यस्तै दोस्रो खेल ९ मार्चमा युगाण्डासँग, तेस्रो खेल १० मार्चमा हङकङसँग खेल्ने छ ।
चौथो खेलमा १२ मार्चमा नामिबियासँग, पाँचौं खेल १३ मार्चमा युगाण्डासँग र छैटौं खेल १४ मार्चमा हङकङसँग खेल्ने छ ।
नेपाली टोली शृंखला खेल्न मार्च ५ मा युगाण्डातर्फ प्रस्थान गर्नेछ ।
शृंखलाका लागि पहिलो चरणको क्याम्पमा १८ जना खेलाडीहरूलाई प्रशिक्षणमा पनि बोलाइसकिएको छ । क्याम्पमा केही नयाँ खेलाडीहरू पनि छन् ।
टोलीमा यू-१९ विश्वकप खेलेका तीन नयाँ खेलाडीहरू छन् जसमा सना प्रवीन, रिया शर्मा र सीमाना केसी छन् । त्यस्तै शोभा रोकाया समावेश हुँदा शबनम राई फर्किएकी छन् भने सिता रानामगर टोलीमा छैनन् ।
१८ जना खेलाडीहरूमा कप्तान इन्दु बर्मा, रचना कुमारी चौधरी, राजमती ऐरी, अलिसा कुमारी यादव, सबनम राई, सना प्रवीन, रुबिना क्षेत्री, ममता कुमारी चौधरी, कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, रिया शर्मा, सम्झना कुमारी खड्का, पुजा महतो, विन्दु रावल, मनिषा कुमारी उपाध्याय, शोभा रोकाय, सीमाना केसी छन् ।
 
                    










 २०८१ फागुन  १८ गते १७:४७
                        २०८१ फागुन  १८ गते १७:४७                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4